[1] याहवेहले मलाई भन्नुभयो, “एउटा ठूलो पाटी लिएर त्यसमा साधारण कलमले महेर-शालल-हाज-बजको बारेमा लेख्।
[2] म पुजारी उरियाह र येबेरक्याहको छोरा जकरियालाई आफ्ना निम्ति विश्वासयोग्य साक्षी हुनलाई बोलाउनेछु।”
[3] तब म अगमवादिनीकहाँ गएँ; उनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन्। याहवेहले मलाई भन्नुभयो, “त्यसको नाम महेर-शालल-हाज-बज राख्।
[4] यस बालकले ‘मेरा बुबा’ अथवा ‘मेरी आमा’ भनेर ज्ञान पाउनुअगि दमस्कसको धन र सामरियाको लुटको माल अश्शूरको राजाले लैजानेछ।”
[5] याहवेहले मलाई फेरि भन्नुभयो:
[6] “यस जातिले शीलोको शान्तसित बग्ने पानीलाई इन्कार गर्छ; अनि रसीन र रमल्याहको छोरामा रमाउँछ।
[7] यसकारण प्रभुले यहूदाका मानिसहरूको विरुद्धमा यूफ्रेटिस नदीको शक्तिशाली पानीको भेल, अर्थात् अश्शूरका राजालाई आफ्नो पूरा रवाफसित ल्याउन लाग्नुभएको छ। त्यो यहूदाको सबै नालाहरूमा पोखिएर बग्नेछ; यसका सबै किनारहरूलाई त्यसले डुबाइदिनेछ;
[8] अनि यहूदालाई बेगसित बगाएर स्वात्तै लैजानेछ, र त्यो त्यसको घाँटीसम्म नै पुग्नेछ। त्यसका फिँजाइएका पखेटाहरूले तेरो देशको चौडाइलाई वारपार ढाकिदिनेछ; हे इम्मानुएल!”
[9] हे राष्ट्रहरू हो, युद्धको ध्वनि उठाओ, र चकनाचुर होओ! अनि हे टाढाका देशहरू हो, सुन। युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ! युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ!
[10] आफ्ना उपायहरू बनाओ, तर ती विफल पारिनेछन्; आफ्नो योजना प्रस्ताव गर, तर त्यो खडा रहनेछैन; किनकि परमेश्वर हामीसित हुनुहुन्छ।
[11] याहवेहले आफ्नो बलियो हात ममाथि राखेर मलाई यस जातिको मार्गमा नहिँड्न भनी चेतावनी दिँदै मसित बोल्नुभयो। उहाँले भन्नुभयो:
[12] “जुन कुरालाई यस जातिले षड्यन्त्र भन्छ, त्यसलाई तिमीहरूले षड्यन्त्र नभन्नू; तिनीहरू जेसित डराउँछन्, तिमीहरू त्यससित नडराउनू; र त्यससित भयभीत नहुनू।
[13] तिमीहरूले पवित्र मान्नुपर्ने सेनाहरूका याहवेह नै हुनुहुन्छ; तिमीहरू डराउनुपर्ने उहाँसितै हो; तिमीहरूचाहिँ उहाँसितै भयभीत हुनू।
[14] उहाँ पवित्रस्थान बन्नुहुनेछ; तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ यस्तो ढुङ्गो बन्नुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ; अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ, अनि तिनीहरूलाई फसाउने एउटा पासोजस्तो बन्नुहुनेछ। यरूशलेमका मानिसहरूका निम्ति उहाँ धराप र पासो हुनुहुनेछ।
[15] तिनीहरूमध्ये धेरैले ठेस खानेछन्; तिनीहरू लडेर चकनाचुर हुनेछन्, तिनीहरू पासोमा पर्नेछन्।”
[16] यस साक्षीलाई बाँधेर राख्; अनि मेरा चेलाहरूबीच व्यवस्थालाई मोहोरछाप लगाइदे।
[17] म याहवेहलाई पर्खनेछु, जसले याकोबका घरानाबाट आफ्नो अनुहार लुकाउनुभएको छ। उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।
[18] याहवेहले मलाई दिनुभएका छोराछोरीहरूका साथमा म यहीँ नै छु। सियोन पर्वतमा विराजमान हुनुहुने सेनाहरूका याहवेहतर्फबाट इस्राएलमा हामी अलौकिक चिन्ह र सङ्केतहरू हौँ।
[19] मानिसहरूले तिमीहरूलाई तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्लाह लिनुभन्दा के मानिसहरूले आफ्ना परमेश्वरसित सोध्नुपर्दैन र? जिउँदाहरूको पक्षमा किन मरेकाहरूसित सल्लाह लिने?
[20] परमेश्वरको निर्देशन र शिक्षालाई हेर्! यदि तिनीहरू यस वचनअनुसार बोल्दैनन् भने तिनीहरूसित प्रकाश छैन।
[21] तिनीहरू दुःखी र भोका भई देशभरि घुमिहिँड्नेछन्; तिनीहरू क्रोधित भएपछि तिनीहरू रिसले चुर भएर मास्तिर हेर्दै तिनीहरूका राजा र तिनीहरूका परमेश्वरलाई सराप्नेछन्।
[22] त्यसपछि तिनीहरूले पृथ्वीतिर हेर्नेछन्; अनि दुःख, अन्धकार, डरलाग्दो नैराश्य देख्नेछन् र तिनीहरू घोर अन्धकारमा फालिनेछन्।