Skip to content
Opens in a new window
Listen to this chapter • 3:56

[1] याहवेह यसो भन्‍नुहुन्छ: “मैले तेरी आमासितै पठाइदिएको त्यसको त्यागपत्र कहाँ छ? अथवा तँलाई मैले कुन ऋणदाताकहाँ बेचेँ? तेरा पापहरूको कारण तँ बेचिएको थिइस्; तेरा अर्धमहरूको कारण तेरी आमा पठाइएकी थिइन्।

[2] म आउँदा किन कोही थिएन? मैले बोलाउँदा किन जवाफ दिने कोही मानिस थिएन? के मेरो हात तँलाई छुटाउन नसक्ने गरी साह्रै छोटो थियो? के तँलाई बचाउने शक्ति मसित छैन र? मेरो एउटा हप्कीले म समुद्र सुकाउन सक्छु, म नदीलाई मरुभूमि बनाउन सक्छु; पानीको कमीले गर्दा माछाहरू कुहिन्छन् र तिर्खाले मर्छन्।

[3] म आकाशलाई अन्धकारले ढाक्छु, र भाङ्ग्रालाई त्यसको ओढ्ने बनाउँछु।”

[4] थाकेकाहरूलाई उत्साह दिने शब्द जान्‍नका निम्ति प्रभु याहवेहले मलाई सिकाउने जिब्रो दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे बिउँझाउनुहुन्छ, मेरो कानलाई सिक्नेलाई झैँ बिउँझाउनुहुन्छ।

[5] प्रभु याहवेहले मेरा कानहरू खोलिदिनुभएको छ, म बागी भएको छैनँ; म पछि हटेको छैनँ।

[6] मलाई पिट्नेहरूतिर मैले आफ्नो पिठिउँ नाङ्गो देखाइदिएँ, मेरो दाह्री लुछ्नेहरूलाई मैले आफ्नो गाला फर्काइदिएँ; गिल्‍ला र थुकाइदेखि मैले आफ्नो अनुहार लुकाइनँ।

[7] प्रभु याहवेहले मलाई सहायता दिनुभएकोले म अपमानित हुनेछैनँ। यसकारण मैले आफ्नो अनुहारलाई चकमके ढुङ्गाझैँ स्थिर पारेको छु, र म शर्ममा पर्नेछैनँ भनी जान्दछु।

[8] मलाई निर्दोष ठहराउनुहुने मेरो छेउमा हुनुहुन्छ। यसकारण कसले मेरो विरुद्धमा अभियोग लगाउन सक्छ र? हामी एक-आपसको सामना गरौँ! मलाई दोष लगाउने को हो? त्यसले मेरो सामना गरोस्!

[9] मलाई सहायता गर्नुहुने प्रभु याहवेह नै हुनुहुन्छ। कसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा भएर जानेछन्; तिनीहरूलाई किराहरूले खाइदिनेछन्।

[10] तिमीहरूमा कसले याहवेहको डर मान्छ र उहाँको सेवकका कुराहरू कसले पालन गर्छ? अन्धकारमा हिँड्ने, जससित ज्योति छैन, याहवेहको नाममा विश्‍वास राखोस्, र उसको परमेश्‍वरमाथि भरोसा राखोस्।

[11] तर अब तिमीहरू जसले आगो बाल्छौ, र आफ्नो निम्ति जलिरहेको राँको प्रबन्ध गर्छौ, जाओ र आफ्नो आगोका उज्यालोमा तिमीहरूले बालेको राँकोको उज्यालोमा हिँड। तिमीहरूले मेरो हातबाट यही पाउनेछौ; तिमीहरू यातनामा रहिरहनेछौ।

यशैया — Chapters