Skip to content
Opens in a new window
Listen to this chapter • 8:14

[1] याहवेहले भन्‍नुहुन्छ, “मलाई सोधखोज नगर्नेहरूकहाँ मैले आफूलाई प्रकट गरेको छु; मलाई खोजी नगर्नेहरूले मलाई भेट्टाएका छन्। मेरो नाम पुकार नगर्ने जातिलाई, मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु।’

[2] दिनभरि मैले यस्तो अटेरी जातितिर आफ्ना हात पसारेँ, जो आफ्नै कल्पनाको पछि लागेर कुबाटोमा हिँड्छन्;

[3] यस्तो जाति, जसले मेरो सामु मलाई निरन्तर रिस उठाउँछन्, जसले बगैँचाहरूमा बलिदान चढाउँछन्, र इँटाका वेदीहरूमा धूप बाल्छन्;

[4] जो चिहानहरूका बीचमा बस्दछन्, र गुप्‍त ठाउँमा रात बिताउँछन्; जसले सुँगुरको मासु खान्छन्, र जसका भाँडाहरूमा अशुद्ध मासुका झोल राखिएका हुन्छन्;

[5] जसले भन्छन्, ‘टाढै बस्; मेरो नजिक नआइज; किनकि म तेरो निम्ति अति पवित्र छु!’ यस्ता मानिसहरू मेरो नाकका धुवाँजस्ता हुन्, जुन धुवाँ दिनभरि आगोजस्तै जलिरहन्छ।

[6] “हेर, मेरो सामु यस्तो लेखिएको छ: म चुपचाप रहनेछैनँ, तर पूरै बदला लिनेछु; निश्‍चय नै म तिनीहरूकै काखमा साटो लिनेछु—

[7] तिमीहरूका र तिमीहरूका पितापुर्खाहरूका पापको बदला म लिनेछु,” याहवेह भन्‍नुहुन्छ। “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, र डाँडाहरूमा मेरो निन्दा गरे। म तिनीहरूका पहिलेका कामहरूको बदला तिनीहरूकै काखमा हालिदिनेछु।”

[8] याहवेह यसो भन्‍नुहुन्छ: “अङ्‌गुरको झुप्पामा अझ रसिलो अङ्‌गुर छँदै मानिसहरूले भने, ‘त्यसलाई नष्‍ट नगर; किनकि त्यसमा अझ दाखरस असल छ,’ यसरी नै म मेरा सेवकहरूको पक्षमा त्यसै गर्नेछु; म तिनीहरू सबैलाई नाश गर्नेछैनँ।

[9] म याकोबका सन्तानहरूलाई ल्याउनेछु, र यहूदाका सन्तानहरूलाई मेरो पर्वतहरूमाथि उत्तराधिकार बनाउनेछु; मेरा छानिएका मानिसहरूले ती पर्वतहरूमाथि अधिकार गर्नेछन्, र मेरा सेवकहरू त्यहाँ बस्‍नेछन्।

[10] मलाई खोज्ने मानिसहरूका निम्ति, शारोनको मैदान बगालहरूको लागि खर्क र आकोरको बेँसी विश्रामस्थल हुनेछ।

[11] “तर याहवेहलाई त्याग्नेहरूका निम्ति, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छन्, जसले गाद देवताको निम्ति टेबुल तयार गर्छन्, र मेनी देवीको निम्ति मिसाएको मद्यको कचौरा भर्छन्;

[12] म तिमीहरूलाई तरवारको निम्ति दिनेछु, र तिमीहरू सबै काटिनलाई घुँडा टेक्नेछौ; किनकि मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ; मैले बोलाएँ, तर तिमीहरूले सुनेनौ। तिमीहरूले मेरो नजरमा दुष्‍ट काम गर्‍यौ र मलाई मन नपर्ने कुराहरू रोज्यौ।”

[13] यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “मेरा सेवकहरूले खानेछन्, तर तिमीहरूचाहिँ भोकै रहनेछौ; मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरूचाहिँ तिर्खाउनेछौ; मेरा सेवकहरू रमाउनेछन्, तर तिमीहरूचाहिँ शर्ममा पर्नेछौ।

[14] मेरा सेवकहरूले आफ्ना हृदयको आनन्दमा गाउनेछन्; तर तिमीहरू हृदयको वेदनामा कराएर रुनेछौ, र हृदयको वेदनामा विलाप गर्नेछौ।

[15] तिमीहरूले आफ्नो नाम मेरा चुनिएका मानिसहरूका निम्ति सरापको रूपमा छोड्नेछौ; प्रभु याहवेहले तिमीहरूलाई मृत्युमा पार्नुहुनेछ, तर उहाँले आफ्ना सेवकहरूलाई अर्को नाम दिनुहुनेछ।

[16] जब देशमा कसैले आशिष्‌को माग गर्छ, त्यसले सत्य परमेश्‍वरको नामद्वारा माग गर्नेछ; जसले देशमा शपथ खान्छ; त्यसले सत्य परमेश्‍वरको नामद्वारा शपथ खानेछ। किनकि बितेका दुःखहरू भुलिनेछन्, र मेरा आँखाबाट लुकाइनेछन्।

[17] “हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्‍टि गर्नेछु। बितेका कुराहरू स्मरण गरिनेछैनन्, न त तिनीहरू मनमा नै आउनेछन्।

[18] तर म जे सृष्‍टि गर्नेछु, त्यसमा सधैँ खुशी होओ र हर्ष मनाओ; किनकि म यरूशलेमलाई हर्षोल्‍लास र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु।

[19] म यरूशलेमसँग खुशी हुनेछु, र मेरा प्रजामा हर्षित हुनेछु; यरूशलेममा रोएको र कराएको सोर फेरि कहिल्यै सुनिनेछैन।

[20] “थोरै दिनसम्म बाँच्ने बालक, वा आफ्नो पूरा उमेरसम्म नबाँच्ने वृद्ध मानिस त्यहाँ कहिल्यै हुनेछैन; सय वर्ष बाँच्ने मानिस जवान मानिनेछ; र सय वर्षसम्म नबाँच्ने मानिसचाहिँ श्रापित मानिनेछ।

[21] तिनीहरूले घर बनाउनेछन्, र त्यसमा बस्‍नेछन्; तिनीहरूले दाखबारी लगाउनेछन्, र त्यसका फल खानेछन्।

[22] तिनीहरूले बनाएका घरहरूमा अरूहरू नै आएर बस्‍नेछैनन्, वा तिनीहरूले लगाएका दाखबारीको फल फेरि कहिल्यै अरूहरूले खानेछैनन्। किनकि रूखको आयु जति लामो हुन्छ, त्यति नै धेरै आयु मेरा प्रजाको हुनेछ; मेरा चुनिएका प्रजाले आफ्ना हातका काम लामो समयसम्म उपभोग गर्नेछन्।

[23] तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त तिनीहरूले विपत्तिको निम्ति छोराछोरीहरू जन्माउनेछन्; किनकि तिनीहरू र तिनीहरूका सन्तानहरूसमेत याहवेहद्वारा आशिष् पाएका मानिसहरू हुनेछन्।

[24] तिनीहरूले पुकार गर्नुभन्दा अगाडि म जवाफ दिनेछु; तिनीहरूले बोल्दाबोल्दै म सुन्‍नेछु।

[25] ब्वाँसो र थुमाले एउटै ठाउँमा एकैसाथ खानेछन्, सिंहले गोरुले झैँ पराल खानेछ; अनि सर्पको आहारा धुलो हुनेछ। तिनीहरूले मेरा सबै पवित्र पर्वतहरूमा न त हानि गर्नेछन्, न त नाश गर्नेछन्,” याहवेह भन्‍नुहुन्छ।

यशैया — Chapters