Skip to content
Opens in a new window
Listen to this chapter • 6:16

[1] धर्मी जनहरू नाश हुन्छन्, र यस कुराको कसैले आफ्नो हृदयमा विचार गर्दैन; भक्तहरू उठाइलगिन्छन्, र धर्मीहरूलाई दुष्‍टताबाट बचाइनका निम्ति लगिँदैछन् भनेर कसैले बुझ्दैनन्।

[2] धर्मको मार्गमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्; तिनीहरू मृत्युमा सुत्दा विश्राम पाउनेछन्।

[3] “तर हे टुनामुना गर्ने स्त्रीका सन्तान, व्यभिचारी र वेश्याका सन्तान हो, यहाँ आओ!

[4] तिमीहरू कसलाई गिल्‍ला गर्दछौ? कसका विरुद्धमा मुख खोल्छौ र जिब्रो निकाल्छौ? के तिमीहरू बागी वा झूटाहरूका सन्तान होइनौ?

[5] तिमीहरू फलाँटका रूखहरूको बीचमा हरेक झ्याम्म परेको रूखमुनि कामवासनाले उत्तेजित हुन्छौ; तिमीहरू आफ्ना छोराछोरीहरूलाई खोल्सा र चट्टानका धाँदाहरूमा बलिदान गर्छौ।

[6] खोल्साका चिल्‍ला ढुङ्गाहरूको बीचमा भएका मूर्तिहरू तिमीहरूका भाग हुन्; तिनीहरू नै तिमीहरू भाग हुन्। हो, तिनीहरूलाई तिमीहरूले अर्घबलि र अन्‍नबलि चढाएका छौ। यस्ता कुराहरू जान्दाजान्दै पनि के म खुशी होऊँ?

[7] तिमीहरूले आफ्नो ओछ्यान अग्ला डाँडाहरूमा बिछ्याएका छ्यौ; तिमीहरू त्यहाँ आफ्ना बलिदानहरू चढाउन उक्लेर गयौ।

[8] तिमीहरूका ढोका र चौकसहरूको पछिल्तिर तिमीहरूले आफ्नो देवताहरूका चिन्हहरू राख्यौ। मलाई त्यागेर तिमीहरूले आफ्नो ओछ्यान उघार्‍यौ! त्यसमा चढेर तिमीहरूले त्यसलाई उदाङ्गो पार्‍यौ; तिमीहरूले जसका ओछ्यान मन परायौ, तिनीहरूसित सम्बन्ध गाँस्यौ, र तिमीहरूले तिनीहरूको नग्नता हेर्‍यौ।

[9] तिमीहरू मोलोखकहाँ जैतुनको तेल लिएर गयौ; अनि तिमीहरूले सुगन्धित तेलहरू लगायौ। तिमीहरूले आफ्नो राजदूतहरू टाढा पठायौ, र तिमीहरू पातालसम्मै ओर्लेर गयौ!

[10] तिमीहरू आफ्नो लामो मार्गले गर्दा थकित भयौ, तर तिमीहरूले, ‘यो व्यर्थको हो’ भनेनौ। तिमीहरूले नयाँ सामर्थ्य पायौ, यसैकारण तिमीहरू मूर्च्छा परेनौ।

[11] “कोसित तिमीहरू यति साह्रो डरायौ र त्रसित भयौ, कि तिमीहरू मप्रति झूटो भयौ; अनि न त मलाई सम्झना गर्‍यौ, न त आफ्ना हृदयमा यस विषयमा विचार गर्‍यौ? के धेरै बेरसम्म म चुप रहेँ भनेर नै तिमीहरूले मलाई आदर गर्न छाडेका हौ त?

[12] म तिमीहरूका धार्मिकता र तिमीहरू कामहरू देखाइदिनेछु, तर यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन।

[13] तिमीहरूले सहायताको निम्ति पुकार्दा तिमीहरूले थुपारेका मूर्तिहरूले नै तिमीहरूलाई बचाऊन्! हावाले तिनीहरू सबैलाई उडाइलानेछ; एकै सासले पनि तिनीहरूलाई टाढा लानेछ। तर मलाई शरणस्थान बनाउने मानिसले देशमाथि अधिकार गर्नेछ, र मेरो पवित्र पर्वतलाई प्राप्‍त गर्नेछ।”

[14] तब यसो भनिनेछ: “बनाओ, बनाओ, बाटो तयार गर! मेरा प्रजाको निम्ति बाटोदेखि बाधाहरू हटाओ।”

[15] किनकि उच्‍च र सर्वश्रेष्‍ठ परमेश्‍वर भन्‍नुहुन्छ: जो सदाकालको निम्ति रहनुहुन्छ, जसको नाम पवित्र होः “म उच्‍च र पवित्र ठाउँमा बस्छु, तर नम्रहरूको आत्मा र पश्‍चात्तापीहरूको हृदयलाई जागृत पार्न, आत्मामा नम्र र पश्‍चात्तापी भएकाहरूसित पनि बस्दछु।

[16] म सदाको निम्ति दोष दिइरहनेछैनँ, न त सधैँ रिसाउनेछु; किनकि त्यसो गर्दा मानिसको आत्मा, मैले सृष्‍टि गरेको मानिसको सास, मेरो सामु शिथिल हुनेछ।

[17] मलाई त्यसको पापपूर्ण लोभले रिस उठायो; मैले त्यसलाई दण्ड दिएँ, र रिसमा आफ्नो अनुहार लुकाएँ; तापनि त्यो आफ्नै इच्छाको मार्गमा चलिरह्‍यो।

[18] मैले त्यसका चालहरू देखेको छु, तर म त्यसलाई निको पार्नेछु; म त्यसलाई डोर्‍याउनेछु, र त्यसको चैन त्यसकहाँ फर्काइल्याउनेछु;

[19] म शोक गर्नेहरूका ओठमा प्रशंसा सृष्‍टि गरिदिनेछु।” याहवेह भन्‍नुहुन्छ, “नजिक र टाढा भएकाहरूलाई शान्ति! शान्ति! अनि म तिनीहरूलाई निको पार्नेछु।”

[20] तर दुष्‍टहरू अस्थिर समुद्रझैँ हुन्, जसले विश्राम लिन सक्दैन, जसका छालहरूले हिलो र माटो फ्याँक्छन्।

[21] मेरा परमेश्‍वर भन्‍नुहुन्छ, “दुष्‍टहरूलाई शान्ति हुँदैन।”

यशैया — Chapters