[1] दर्शनको बेँसीको विरुद्धमा भविष्यवाणी: अहिले तिमीहरूलाई के भयो, कि तिमीहरू सबै जना घरका कौसीहरूमा चढेर गयौ?
[2] हे होहल्ला र खैलाबैला भरिएको सहर, हे हलचल र उत्तेजनाले भरिएको नगर; मारिएका तेरा मानिसहरू तरवारद्वारा मारिएका होइनन्, न त तिनीहरू लडाइँमा मारिएका हुन्।
[3] तेरा सबै अगुवाहरू एकसाथ भागेका छन्; तिनीहरू कुनै धनु नचलाई पक्रिएका छन्। तेरा शत्रुहरू टाढा छँदै तँ भागिस्, र तिमीहरू एकसाथ कैदमा लगियौ।
[4] यसकारण मैले भनेँ, “मबाट गइहाल; मलाई धुरुधुरु रुन देओ। मेरा जातिको संहारमा मलाई सान्त्वना दिने प्रयास नगर।”
[5] सेनाहरूका याहवेह, प्रभुकहाँ दर्शनको बेँसीमा खैलाबैला, कुल्चीमिल्ची र आतङ्कको एउटा दिन छ; पर्खाल भत्काउने र पहाडहरूसित कराउने एउटा दिन छ।
[6] एलामले आफ्ना सारथीहरू र घोडाहरूसित आफ्नो धनु राख्ने ठोक्रो भिर्छ; कीरले ढालको खोल निकाल्छ।
[7] तेरा अति उत्तम बेँसीहरू रथहरूले भरिएका छन्, र सहरका मूलढोकाहरूमा घोडचढीहरू खटाइएका छन्।
[8] यहूदाको सुरक्षा हटाइएको छ; अनि त्यस दिन तैँले वनमा भएको राजमहलका हतियारहरूतिर हेरिस्;
[9] तैँले दावीदको सहरका धेरै पर्खालहरूमा धाँदाहरू देखिस्; तैँले तल्लो पोखरीमा पानी जम्मा गरिस्।
[10] तैँले यरूशलेममा भवनहरू गनिस्, र पर्खाल बलियो पार्न घरहरू भत्काइस्।
[11] तैँले पुरानो कुवाको पानीको निम्ति दुई वटा पर्खालहरूको बीचमा एउटा जलाशय निर्माण गरिस्, तर तैँले त्यसलाई निर्माण गर्नुहुनेतिर हेरिनस्; अनि धेरै पहिले त्यसलाई योजना गर्नुहुनेलाई आदर गरिनस्।
[12] त्यस दिन प्रभु, सेनाहरूका याहवेहले तँलाई त्यससित रुन र विलाप गर्न, आफ्नो केश लुछ्न र भाङ्ग्रा लगाउन बोलाउनुभयो।
[13] तर हेर, आनन्द र रमाहट, पशुहरू संहार गर्ने र भेडाहरू मार्ने, मासु खाने र मद्य पिउने काम भइरहेछ! तिमीहरू भन्छौ, “लौ, खाऔँ र पियौँ; किनकि भोलि त हामी मर्नेछौँ!”
[14] सेनाहरूका याहवेहले मैले सुन्ने गरी यो प्रकट गर्नुभएको छ: “यो पाप तेरो मृत्युको दिनसम्म प्रायश्चित हुनेछैन” प्रभु, सेनाहरूका याहवेह भन्नुहुन्छ।
[15] प्रभु, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “जा, त्यस भण्डारेलाई, राजमहलको जिम्मामा रहेको शेब्नालाई यसो भन्:
[16] तँ यहाँ के गर्दैछस्, र तँलाई यहाँ आफ्नो लागि चिहान बनाउन कसले अनुमति दियो? यस उचाइमा आफ्नो चिहान खोप्ने, र चट्टानमा आफ्ना निम्ति खोपेर विश्रामस्थल बनाउने अधिकार कहाँबाट पाइस्?
[17] “होशियार, याहवेहले तँलाई बलियो गरी पक्रनुहुन्छ; अनि तँ शक्तिशाली मानिस सुन्, तँलाई उहाँले टिपेर टाढा फ्याँकिदिनुहुनेछ।
[18] उहाँले तँलाई कसेर पोको पार्नुहुनेछ; अनि एउटा भकुण्डोजस्तै ठूलो देशमा हुर्र्याइदिनुहुनेछ। त्यहीँ नै तँ मर्नेछस्, र त्यहाँ तेरा तेजस्वी रथहरू जाकिनेछन्, र ती तेरा मालिकको घरानाका निम्ति शर्मको कुरा हुनेछ!
[19] म तँलाई तेरो जिम्मेवारीको कामबाट हटाउनेछु, र तँ आफ्नो पदबाट निकालिनेछस्।
[20] “त्यस दिन म हिल्कियाहको छोरा, मेरो सेवक एल्याकीमलाई बोलाउनेछु।
[21] म त्यसलाई तेरो पोशाक पहिर्याइदिनेछु र त्यसलाई तेरो पटुका बाँधिदिनेछु; अनि तेरा सबै अधिकार त्यसलाई सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्नेहरूका निम्ति र यहूदाको घरानाका निम्ति पिता हुनेछ।
[22] म त्यसका काँधमा दावीदको घरानाको साँचो राखिदिनेछु; त्यसले जे खोल्छ, त्यो कसैले थुन्न सक्दैन; अनि त्यसले जे थुन्छ, त्यो कसैले खोल्न सक्दैन।
[23] म त्यसलाई एउटा स्थिर ठाउँमा गाडिएको किलाझैँ गाड्नेछु। त्यो आफ्ना पिताको घरानाका निम्ति एउटा सम्मानको आसन हुनेछ।
[24] आफ्नो परिवारको सम्पूर्ण महिमा—त्यसका सन्तान र शाखाहरू, त्यसका हरेक स-साना पात्रहरू—कचौरादेखि गाग्रोसम्मको महिमा त्यसमा नै निर्भर गर्नेछ।”
[25] सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन दृढ स्थानमा गाडिएको त्यो किला उखेलिनेछ; त्यो काटिएर ढल्नेछ, र त्यसमा झुण्डिएको भारी छिनेर जानेछ।” याहवेह बोल्नुभएको छ।