Skip to content
Opens in a new window
Listen to this chapter • 4:38

[1] समुद्रको किनारमा भएको उजाडस्थानको विषयमा भविष्यवाणी: भुमरीले दक्षिण देशलाई स्वात्तै लगेझैँ, उजाडस्थानबाट, आतङ्कको देशबाट एउटा आक्रमणकारी आउँछ।

[2] मलाई एउटा डरलाग्दो दर्शन देखाइएको छ: देशद्रोहीले विश्‍वासघात गर्छ, लुटेराले लुटेर लैजान्छ। एलाम, आक्रमण गर्! मादी घेरा हाल्! म त्यसका सबै क्रन्दनहरू समाप्‍त गरिदिनेछु।

[3] यस दर्शनले मेरो शरीर कष्‍टले भरिएको छ, मलाई प्रसव-वेदनामा परेकी स्त्रीलाई झैँ व्यथा लागेको छ; म जे सुन्छु, त्यसको कारण म धरमराएको छु, म जे देख्छु, त्यसको कारण म हडबडाएको छु।

[4] मेरो हृदय काम्छ, डरले मलाई ढुक-ढुक बनाउँछ; मैले इच्छा गरेको साँझ मेरा निम्ति त्रास भएको छ।

[5] तिनीहरू टेबुल सजाउँछन्, तिनीहरू गलैँचा ओछ्याउँछन्, तिनीहरू खान्छन्, तिनीहरू पिउँछन्! अधिकृतहरू उठ, ढालमा तेल लगाओ!

[6] प्रभु मलाई यसो भन्‍नुहुन्छ: “जा, पहरेदार खटा, र त्यसले के देख्छ, त्यो बताओस्।

[7] जब त्यसले घोडाको टोलीसित रथहरू, गधामाथि सवार भएकाहरू अथवा ऊँटमाथि सवार भएकाहरूलाई देख्छ, तब त्यो सावधान, खूबै सावधान रहोस्।”

[8] तब पहरेदार चिच्यायो, “मेरा प्रभु, म दिनहुँ धरहरामा खडा रहन्छु; प्रत्येक रात म आफ्नो चौकीमा बस्छु।

[9] हेर्नुहोस्, एउटा मानिस घोडाहरूको टोलीसित रथमा सवार भएर आइरहेछ। अनि त्यसले प्रत्युत्तर दिन्छ: ‘बेबिलोन ढलेको छ, ढलेको छ! त्यसका देवताहरूका सबै मूर्तिहरू चकनाचुर पारिएर भुइँमा छरिएका छन्।’ ”

[10] हे खलामा दाइँ गरिएका मेरा मानिस हो, मैले सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वरबाट जे सुनेको छु, त्यो म तिमीहरूलाई भन्छु।

[11] दुमाको विरुद्धमा भविष्यवाणी: सेइरबाट मलाई कसैले बोलाउँछ, “पहरेदार, रात कति बाँकी छ? पहरेदार, रात कति बाँकी छ?”

[12] पहरेदारले जवाफ दिन्छ, “बिहान हुन लाग्यो, तर पनि रात आउँदैछ। यदि तिमीलाई केही सोधखोज गर्ने हो भने सोध; र फेरि फर्केर सोध्न आऊ।”

[13] अरब देशको विषयमा भविष्यवाणी: ददानीहरूका यात्री दलहरू, जो अरबका झाडीहरूमा छाउनी हालेर बस्छौ,

[14] तिर्खाएकाहरूको निम्ति पानी ल्याओ; तेमामा बस्‍नेहरू, शरणार्थीहरूका निम्ति भोजन ल्यायो।

[15] तिनीहरू तरवारबाट, नाङ्गो तरवारबाट, नुहेका धनुबाट, र घोर लडाइँबाट भाग्छन्।

[16] प्रभु मलाई यसो भन्‍नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले दिन गनेझैँ एक वर्षभित्रमा केदारका सबै रवाफ समाप्‍त हुनेछ।

[17] धनुर्धारीहरू र केदारका योद्धाहरू थोरै मात्र बाँच्नेछन्।” याहवेह, इस्राएलका परमेश्‍वर बोल्नुभएको छ।

यशैया — Chapters