Skip to content
Opens in a new window
Listen to this chapter • 5:21

[1] टायरको विषयमा भविष्यवाणी: हे तर्शीशका जहाज हो, विलाप गर! किनकि टायर नाश भएको छ, र घर वा बन्दरगाहरहित भएको छ। कित्तीम देशबाट, तिनीहरूकहाँ यो वचन आएको छ।

[2] हे टापुका मानिसहरू र सीदोनका व्यापारीहरू हो, चुप लाग! तिमीहरूलाई समुद्री व्यवसायीहरूले धनी तुल्याएका छन्।

[3] विशाल समुद्रमा शीहोरका अन्‍न आयो; नील नदीको कटनी टायरको कर थियो; अनि त्यो जातिहरूको व्यापार-केन्द्र भएको थियो।

[4] हे सीदोन र सामुद्रिक किल्‍ला, लज्जित होओ; किनकि समुद्रले यसो भनेको छ: “न म सुत्केरी वेदनामा परेकी छु, न त मैले बालक जन्माएकी छु; न त मैले छोराहरू हुर्काएकी छु, न छोरीहरूलाई पालनपोषण गरेकी छु।”

[5] जब इजिप्टमा वचन आउँछ, तब तिनीहरू टायरको समाचार सुनेर दुःखित हुनेछन्।

[6] तिमीहरू तर्शीशतिर जाओ; हे टापुका मानिसहरू हो, विलाप गर।

[7] के तिमीहरूका मनोरञ्जनको सहर यही हो? त्यो पुरानो, अति पुरानो सहर, जसका खुट्टाले त्यसलाई टाढा देशहरूमा गएर बसोबास गर्न लगायो!

[8] मुकुटहरू प्रदान गर्ने टायरको विरुद्धमा कसले यो योजना बनायो? जसका व्यापारीहरू राजकुमारहरू हुन्, जसका व्यापारीहरू संसारमा प्रख्यात छन्!

[9] त्यसका सबै प्रतापको घमण्डलाई होच्याउन, र संसारमा प्रख्यात भएकाहरूलाई नम्र तुल्याउन सेनाहरूका याहवेहले नै यो योजना बनाउनुभएको हो।

[10] हे तर्शीशकी छोरी, नील नदीको किनारमा जस्तै आफ्नो जमिन जोत्, किनकि अब तँसित कुनै बन्दरगाह रहेन।

[11] याहवेहले आफ्नो हात समुद्रमाथि पसार्नुभएको छ, र त्यसका राज्यहरूलाई हल्‍लाउनुभएको छ। उहाँले त्यसको किल्‍ला नष्‍ट होस् भनेर फोनिकेको विषयमा आज्ञा दिनुभएको छ।

[12] उहाँले भन्‍नुभयो, “हे सीदोनकी कन्या छोरी, अब तेरा निम्ति खुशी आउनेछैन, तँ श्रापित भइस्! “उठ्, कित्तीम र पश्‍चिमी किनारमा जा; त्यहाँ पनि तैँले विश्राम पाउनेछैनस्।”

[13] बेबिलोनीहरूको देशलाई हेर्, यो जाति, जसको अब कुनै मूल्य छैन! अश्शूरहरूले त्यसलाई मरुभूमिका जन्तुहरूको ठाउँ बनाएका छन्; तिनीहरूले आफ्ना घेराबन्दीका धरहराहरू अग्ला बनाए; तिनीहरूले त्यसका किल्‍लाहरू नाङ्गो पारिदिए, र त्यसलाई नष्‍ट गरिदिए।

[14] हे तर्शीशका जहाजहरू हो, विलाप गर; तिमीहरूको किल्‍ला नष्‍ट पारिएको छ!

[15] त्यस समय टायर सत्तरी वर्षसम्म, अर्थात् एउटा राजाको जीवन अवधिसम्म बिर्सिईनेछ। तर सत्तरी वर्ष बितेपछि टायरको दशा एउटी वेश्याको गीतजस्तै हुनेछ।

[16] “हे बिर्सिएकी वेश्या, वीणा लिएर सहरको बीचमा वरिपरि घुमिहिँड्; सुमधुर वीणा बजा, धेरै गीत गा, र तेरो फेरि स्मरण गरियोस्!”

[17] सत्तरी वर्ष बितेपछि यस्तो हुनेछ: याहवेहले टायरसित व्यवहार गर्नुहुनेछ। त्यो आफ्नो वेश्यावृत्तिको पेशातिर फर्किनेछे, र त्यसले पृथ्वीभरिका राज्यहरूसित आफ्नो व्यापार गर्नेछे।

[18] र पनि त्यसको लाभ र त्यसको कमाइ याहवेहको निम्ति छुट्याइनेछ; ती भण्डारमा राखिनेछैनन् अथवा थुपारिनेछैनन्। त्यसका लाभहरू याहवेहको सामु रहनेहरूका निम्ति प्रशस्त भोजन र मसिनो वस्त्रको लागि जानेछन्।

यशैया — Chapters