Skip to content
Opens in a new window
Listen to this chapter • 6:19

[1] उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाको राजा हुँदा अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्ध युद्ध गर्न आए, तर तिनीहरूले त्यसलाई जित्न सकेनन्।

[2] अब दावीदको घरानालाई यसो भनियो, “अराम एफ्राइमसित मिलेको छ।” यसरी वनका रूखहरू बतासले हल्‍लाएझैँ आहाज र तिनको प्रजाको हृदय काँप्यो।

[3] तब याहवेहले यशैयालाई भन्‍नुभयो, “तँ र तेरा छोरा शार्यासूब धोबीहरूको खेतमा जाने बाटोमा माथिल्‍लो पोखरीको कुलोको अन्तिम भागमा आहाजलाई भेट्न निस्केर जा।

[4] त्यसलाई भन्, ‘होशियार बस्, शान्त हो, र नडरा। धुवाँ मात्र आइरहेका दाउराका यी दुई ठुटाहरूका कारण रसीन, अराम र रमल्याहका छोराको डरलाग्दो रिसको कारण हताश नहो।

[5] अराम, एफ्राइम र रमल्याहका छोराले तेरो विनाशको षड्यन्त्र गरेर यसो भनेका छन्,

[6] “हामी यहूदामाथि आक्रमण गरौँ र त्यसलाई टुक्रा-टुक्रा पारौँ; अनि त्यसलाई हाम्रो बीचमा बाँडौँ, र ताबेलको छोरालाई त्यसका राजा बनाऔँ।”

[7] तर प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘यो कहिल्यै हुनेछैन, यो टिक्नेछैन;

[8] किनकि अरामको शिर दमस्कस हो; अनि दमस्कसको शिर रसीन मात्र हो। पैँसट्ठी वर्षभित्र एफ्राइम एउटा जाति नै नरहने गरी टुटफुट हुनेछ।

[9] एफ्राइमको शिर सामरिया हो; अनि सामरियाको शिर रमल्याहको छोरा मात्र हो। यदि तँ आफ्नो विश्‍वासमा दृढतासाथ स्थिर रहिनस् भने, तँ स्थापित हुनेछैनस्।’ ”

[10] फेरि याहवेहले आहाजलाई भन्‍नुभयो,

[11] “याहवेह तेरा परमेश्‍वरलाई अति गहिराइमा अथवा अति उचाइमा भए तापनि एउटा चिन्ह माग्।”

[12] तर आहाजले भने, “म माग्नेछैनँ; म याहवेहको परीक्षा गर्नेछैनँ।”

[13] तब यशैयाले भने, “हे दावीदको घराना, अब यो सुन्! के मानिसहरूको धैर्यतालाई जाँच गर्नु पर्याप्‍त थिएन? के तँ मेरा परमेश्‍वरको धैर्य पनि जाँच गर्छस्?

[14] यसकारण प्रभु आफूले तँलाई एउटा चिन्ह दिनुहुनेछ: कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्; अनि उनलाई इम्मानुएल भन्‍नेछिन्।

[15] खराबलाई इन्कार गर्न र ठिकलाई चुन्‍न पर्याप्‍त ज्ञान पाएपछि उसले दही र मह खानेछ।

[16] तर बालकले खराबलाई इन्कार गर्न र ठिकलाई चुन्‍न पर्याप्‍त ज्ञान पाउनुअगि तँलाई तर्साउने दुई राजाहरूको देश उजाड हुनेछ।

[17] याहवेहले तँ र तेरा मानिसहरूमाथि, तेरा पिताका घरानामाथि एफ्राइम यहूदाबाट अलग भएको समयभन्दा बेग्लै समय यस देशमा ल्याउनुहुनेछ; उहाँले अश्शूरका राजालाई ल्याउनुहुनेछ।”

[18] त्यस दिन याहवेहले इजिप्टका नदीहरूको पल्‍लो छेउमा रहेका झिँगाहरू र अश्शूरको देशबाटका मौरीहरूलाई सुसेली मारेर बोलाउनुहुनेछ।

[19] तिनीहरू सबै आएर भिरालो कन्दराहरूमा, चट्टानका दुलाहरूमा, सबै काँडे-पोथ्राहरूमा र पानीको खाडलका सबै भ्वाङ्गहरूमाथि बस्‍नेछन्।

[20] त्यस दिन प्रभुले तिमीहरूका कपाल खौरिन, तिमीहरूका दाह्री र शरीरका सबै रौँ खौरिनलाई नदी पारिबाट एउटा छुरा ज्यालामा लिनुहुनेछ, अर्थात् अश्शूरका राजालाई ल्याउनुहुनेछ।

[21] त्यस दिन एउटा मानिसले एउटी कोरली र एक जोर भेडा पाल्नेछ।

[22] तिनीहरूले प्रशस्त दूध दिएको कारण उसले दही खानेछ। त्यस देशमा छोडिएका सबैले दही र मह खानेछन्।

[23] त्यस दिन एक हजार शेकेलको चाँदीको मूल्य बराबरको एक हजार दाखको बोट भएको प्रत्येक ठाउँमा खाली सिउँडी र काँडा मात्र हुनेछन्।

[24] मानिसहरू त्यहाँ धनु र काँड लिएर जानेछन्; किनकि देश सिउँडी र काँडाहरूले ढाकिएको हुनेछ।

[25] एकपल्ट तिमीहरूले कोदालोले खेती गरेका डाँडाहरूको विषयमा चाहिँ तिमीहरू त्यहाँ सिउँडी र काँडाहरूको डरले जानेछैनौ; ती गाईबस्तु र भेडाहरूका निम्ति चर्ने ठाउँ हुनेछन्।

यशैया — Chapters