Skip to content
Opens in a new window
Listen to this chapter • 6:49

[1] हेर, याहवेहको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्‍न नसक्ने गरी बहिरो भएको छ।

[2] तर तिमीहरूका अपराधहरूले तिमीहरूलाई आफ्ना परमेश्‍वरबाट अलग गरेका छन्; तिमीहरूका पापहरूले गर्दा उहाँको अनुहार तिमीहरूबाट लुकाइएको छ, त्यसैकारण उहाँले सुन्‍नुहुन्‍न।

[3] किनकि तिमीहरूका हातहरू रगतले र तिमीहरूका औँलाहरू दोषले अशुद्ध भएका छन्। तिमीहरूका ओठहरूले झूट बोलेका छन्, र तिमीहरूका जिब्राले दुष्‍ट कुराहरू बोल्दछन्।

[4] कसैले पनि न्यायको माग गर्दैन; कसैले पनि मुद्दा न्यायपूर्वक लड्दैन। तिनीहरू व्यर्थका तर्कहरूमाथि भर पर्छन् र झूट बोल्छन्; तिनीहरूले समस्या गर्भधारण गर्छन् र दुष्‍टता जन्माउँछन्।

[5] तिनीहरू विषालु सर्पका अण्डा ओथ्राउँछन्, र माकुराको जाल बुन्छन्। तिनीहरूका अण्डा खाने जोसुकै पनि मर्छ, र अण्डा फुटायो भने विषालु सर्पको बच्‍चा निस्कन्छ।

[6] तिनीहरूका जालले कपडा बनाउन सकिँदैन; तिनीहरूले बनाएका थोकले मानिसहरूले आफूलाई ढाक्न सक्दैनन्। तिनीहरूका काम दुष्‍टतापूर्ण छन्, र तिनीहरूका हातमा हिंसाका कामहरू छन्।

[7] तिनीहरूका खुट्टा पाप गर्न दौडिन्छन्; तिनीहरू निर्दोष रगत बगाउन हतारिन्छन्। तिनीहरूका विचार दुष्‍ट विचार हुन्; तिनीहरूका मार्ग बरबादी र विनाशले भरिएका छन्।

[8] तिनीहरू शान्तिको मार्ग जान्दैनन्; तिनीहरूका मार्गमा न्याय छैन। तिनीहरूले आफ्ना मार्ग बाङ्गो बनाएका छन्; त्यसमा हिँड्ने कसैले पनि शान्ति पाउनेछैन।

[9] यसकारण न्याय हामीबाट टाढा छ, र धार्मिकता हामीकहाँ आइपुग्दैन। हामी ज्योतिको आशा गर्छौँ, तर अन्धकार छ; हामी उज्यालोको बाटो हेर्छौँ, तर घोर अन्धकारमा हिँड्छौँ।

[10] अन्धाले जस्तै हामी भित्ता छामछाम-छुमछुम गर्छौँ, आँखा नभएको मानिसजस्तै हामी आफ्नो बाटो छामिहिँड्छौँ। मध्यदिनमा पनि साँझमा जस्तै हामी ठक्‍कर खान्छौँ; बलियाहरूको बीचमा हामी मरेका मानिसहरूजस्ता छौँ।

[11] हामी भालुजस्तै कराउँछौँ; हामी ढुकुरजस्तै विलाप गर्छौँ, हामी न्याय खोज्छौँ, तर पाउँदैनौँ; हामी छुटकारा खोज्छौँ, तर त्यो हामीदेखि टाढा छ।

[12] किनकि हाम्रा अपराधहरू तपाईंको दृष्‍टिमा धेरै छन्, र हाम्रा पापहरूले हाम्रै विरुद्धमा गवाही दिन्छन्। हाम्रा अपराधहरू सधैँ हामीसँग छन्, र हामी आफ्ना अपराधहरू स्वीकार गर्छौँ:

[13] हामीले याहवेहको विरुद्ध विश्‍वासघात र विद्रोह गरेका छौँ; हाम्रा पिठिउँ परमेश्‍वरतिर फर्काएका छौँ; विद्रोह र अत्याचार गरेका छौँ, र हाम्रा हृदयभित्र सोचेका झूटहरू मुखले उच्‍चारण गरेका छौँ।

[14] यसरी न्यायलाई पछिल्तिर पन्छाएका छौँ, र धार्मिकता टाढा भएको छ; सत्यताले चाहिँ बाटोमा ठक्‍कर खाएको छ, र इमानदारीताले प्रवेश गर्न सक्दैन।

[15] सत्यता कहीँ पनि पाइँदैन, र दुष्‍टतादेखि अलग बस्‍ने जोसुकै पनि शिकार हुन्छन्। याहवेहले देख्नुभयो, र न्याय हुँदै नभएकोले उहाँलाई दुःख लाग्यो।

[16] उहाँले कोही पनि नभएको देख्नुभयो; मध्यस्थ गर्ने कोही पनि नभएकोले उहाँले अचम्म मान्‍नुभयो; यसैले उहाँकै बाहुलीले उद्धारको काम गर्नुभयो, र उहाँकै धार्मिकताले सम्हाल्नुभयो।

[17] उहाँले आफ्नो धार्मिकताको छाती-पाता र आफ्नो शिरमाथि मुक्तिको टोप पहिरिनुभयो; उहाँले बदलाको वस्त्र लगाउनुभयो र जोशलाई पोशाकझैँ पहिरनुभयो।

[18] तिनीहरूले गरेअनुसार उहाँले बदला लिनुहुनेछ; उहाँका शत्रुहरूमाथि क्रोध र बैरीहरूलाई प्रतिशोध दिनुहुनेछ; उहाँले टापुहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनुहुनेछ।

[19] पश्‍चिमबाट, विदेशीहरूले याहवेहको नामको डर मान्‍नेछन्, र सूर्योदयदेखि नै तिनीहरूले उहाँको महिमा गर्नेछन्। किनकि उहाँ याहवेहको सासले ठेल्दै ल्याएको उर्लंदो भेलजस्तै आउनुहुनेछ।

[20] “आफ्ना पापको पश्‍चात्ताप गरी फर्कने याकोबका सन्तानहरूका निम्ति मुक्तिदाता सियोन पर्वतमा आउनुहुनेछ,” याहवेह घोषणा गर्नुहुन्छ।

[21] याहवेह भन्‍नुहुन्छ, “मेरो करार तिनीहरूसित चाहिँ यही नै हो। तँमाथि मेरो जुन आत्मा छ, त्यो तँबाट हट्नेछैन; अनि मैले तेरो मुखमा राखिदिएको मेरो वचन तेरो मुखबाट अथवा तेरा छोराछोरीहरूका मुखबाट, न त अब उसो तिनीहरूका सन्तानहरूका मुखबाट सदासर्वदाका निम्ति हट्नेछ,” याहवेह भन्‍नुहुन्छ।

यशैया — Chapters