[1] “हे याकोबको घराना, यो कुरा सुन, तिमीहरू, जो इस्राएलको नामले बोलाइएका छौ, र यहूदाको वंशबाट आएका छौ, तिमीहरू, जसले याहवेहको नाममा शपथ खान्छौ र इस्राएलका परमेश्वरलाई पुकार्छौ; तर सत्यता र धार्मिकतामा होइन;
[2] तिमीहरू, जो आफूलाई पवित्र सहरका नागरिक भन्छौ; अनि इस्राएलका परमेश्वरमा भरोसा राख्छौ; उहाँको नाम सेनाहरूका याहवेह हो।
[3] मैले पहिलेका कुराहरू धेरै अगि नै भनिसकेको छु, मेरो मुखबाट ती निस्के, र मैले ती भनिदिएँ; तब झट्टै मैले काम गरेँ, र ती हुन आए।
[4] किनकि तँ कति हठी छस् भन्ने मलाई थाहा थियो; तेरो गर्दन फलामको जस्तो, र तेरो निधार काँसाको जस्तो थियो।
[5] यसकारण मैले यी कुराहरू तँलाई धेरै अगि नै भनिदिएँ; ती हुनुभन्दा पहिले नै मैले तँलाई सूचित गरेँ, ताकि तैँले ‘मेरा मूर्तिहरूले यी गरेका हुन्, र मेरा काठका मूर्तिहरूले यी गरेका हुन्’ भनी भन्न नपाओस्।
[6] तैँले यी कुराहरू सुनेको छस्; ती सबैलाई हेर्। के तँ ती कुराहरू स्वीकार गर्दैनस्? “अब उसो म तँलाई नयाँ कुराहरूको विषयमा भन्नेछु, तैँले नजानेका गुप्त कुराहरू भन्नेछु।
[7] ती धेरै अगि होइन, अहिले सृजिएका हुन्; तैँले यी विषयमा आजभन्दा पहिले सुनेको छैनस्। यसकारण तैँले, ‘हो, मैले तिनीहरूको विषयमा जानेको थिएँ’ भन्न सक्दैनस्।
[8] तैँले न त सुनेको छस्, न त बुझेको छस्; प्राचीन समयदेखि नै तेरो कान खोलिएको छैन। तँ कति विश्वासघाती छस् भनी म राम्ररी जान्दछु; तँलाई त जन्मैदेखि विद्रोही भनिन्थ्यो।
[9] म आफ्नै नामको खातिर आफ्नो क्रोधलाई ढिलो गराउँछु; मेरो प्रशंसाको निम्ति मेरो क्रोध तँबाट रोकी राखेको छु, यसैले कि तँ पूर्ण रूपमा नाश हुन नपरोस्।
[10] हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्तै होइन; मैले तँलाई कष्टको भट्टीमा जाँचेको छु।
[11] मेरो खातिर, मेरो आफ्नै खातिर म यसो गर्नेछु। म कसरी आफ्नै बदनामी हुन दिन सक्छु? म आफ्नो महिमा अरू कसैलाई दिनेछैनँ।
[12] “हे याकोब सुन्, इस्राएल, जसलाई मैले बोलाएको छु: म उही हुँ, प्रथम र अन्तिम म नै हुँ।
[13] मेरो आफ्नै हातले पृथ्वीको जग बसालेको हो, र मेरो दाहिने हातले आकाशहरू फैलाएको हो; मैले तिनीहरूलाई बोलाउँदा तिनीहरू सबै एकसाथ खडा हुन्छन्।
[14] “तिमीहरू सबै एकसाथ आएर सुन: कुन मूर्तिले यी कुराहरू पहिलेबाटै भनिदिएको छ? याहवेहको चुनिएको सहयोगीले बेबिलोनको विरुद्ध उहाँको उद्देश्य पूरा गर्नेछ; त्यसको बाहुली बेबिलोनीहरूको विरुद्ध हुनेछ।
[15] म आफैँले बोलेको छु; हो, मैले त्यसलाई बोलाएको छु। म त्यसलाई ल्याउनेछु, र त्यो आफ्नो काममा सफल हुनेछ।
[16] “मेरो नजिक आएर यो सुन: “मेरो पहिलो घोषणादेखि नै म गुप्तमा बोलेको छैनँ; यो हुन आएको समयदेखि नै, म छँदैछु।” अब प्रभु याहवेहले मलाई उहाँको आत्मासित पठाउनुभएको छ।
[17] तिमीहरूका उद्धारक, इस्राएलका पवित्र परमेश्वर याहवेह यसो भन्नुहुन्छ— “म याहवेह नै तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई सबैभन्दा असल के हुन्छ, सो सिकाउनुहुन्छ, जसले तिमीहरूले हिँड्नुपर्ने बाटो बताउनुहुन्छ।
[18] यदि तिमीहरूले मेरा आज्ञाहरूमा ध्यान दिएका मात्र भए, तिमीहरूका शान्ति नदीझैँ हुनेथियो; तिमीहरूका धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो।
[19] तिमीहरूका सन्तान बालुवाझैँ हुनेथिए, र तिमीहरूका बालबच्चाहरू त्यसका असंख्य कणहरूझैँ हुनेथिए; तिनीहरूका नाम मेरो सामुबाट कहिल्यै हटाइनेथिएन, न त नाश गरिनेथियो।”
[20] बेबिलोनलाई छोडिदेओ, बेबिलोनीहरूबाट भाग! यसलाई हर्षको चीत्कारले सूचित गर र यसलाई घोषणा गर। यसलाई पृथ्वीको छेउसम्म पठाओ; “याहवेहले आफ्नो सेवक याकोबलाई मोल तिरेर छुटाउनुभएको छ” भनी भन।
[21] तिनीहरूलाई उहाँले उजाडस्थान भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्; तिनीहरूको निम्ति उहाँले चट्टानबाट पानी निकाल्नुभयो; उहाँले चट्टानलाई फोर्नुभयो र पानी जोडसित फुटेर निस्क्यो।
[22] याहवेह भन्नुहुन्छ, “दुष्टहरूका निम्ति शान्ति छैन।”