[1] अब हेर, प्रभु सेनाहरूका याहवेहले यरूशलेम र यहूदाबाट सर-सामान र सहारा दुवै लैजान लाग्नुभएको छ: सबै भोजनका सरसामानहरू र पानीका मुहानहरू,
[2] वीर र योद्धा, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्ने र वृद्ध मानिसहरू,
[3] पचास माथिका सेनापति र उच्च पदाधिकारी, सल्लाहकार, सिपालु कारिगर र चतुर जादुगर।
[4] “म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु; बालबालिकाहरूले तिनीहरूमाथि शासन गर्नेछन्।”
[5] मानिसहरूले एक-अर्कालाई अत्याचार गर्नेछन्; मानिसको विरुद्धमा मानिस, छिमेकीको विरुद्धमा छिमेकी उठ्नेछ। वृद्धको विरुद्धमा जवान, र सम्मानितको विरुद्धमा तुच्छ खडा हुनेछ।
[6] एउटा मानिसले आफ्ना दाजुभाइहरूमध्ये एक जनालाई आफ्ना बुबाको घरमा समातेर भन्नेछ, “तिमीसित राम्रो पहिरन छ, तिमी नै हाम्रो अगुवा बन, र यस भग्नावशेषको जिम्मा लेऊ!”
[7] तर त्यस दिन त्यसले कराएर भन्नेछ, “म उपचार गर्ने मानिस होइन। मेरो घरमा भोजन र वस्त्र केही पनि छैन; मलाई मनिसहरूका अगुवा नबनाओ।”
[8] यरूशलेम धरमरिँदैछ, यहूदा लड्दैछ; तिनीहरूका वचन र कामहरू याहवेहको विरुद्ध छन्; तिनीहरू उहाँको महिमित उपस्थितिको बेवास्ता गर्छन्।
[9] तिनीहरूका अनुहारले तिनीहरूकै विरुद्धमा साक्षी दिन्छ; तिनीहरूले सदोमले झैँ आफ्ना पापको प्रदर्शन गरेका छन्; तिनीहरूले ती लुकाउँदैनन्। तिनीहरूलाई धिक्कार! तिनीहरू आफैँले आफूमाथि विपत्ति ल्याएका छन्।
[10] धर्मीहरूलाई भन, तिनीहरूलाई राम्रै हुनेछ; किनकि तिनीहरूले आफ्ना कामहरूको फल उपभोग गर्नेछन्।
[11] दुष्टहरूलाई धिक्कार! तिनीहरूमाथि विपत्ति आउनेछ। तिनीहरूले आफ्ना हातहरूले गरेअनुसार नै भोग्नेछन्।
[12] जवानहरूले मेरा मानिसहरूमाथि थिचोमिचो गरेका छन्; स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्। हे मेरा मानिसहरू, तिमीहरूका पथ-प्रदर्शकहरूले नै तिमीहरूलाई बरालिदिएका छन्; तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्।
[13] याहवेहले न्यायालयमा आफ्नो आसन ग्रहण गर्नुहुन्छ; उहाँ मानिसहरूको न्याय गर्न खडा हुनुहुन्छ।
[14] याहवेहले आफ्ना मानिसहरूका प्रधानहरू र अगुवाहरूको विरुद्ध न्याय गर्नुहुन्छ: “मेरो दाखबारी नष्ट पार्ने तिमीहरू नै हौ; गरिबहरूबाट लिइएका लुटको माल तिमीहरूका घरहरूमा छ।
[15] मेरा मानिसहरूलाई धुलोपिठो बनाएको अनि गरिबहरूका अनुहारहरू पिँधेको तिमीहरूले के अर्थ लाउँछौ?” प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
[16] याहवेह भन्नुहुन्छ, “सियोनका स्त्रीहरू अभिमानी छन्, तिनीहरू गर्दन ठड्याउँदै र विलासी आँखाहरू तर्काउँदै, नक्कल पार्दै कल्ली लगाएर छमछम गर्दै हिँड्छन्।
[17] यसकारण प्रभु याहवेहले सियोनका स्त्रीहरूका शिरमा घाउहरू ल्याउनुहुनेछ, र तिनीहरूका तालु केशविहीन बनाइदिनुहुनेछ।”
[18] त्यस दिन प्रभुले तिनीहरूका सिङ्गारका चीजहरू जस्तै: चुराहरू र शिरबन्दीहरू, चन्द्रहारहरू,
[19] झुम्काहरू र बालाहरू र घुम्टाहरू,
[20] शिरका सिङ्गारहरू, कल्ली, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू,
[21] छाप-औँठीहरू र नत्थहरू,
[22] मसिनो वस्त्रहरू, अलखा र ओढ्नेहरू, थैलीहरू,
[23] अनि ऐनाहरू, मलमलका वस्त्रहरू, मुकुटहरू र दोसल्लाहरू खोसेर लैजानुहुनेछ।
[24] सुगन्धको सट्टामा दुर्गन्ध हुनेछ; पटुकाको साटो डोरी; राम्ररी कोरिएको केशको साटो मुडुलो टाउको हुनेछ; मसिनो वस्त्रको साटो भाङ्ग्रा; सुन्दरताको साटो डामै-डाम हुनेछ।
[25] तेरा मानिसहरू तरवारद्वारा मारिनेछन्; तेरा योद्धाहरू लडाइँमा मारिनेछन्।
[26] सियोनका मूलढोकाहरूले बिलौना र शोक गर्नेछन्; आश्रयविहीन भई तिनी भुइँमा बस्नेछिन्।