[1] धिक्कार, कूशका नदीहरूका किनारमा भएको हुरुरु आवाज निकाल्नेहरूको देश,
[2] जसले पानीमाथि निगालोका डुङ्गाहरूमा समुद्री बाटोद्वारा दूतहरू पठाउँछ। फूर्तिला दूतहरू, अग्ला र चिल्ला छाला भएका मानिसहरूकहाँ जाओ; चारैतिर डर मानिएका जातिकहाँ, अनौठो बोली भएका आक्रमणकारी जातिकहाँ, जसको देशलाई नदीहरूले भाग-भाग गरेको छ।
[3] हे संसारका सबै मानिसहरू हो, जो यस पृथ्वीमा बस्दछौ, जब पर्वतहरूमा एउटा झण्डा उठाइन्छ, तिमीहरूले त्यसलाई देख्नेछौ; अनि तुरही बज्दा तिमीहरूले त्यो सुन्नेछौ।
[4] याहवेहले मलाई यसो भन्नुहुन्छ: “म चुपचाप रहनेछु र घाम चर्केको तापझैँ, र कटनीको समय गर्मीमा शीतको बादलझैँ आफ्नो वासस्थानबाट हेर्नेछु।”
[5] किनकि जब कटनीको अगि कोपिला फक्रिसकेको हुन्छ, र फूलबाट बढेर अङ्गुर पाकेको हुन्छ, तब उहाँले टुसालाई हँसियाले छिँवल्नुहुनेछ; अनि फैलिएका ती हाँगाहरूलाई काटेर लैजानुहुनेछ।
[6] तिनीहरू पर्वतका शिकारी पक्षीहरूकहाँ र वन-पशुहरूकहाँ छोडिनेछन्; तब पक्षीहरूले ग्रीष्मकालभरि र वन-पशुहरूले चाहिँ हिउँदभरि खानेछन्।
[7] त्यस समय सेनाहरूका याहवेहको अगि उपहार ल्याइनेछ। अग्ला र चिल्ला छाला भएका मानिसहरूबाट चारैतिर डर मानिएका जातिबाट, अनौठो बोली भएका आक्रमणकारी जातिबाट, जसको देशलाई नदीहरूले भाग गरेको छ। सेनाहरूका याहवेहको नाम भएको ठाउँमा सियोन पर्वतमा नै याहवेहकहाँ उपहार ल्याइनेछ।