[1] यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन यही हो:
[2] अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ, र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै जातिहरू त्यसमा ओइरिएर आउनेछन्।
[3] धेरै जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्।
[4] उहाँले राष्ट्रहरूका बीचमा न्याय गर्नुहुनेछ; अनि धेरै जतिहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्।
[5] हे याकोबका घराना, आओ, र हामी याहवेहको ज्योतिमा हिँडौँ।
[6] हे याहवेह, तपाईंले आफ्नो प्रजा याकोबका घरानालाई त्याग्नुभएको छ। तिनीहरू पूर्वका अन्धविश्वासले भरिएका छन्; तिनीहरू पलिश्तीहरूले झैँ जोखना हेर्छन् र तिनीहरूका रीतिरिवाज अपनाउँछन्।
[7] तिनीहरूको देश चाँदी र सुनले भरिएको छ, तिनीहरूको धनसम्पत्ति अपार छ। तिनीहरूको देशमा घोडाहरू प्रशस्त छन्; तिनीहरूका रथहरूको गन्ती छैन।
[8] तिनीहरूको देशभरि मूर्तिहरू छन्; तिनीहरू आफ्ना हातका कामहरू, र आफ्ना औँलाले बनाएका कुराहरूका सामु निहुरिन्छन्।
[9] यसकारण मानिस होच्याइनेछ, र हरेकलाई नम्र तुल्याइनेछ— यसकारण तिनीहरूलाई क्षमा नगर्नुहोस्!
[10] याहवेहको डरबाट र उहाँको सर्वश्रेष्ठताको प्रतापबाट चट्टानभित्र पस्, माटोमुनि लुक्!
[11] घमण्डीका आँखालाई नम्र तुल्याइनेछ; अनि मानिसहरूको अहङ्कार तल झारिनेछ। त्यस दिन याहवेह मात्र उच्च पारिनुहुनेछ।
[12] सबै अभिमानी र वैभवशालीहरूका निम्ति, र उच्च पारिएकाहरू सबैका निम्ति, सेनाहरूका याहवेहले एउटा दिन साँचेर राख्नुभएको छ। त्यस दिन तिनीहरू विनम्र तुल्याइनेछन्।
[13] लेबनानका सबै अग्ला र ठूला देवदारु, र बाशानका सबै फलाँटका रूखहरूका निम्ति,
[14] धरहराझैँ उठेका सबै पर्वत, र सबै अग्ला डाँडाहरूका निम्ति,
[15] प्रत्येक ठूला धरहरा, र प्रत्येक सुरक्षित पर्खालका निम्ति,
[16] तर्शीशको प्रत्येक व्यापारी जहाज, र प्रत्येक राजकीय जहाजको निम्ति।
[17] मानिसको अभिमान चूर्ण पारिनेछ, र मानिसहरूको घमण्ड नम्र बनाइनेछ; त्यस दिन याहवेह मात्र उच्च पारिनुहुनेछ;
[18] अनि मूर्तिहरू सम्पूर्ण रूपले लोप हुनेछन्।
[19] जब पृथ्वी हल्लाउनलाई याहवेह उठ्नुहुन्छ, तब उहाँको डर र उहाँको वैभवको प्रतापबाट मानिसहरू चट्टानका गुफाहरूतिर र पृथ्वीका प्वालहरूभित्र पस्नेछन्।
[20] त्यस दिन मानिसहरूले आफ्ना लागि पुज्न भनी बनाएका चाँदीका मूर्तिहरू र सुनका मूर्तिहरू छुचुन्द्रा र चमेराहरूको अगि फालिदिनेछन्।
[21] याहवेहले पृथ्वीलाई हल्लाउनलाई उठ्नुहुँदा उहाँको डर र उहाँको वैभवको प्रतापबाट तिनीहरू चट्टानका कन्दराहरूतिर र चट्टानका धाँदाहरूभित्र भागेर जानेछन्।
[22] नाकको प्वालमा सास भएको मानिसमा भरोसा राख्न छोडिदेओ, त्यसको के मूल्य छ र?