[1] अहो, तपाईं आकाश च्यातेर तल ओर्ली आउनुभए त, पर्वतहरू पनि तपाईंको सामु काँप्ने थिए!
[2] आगोले झारपात जलाएझैँ र पानी उमालेझैँ, तपाईंको नाम तपाईंका शत्रुहरूलाई प्रकट गर्न, र जातिहरू तपाईंको उपस्थितिमा थरथर काँप्नलाई तपाईं ओर्लेर आउनुहोस्!
[3] किनकि जब तपाईंले हामीले नचिताएका अद्भुत कुराहरू गर्नुभयो, तब तपाईं तल आउनुभयो, र तपाईंको सामु पर्वतहरू थरथर कामे।
[4] प्राचीनकालदेखि नै तपाईंबाहेक अर्को परमेश्वरको बारेमा कसैले सुनेका छैनन्; कुनै कानले सुनेको छैन, कुनै आँखाले देखेको छैन; तपाईंले आफूमाथि प्रतीक्षा गर्नेहरूको निम्ति काम गर्नुहुन्छ।
[5] जसले खुशीसाथ ठिक काम गर्छन्, जसले तपाईंका मार्गहरू सधैँ सम्झन्छन्; तपाईं तिनीहरूको सहायताको निम्ति आउनुहुन्छ। तर जब हामीले तपाईंका मार्गहरूको विरुद्ध पाप गरिरह्यौँ, तब तपाईं हामीसित रिसाउनुभयो। अब हामी कसरी बचाइन सक्छौँ?
[6] हामी सबै अशुद्ध थोकझैँ भएका छौँ, र हाम्रा सबै धार्मिक कामहरू फोहोर झुत्राझैँ छन्; हामी सबै पातझैँ ओइलाइहाल्छौँ, र हाम्रा पापहरूले हामीलाई हावाझैँ उडाइलैजान्छन्।
[7] कसैले पनि तपाईंको नाम पुकार्दैनन्, न त तपाईंलाई पक्रिरहने उत्कट प्रयास गर्छन्; किनकि तपाईंले हामीबाट आफ्नो अनुहार लुकाउनुभएको छ, र हामीलाई हाम्रा पापहरूकै हातमा छोडिदिनुभएको छ।
[8] तापनि हे याहवेह, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौँ र तपाईं कुमाले हुनुहुन्छ; हामी सबै तपाईंकै हातका काम हौँ।
[9] हे याहवेह, हामीसित ज्यादै क्रोधित नहुनुहोस्; हाम्रा पापहरू सधैँभरि नसम्झनुहोस्। बिन्ती छ, हामीतिर हेर्नुहोस्; किनकि हामी सबै तपाईंका प्रजा हौँ।
[10] तपाईंका पवित्र सहरहरू मरुभूमि भएका छन्; सियोनसमेत मरुभूमि भएको छ, यरूशलेम ध्वस्त भएको छ।
[11] हाम्रा पवित्र र महिमित मन्दिर, जहाँ हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेका थिए, त्यो ठाउँ आगोले जलाइएको छ; अनि हाम्रा बहुमूल्य थोकहरू सबै सर्वनाश भएका छन्।
[12] यी सबै कुरा भएर पनि, हे याहवेह, के तपाईं आफूलाई रोकिराख्नुहुन्छ? के तपाईं चुपचाप रहनुहुन्छ र हामीलाई धेरै कष्ट दिनुहुन्छ?