Skip to content
Opens in a new window
Listen to this chapter • 3:04

[1] मरुभूमि र निर्जलभूमि खुशी हुनेछन्; उजाडस्थान रमाएर फक्रनेछ। र अति आनन्दित हुनेछन्; अनि केशरझैँ

[2] हर्षले फुल्नेछ; त्यो अति खुशी भएर आनन्दले कराउनेछ। लेबनानको महिमा; कर्मेल र शारोनको गौरव त्यसलाई दिइनेछ; तिनीहरूले याहवेहको महिमा र हाम्रा परमेश्‍वरको प्रताप देख्नेछन्।

[3] दुर्बल हातहरू बलियो बनाओ! कमजोर घुँडाहरू दह्रिला पार;

[4] हृदयमा डर बोकेकाहरूलाई भन, “बलियो होओ, नडराओ; तिमीहरूका परमेश्‍वर आउनुहुनेछ; उहाँ बदला लिन आउनुहुनेछ; उहाँ तिमीहरूलाई बचाउन ईश्‍वरीय प्रतिशोधसित आउनुहुनेछ।”

[5] तब अन्धाहरूका आँखा खोलिनेछन्; अनि बहिराहरूका कान बन्द रहनेछैनन्।

[6] तब लङ्गडाहरू मृगझैँ उफ्रनेछन्; अनि गुँगाहरूको जिब्रोले स्तुति गर्नेछ। उजाडस्थानमा पानी फुटेर निस्कनेछ; अनि मरुभूमिमा खोला बग्नेछ।

[7] तातो बालुवा ठूलो तलाउ बन्‍नेछ, तिर्खाएको जमिनमा कलकल गर्ने पानीका मूल फुट्नेछन्। कुनै समय स्याल बस्‍ने ठाउँमा घाँस, निगालो र काँस हुर्कनेछन्।

[8] त्यहाँ एउटा राजमार्ग हुनेछ; त्यसलाई पवित्रताको मार्ग भनिनेछ; अशुद्ध त्यसबाट भएर जानेछैन। तर त्यसबाट भएर हिँड्नेहरूका लागि मात्र त्यो हुनेछ; दुष्‍ट मूर्खहरू त्यसबाट भएर जानेछैनन्।

[9] त्यहाँ कुनै सिंह हुनेछैन, न त कुनै हिंसक पशु त्यहाँ पुग्न सक्नेछ; तिनीहरू त्यहाँ भेट्टाइनेछैनन्। तर छुटकारा पाएकाहरू मात्र त्यहाँ हिँड्नेछन्।

[10] याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्। तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्; तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ। तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्; अनि दुःख र सुस्केरा हराएर जानेछन्।

यशैया — Chapters