[1] त्यस दिन यहूदा देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ; परमप्रभुले हाम्रो सुरक्षाको लागि त्यसको भित्री र बाहिरी पर्खालहरू बनाउनुभएको छ।
[2] मूलढोकाहरू खोल, र धार्मिक जाति, विश्वास राख्ने जाति भित्र पसोस्।
[3] जसको मन तपाईंमा अडिएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ; किनकि त्यसले तपाईंमाथि भरोसा राख्छ।
[4] सदासर्वदा याहवेहमा भरोसा राख; किनकि याहवेह, याहवेह नै अनन्तका चट्टान हुनुहुन्छ।
[5] उहाँले उच्चमा बस्नेहरूलाई नम्र तुल्याउनुहुन्छ, उहाँले विशाल सहरलाई तल खसाल्नुहुन्छ; उहाँले त्यसलाई जमिनमा मिलाइदिनुहुन्छ, र धुलोमा फालिदिनुहुन्छ।
[6] खुट्टाले त्यसलाई कुल्चिन्छ, थिचोमिचोमा परेकाहरूका खुट्टाले र गरिबका पाइलाले कुल्चीमिल्ची पार्नेछन्।
[7] धर्मी जनको मार्ग समतल हुन्छ; हे धर्मी प्रभु, तपाईंले नै धर्मी जनको मार्ग समतल तुल्याउनुहुन्छ।
[8] हो, हे याहवेह, तपाईंका व्यवस्थाको मार्गमा हिँड्दै, हामी तपाईंको प्रतीक्षा गर्छौँ; तपाईंको नाम र ख्याति नै हाम्रा हृदयका इच्छा हुन्।
[9] राति मेरो प्राणले तपाईंको चाहना गर्दछ; बिहान मेरो आत्माले तपाईंको चाहना गर्छ। तपाईंका न्याय पृथ्वीमा आउँदा, संसारका मानिसहरूले धार्मिकता सिक्छन्।
[10] दुष्टहरूलाई अनुग्रह देखाइए तापनि तिनीहरूले धार्मिकता सिक्दैनन्। सोझाहरूको देशमा पनि तिनीहरू दुष्टता गरिनै रहन्छन्, र याहवेहको महानताको कदर गर्दैनन्।
[11] हे याहवेह, तपाईंको हात माथि उचालिएको छ, तर तिनीहरूले त्यो देख्दैनन्। तिनीहरूले तपाईंका मानिसहरूप्रति तपाईंको जोश देखून्, र शर्ममा परून्; तपाईंका शत्रुहरूका निम्ति साँचिएको आगोले तिनीहरूलाई भस्म पारोस्।
[12] याहवेह, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुन्छ; हामीले पाएका सबै उपलब्धीहरू, ती सबै तपाईंले हाम्रै निम्ति गर्नुभएको हो।
[13] हे याहवेह, हाम्रा परमेश्वर, तपाईंबाहेक अरू प्रभुहरूले हामीमाथि शासन गरे, तर तपाईंको नामलाई मात्र हामी आदर गर्छौँ।
[14] तिनीहरू अब मरेर गएका छन्, तिनीहरू फेरि बाँच्नेछैनन्; ती गइसकेका आत्माहरू उठ्दैनन्। तपाईंले तिनीहरूलाई दण्ड दिनुभयो र तिनीहरूलाई सर्वनाश पार्नुभयो; तपाईंले तिनीहरूको सबै सम्झना मेटिदिनुभयो।
[15] हे याहवेह, तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ; तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ। तपाईंले आफ्नै महिमा लिनुभएको छ; तपाईंले देशका सबै सिमानाहरू फराकिलो पार्नुभएको छ।
[16] हे याहवेह, सङ्कष्टमा तिनीहरू तपाईंकहाँ आए; तपाईंले तिनीहरूलाई ताडना दिनुहुँदा तिनीहरूले मुस्किलले प्रार्थना गर्न सके।
[17] बालक जन्माउन आँटेकी स्त्री छटपटाउँदै कष्टमा कराएझैँ, हामी पनि हे याहवेह, तपाईंको उपस्थितिमा त्यस्तै भएका थियौँ।
[18] हामीले गर्भधारण गर्यौँ, हामी कष्टमा छटपटायौँ, तर हामीले त बतास मात्र जन्मायौँ। हामीले पृथ्वीमा मुक्ति ल्याएका छैनौँ, न त हामीले संसारका मानिसहरूलाई नै जन्मायौँ।
[19] तर तपाईंका मरेकाहरू जिउनेछन्; तिनीहरूका शरीरहरू उठ्नेछन्। तिमीहरू धुलोमा बस्नेहरू, जाग र आनन्दले कराऊ; तपाईंका शीत बिहानका शीतझैँ छन्; पृथ्वीले आफ्नो मृतकहरूलाई जन्म दिनेछ।
[20] हे मेरा मानिस हो, जाओ, आफ्ना कोठाभित्र पस, र पछिल्तिरबाट ढोका बन्द गर; उहाँको क्रोध शान्त नहोउन्जेल केही समयका निम्ति लुकिबस।
[21] हेर, पृथ्वीका मानिसहरूलाई तिनीहरूका पापका निम्ति दण्ड दिनलाई, याहवेह आफ्ना वासस्थानबाट बाहिर निस्की आउनुहुँदैछ। पृथ्वीले त्यसमाथि बगाएको रगत देखाइदिनेछ; त्यसले अब आफ्ना मृतकहरूलाई अझै लुकाइराख्नेछैन।