Skip to content
Opens in a new window
Listen to this chapter • 4:55

[1] यिशैको ठुटाबाट एउटा टुसा पलाउनेछ; त्यसका जराहरूबाट एउटा हाँगाले फल फलाउनेछ।

[2] याहवेहका आत्मा उहाँमा रहनुहुनेछ; बुद्धि र समझका आत्मा, सल्‍लाह र शक्तिका आत्मा, ज्ञान र याहवेहको भयको आत्मा,

[3] र उहाँ याहवेहको भयमा प्रसन्‍न हुनुहुनेछ। उहाँले आफ्ना आँखाले देखेअनुसार न्याय गर्नुहुनेछैन, अथवा आफ्ना कानले सुनेअनुसार निर्णय लिनुहुनेछैन;

[4] तर उहाँले खाँचोमा परेकाहरूको न्याय धार्मिकतासित गर्नुहुनेछ; पृथ्वीका गरिबहरूका निम्ति न्यायसित उहाँले निर्णय दिनुहुनेछ। उहाँले पृथ्वीलाई आफ्नो मुखको वचनले प्रहार गर्नुहुनेछ; आफ्ना ओठको सासले उहाँले दुष्‍टलाई मार्नुहुनेछ।

[5] धार्मिकता उहाँको कम्मरको पेटी हुनेछ; अनि विश्‍वासयोग्यता उहाँको पटुका हुनेछ।

[6] ब्वाँसो थुमासँग बस्‍नेछ, र चितुवा बाख्रासित ढल्कनेछ; बाछा र सिंह एकसाथ रहनेछन्; र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ।

[7] गाई र भालु एकैसाथ चर्नेछन्; तिनीहरूका बच्‍चाहरू एकैसाथ ढल्किनेछन्; सिंहले गोरुले झैँ पराल खानेछ।

[8] दुधे-बालक गोमन सर्पको दुलोको छेउमा खेल्नेछ; र शिशुले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ।

[9] मेरा सम्पूर्ण पवित्र पर्वतमा तिनीहरूले न हानि गर्नेछन्, न त नष्‍ट गर्नेछन्; किनकि समुद्र पानीले भरिएझैँ, याहवेहको ज्ञानले पृथ्वी भरिनेछ।

[10] त्यस दिन जातिहरूका बीचमा यिशैको वंशबाट एउटा झण्डाजस्तै खडा हुनेछ; जातिहरू उहाँकहाँ भेला हुनेछन् र उहाँको विश्रामस्थल महिमामय हुनेछ।

[11] त्यस दिन अश्शूर, इजिप्टको तल्‍लो भाग, माथिल्‍लो इजिप्ट, पत्रोस, कूश, एलाम, बेबिलोन, हमात र भुमध्यसागरका टापुहरूबाट उहाँको बाँचेको भागलाई लैजानका निम्ति प्रभुले दोस्रोपल्ट आफ्नो हात पसार्नुहुनेछ।

[12] उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, र देशबाट निकालिएका इस्राएलीहरूलाई बटुल्नुहुनेछ; उहाँले पृथ्वीका चारै छेउहरूबाट तितरबितर भएका यहूदाका मानिसहरूलाई भेला गराउनुहुनेछ।

[13] एफ्राइमको डाह लोप हुनेछ; अनि यहूदाका शत्रुहरू नाश हुनेछन्; एफ्राइमले यहूदासित डाह गर्नेछैन, र यहूदाले एफ्राइमसित शत्रुता राख्नेछैन।

[14] तिनीहरू पलिश्तीको पश्‍चिमी भिरमा झम्टेर जानेछन्; तिनीहरूले एकसाथ पूर्वतिरका मानिसहरूलाई लुट्नेछन्। तिनीहरूले एदोम र मोआबलाई हराउनेछन्; अनि अम्मोनीहरू तिनीहरूको अधीनमा हुनेछन्।

[15] याहवेहले इजिप्टको सामुन्द्रिक खाडीलाई सुकाइदिनुहुनेछ; उहाँले प्रचण्ड बतासले यूफ्रेटिस नदीमाथि आफ्नो हात चलाउनुहुनेछ। मानिसहरू जुत्ता लगाएरै तर्न सकून् भनेर उहाँले त्यसलाई सात वटा खोलामा विभाजित गराइदिनुहुनेछ।

[16] इजिप्टबाट इस्राएल निस्केर आएको दिनजस्तै अश्शूरबाट आउने उहाँको बचेको भागका मानिसहरूका निम्ति एउटा राजमार्ग हुनेछ।

यशैया — Chapters