[1] राजा हिजकियाको शासनको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका सबै सुरक्षित सहरहरूमाथि आक्रमण गरेर ती कब्जा गरे।
[2] तब अश्शूरका राजाले एउटा ठूलो सेनासहित आफ्नो मैदानका सेनापतिलाई लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए। जब ती सेनापति माथिल्लो पोखरीको नहरमा धोबीको खेत जाने बाटोमा रोकिए,
[3] तब महलका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ तिनीकहाँ गए।
[4] मैदानका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन्नू: “ ‘महान् राजा, अश्शूरका राजा, यसो भन्नुहुन्छ: तपाईंले आफ्नो भरोसा कुन आधारमाथि राख्नुभएको छ?
[5] तपाईं भन्नुहुन्छ तपाईंसित लडाइँको रणनीति र सैन्य-बल छ। तपाईं खोक्रो कुरा गर्नुहुन्छ। तपाईं कसमाथि भरोसा गरेर मेरो विरुद्धमा बागी हुनुभएको छ?
[6] अब हेर्नुहोस्, तपाईं इजिप्टमाथि भर पर्नुभएको छ। त्यो एउटा दुर्बल निगालो मात्र हो, जसले मानिसको हात मात्र घोच्छ, र त्यसमाथि अडेस लाग्नेलाई चोट मात्र लाग्छ! इजिप्टका राजा फारोमाथि भर पर्ने जोसुकैको निम्ति पनि यस्तै हुन्छ।
[7] तपाईंले मलाई “हामी याहवेह हाम्रा परमेश्वरमाथि भरोसा राख्छौँ” भन्नुहुन्छ भने के त्यो त्यही देवता होइन, जसका अल्गा देवस्थानहरू र वेदीहरू हिजकियाले हटाएर यहूदा र यरूशलेमलाई “तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ” भनेका थिए?
[8] “ ‘यसकारण अब मेरा मालिक अश्शूरका राजासित लेनदेन गर्नुहोस्। म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु तपाईंले तीमाथि सवार गर्नेहरू जुटाउन सक्नुहुन्छ भने!
[9] तपाईं रथहरू र घोडचढीहरूका निम्ति इजिप्टमाथि भर परिरहनुभएको छ भने मेरा मालिकका अधिकृतहरूमध्ये सबैभन्दा सानोलाई कसरी अस्वीकार गर्नुहुन्छ?
[10] यसबाहेक के म याहवेहविना नै यस देशमाथि आक्रमण गरेर यसलाई नाश गर्न आएको छु र? याहवेह स्वयम्ले मलाई यस देशको विरुद्धमा आक्रमण गरेर नाश गर्नू भन्नुभएको छ।’ ”
[11] तब एल्याकीम, शेब्ना र योआले मैदानका सेनापतिलाई भने, “कृपा गरी आफ्ना सेवकहरूसित अरामी भाषामा कुरा गर्नुहोस्। किनकि हामी यो भाषा बुझ्दछौँ। पर्खालमाथि भएका मानिसहरूले सुन्ने गरी हिब्रू भाषामा नबोलिदिनुहोस्।”
[12] तर सेनापतिले जवाफ दिए, “के मेरा मालिकले यी कुराहरू तिमीहरूका मालिक र तिमीहरूलाई मात्र भन्नु भनेर पठाउनुभएको हो, र पर्खालमाथि बस्ने मानिसहरूलाई होइन—जसले तिमीहरूले झैँ आफ्नै दिसा खानुपर्नेछ र पिसाब पिउनुपर्नेछ?”
[13] तब ती सेनापतिले उठेर कराएर हिब्रूमा भने, “महान् राजा, अश्शूरका राजाका कुरा सुन!
[14] राजा यसो भन्नुहुन्छ, हिजकियाले तिमीहरूलाई छल्न नपाऊन्। तिनले तिमीहरूलाई मेरा हातबाट छुटाउन सक्नेछैनन्।
[15] हिजकियाले तिमीहरूलाई याहवेहमाथि भरोसा गर्नलाई यसो भन्दै धोका दिन नपाऊन्, ‘याहवेहले निश्चय हामीलाई छुटाउनुहुनेछ। यो सहर अश्शूरका राजाका हातमा दिइनेछैन।’
[16] “हिजकियाको कुरा नसुन्नू। अश्शूरका राजा भन्नुहुन्छ: मसित मिलाप गरेर बाहिर मकहाँ आओ। तब तिमीहरू प्रत्येकले आफ्नै दाख र नेभाराको फलबाट खानेछौ र आफ्नै इनारबाट पिउनेछौ।
[17] जबसम्म म आएर तिमीहरूलाई तिमीहरूकै आफ्नै देशजस्तो ठाउँमा—अन्न र नयाँ दाखमद्यको देशमा—रोटी र दाखबारी भएको देशमा लैजान्नँ।
[18] “हिजकियाले तिमीहरूलाई, ‘याहवेहले हामीलाई बचाउनुहुन्छ’ भनेर भ्रममा नपारून्। के आजसम्म कुनै जातिको देवताले आफ्नो देशलाई अश्शूरका राजाको हातबाट छुटाउन सकेको छ?
[19] हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेमका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाउन सके?
[20] यी देशहरूका कुन देवताले आफ्नो देशलाई मबाट बचाउन सकेको छ र? त्यसो भए कसरी याहवेहले मेरो हातबाट यरूशलेमलाई छुटाउन सक्नुहुन्छ?”
[21] तर मानिसहरू चुप रहे अनि जवाफमा केही भनेनन्, किनकि राजाले तिनीहरूलाई, “त्यसलाई कुनै जवाफ नदिनु” भनेर आज्ञा दिएका थिए।
[22] तब हिल्कियाहका छोरा एल्याकीम, जो महलका प्रशासक थिए, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ आफ्ना लुगा च्यातेर हिजकियाहकहाँ गए। अनि तिनलाई मैदानका सेनापतिले भनेका कुरा सुनाइदिए।