Skip to content
Opens in a new window
Listen to this chapter • 4:20

[1] सेलाबाट सियोनका छोरीहरूको पर्वतमा देशका शासककहाँ सौगातको रूपमा थुमाहरू पठाओ।

[2] अर्नोनका जँघारमा सियोनका स्त्रीहरू, गुँडबाट धपाइएर यताउता उडिरहने चराहरूझैँ भएका छन्।

[3] मोआबले भन्छ, “हामीलाई सल्‍लाह देओ, एउटा निर्णय लेओ। मध्यदिनमा तिम्रो छाया रातझैँ बनाओ! भगुवाहरूलाई लुकाओ, शरणार्थीहरूलाई धोका नदेओ!

[4] मोआबी भगुवाहरूलाई तिमीहरूसित बस्‍न देओ; नाश गर्नेहरूको सामु तिनीहरूका निम्ति आश्रय बनिदेओ।” थिचोमिचो गर्नेहरूको अन्त्य हुनेछ, र सर्वनाश समाप्‍त हुनेछ; आक्रमणकारी देशबाट लोप हुनेछ।

[5] प्रेममा एउटा सिंहासन स्थापित हुनेछ; त्यसमा दावीदको घरानाबाट विश्‍वासयोग्य एक मानिस विराजमान हुनुहुनेछ; उहाँले न्याय गर्दा निष्पक्षतासाथ गर्नुहुनेछ; र धार्मिकतामा काम गर्न ढिलो गर्नुहुनेछ।

[6] हामीले मोआबको अहङ्कारको कुरा सुनेका छौँ, त्यसका प्रचण्ड अहङ्कार र आत्मभिमान, त्यसको अभिमान, घमण्ड र त्यसको धाक; तर त्यसका घमण्डहरू खोक्रा छन्।

[7] यसकारण मोआबीहरू विलाप गर्नेछन्; तिनीहरू एकसाथ मोआबकै निम्ति विलाप गर्नेछन्। कीर-हरेशेतका किसमिसका निम्ति विलौना र शोक गर।

[8] हेश्बोनका खेतहरू र सिब्माका दाखहरू पनि ओइलाउँछन्। जातिहरूका शासकहरूले अति सुन्दर दाखहरू कुल्चेका छन्, जो एक समय याजेरसम्म नै पुगेका थिए; अनि मरुभूमिभरि फैलिएका थिए। तिनीहरूका टुसाहरू फैलिएर समुद्रसम्म पुगेका थिए।

[9] यसकारण सिब्माका दाखहरूका निम्ति याजेर रोएझैँ म रुन्छु। हे हेश्बोन, हे एलाले, म तँलाई आँसुले भिजाउँछु! तेरा पाकेको फलहरूका निम्ति निकालिएका आनन्दका चीत्कारहरू चकमन्‍न पारिएका छन्।

[10] फलका बगैँचाहरूबाट हर्ष र आनन्द लगिएका छन्; दाखबारीहरूमा कसैले पनि गाउँदैन, न त कराउँछ; कसैले पनि कोमल दाखमद्य कोलमा पेल्दैन; किनकि मैले हर्षको आवाज समाप्‍त गरिदिएको छु।

[11] मेरो हृदयले मोआबका निम्ति, र मेरो अन्तस्करणले कीर-हरेशेतका निम्ति वीणाले झैँ विलाप गर्दछ।

[12] मोआब आफ्नो पूजाको अग्ला ठाउँहरूमा देखा पर्दा, ऊ आफूभित्र खिन्‍न मात्र हुन्छ; आफ्नो पवित्रस्थानमा प्रार्थना गर्न जाँदा, त्यसलाई केही फाइदा हुँदैन।

[13] मोआबको विषयमा पहिल्यै भन्‍नुभएको याहवेहको वचन यही हो।

[14] तर अब याहवेह भन्‍नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले आफ्ना दिनहरू गनेझैँ, तीन वर्षभित्रमा मोआबको गौरव र त्यसका सबै मानिसहरू तुच्छ ठहरिनेछन्; अनि त्यसका बाँचेकाहरू अति थोरै र कमजोर हुनेछन्।”

यशैया — Chapters