[1] “हे बेबिलोनकी कन्ये छोरी, तल गएर धुलोमा बस्; बेबिलोनीहरूकी छोरी, सिंहासनविना नै भुइँमा बस्। अब उसो तँ कलिलो र कोमल भनिनेछैनस्।
[2] जाँतो लिएर पिठो पिँध्; आफ्नो घुम्टो निकाल्। तेरो फरिया माथि सार्, नाङ्गो जाँघ नछोपी खोलाहरू तर्।
[3] तेरो नग्नता उघारिनेछ, र तेरो लाज प्रकट हुनेछ। म बदला लिनेछु; एउटैलाई पनि म बाँकी छोड्नेछैनँ।”
[4] हाम्रा उद्धारकको नाम सेनाहरूका याहवेह हो। उहाँ इस्राएलका पवित्र परमेश्वर हुनुहुन्छ।
[5] “बेबिलोनीहरूकी छोरी, चुपचाप बस्, अन्धकारभित्र जा; अब उसो तँलाई राज्यहरूकी रानी भनिनेछैन।
[6] म आफ्ना मानिसहरूसित रिसाएको थिएँ, र मैले आफ्नो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ; मैले तिनीहरूलाई तेरो हातमा दिएँ, तर तैँले तिनीहरूलाई दया देखाइनस्; वृद्धहरूमाथि पनि तैँले गह्रौँ जुवा लादिदिइस्।
[7] तैँले, ‘म सदाको निम्ति अनन्तकी रानी भइरहनेछु’ भनिस्; तर तैँले यी कुराहरू विचार गरिनस्, अथवा के होला भनी ध्यान दिइनस्।
[8] “आफ्नो सुरक्षामा आराम गरिरहने र आफूलाई, ‘म नै हुँ, मबाहेक अरू कोही पनि छैन। म कहिल्यै विधवा हुनेछैनँ, न त छोराछोरी नै गुमाउनेछु’ भनी ठान्ने हे विलासी, अब सुन्।
[9] यी दुवै कुराहरू, छोराछोरीको वियोग र विधवापन एकै दिनमा तँमाथि आइपर्नेछ। तेरा धेरै तन्त्रमन्त्रहरू र सबै शक्तिशाली टुनामुनाहरू हुँदा-हुँदै पनि ती तँमाथि पूर्ण रूपले आइपर्नेछन्।
[10] तैँले आफ्नो दुष्टतामाथि भरोसा राखेकी छेस्, र ‘मलाई कसैले देख्नेछैन’ भनेकी छेस्। तैँले आफूलाई, ‘म नै हुँ, र मबाहेक अरू कोही पनि छैन’ भनेकी छेस्; तेरो बुद्धि र ज्ञानले तँलाई कुबाटोमा लगेको छ।
[11] विपत्ति तँमाथि आइपर्नेछ; त्यसलाई तैँले हटाउन जान्नेछैनस्। प्रकोप तँमाथि आउनेछ, जसलाई तैँले मोल तिरेर पनि भगाउन सक्दिनस्; तैँले पहिलेबाटै देख्न नसकेको प्रलय तँमाथि अचानक आइपर्नेछ।
[12] “तैँले बाल्यकालदेखि परिश्रम गर्दैआएको टुनामुना र तेरा धेरै तन्त्रमन्त्रमा नै लागिबस्। सायद तँ सफल हुनेछेस्, सायद तैँले आतङ्कित पार्न सक्छेस् कि!
[13] तैँले सुनेका सबै सल्लाहहरूले तँलाई खिन्न मात्र पारेको छ! तेरा ज्योतिषीहरू अगि आऊन्; ती तारा हेर्नेहरू, जसले महिनैपिच्छे भविष्यका कुरा भन्छन्, तिनीहरूले तँमाथि आउन लागेको कुराहरूबाट तँलाई बचाऊन्।
[14] तिनीहरू निश्चय नै ठुटाझैँ हुन्; आगोले तिनीहरूलाई जलाइदिनेछ। तिनीहरूले आफूलाई ज्वालाको शक्तिबाट बचाउनसमेत सक्दैनन्। यो कसैलाई न्यानो पार्ने कोइला होइन; न त नजिक बस्ने आगो नै हो।
[15] तिनीहरूले तँलाई गर्न सक्ने यति नै हो— तिनीहरू जोसित तैँले परिश्रम गरिस् र तेरो बाल्यकालदेखि नै कारोबार गरिस्। तिनीहरू हरेक आफ्नै गल्तीमा लागि बस्छन्; तँलाई बचाउन सक्ने कोही पनि हुनेछैन।