[1] धिक्कार तँ नाशकर्तालाई, जो नष्ट पारिएको छैनस्! धिक्कार तँ विश्वासघातीलाई, जसले धोका पाएको छैनस्! जब तैँले नष्ट गर्न छोड्छस्, तब तँ नष्ट पारिनेछस्; जब तैँले विश्वासघात गर्न छोड्छस्, तब तिनीहरूले तँसँग विश्वासघात गर्नेछन्।
[2] हे याहवेह, हामीप्रति अनुग्रही हुनुहोस्; हामी तपाईंको बाटो हेरिरहन्छौँ; हरेक बिहान हाम्रो सामर्थ्य र विपत्तिमा हाम्रो मुक्ति बन्नुहोस्।
[3] तपाईंको सेनाको गर्जनको आवाजमा मानिसहरू भाग्छन्; तपाईं खडा हुनुहुँदा राष्ट्रहरू तितरबितर हुन्छन्।
[4] हे राष्ट्रहरू हो, तिमीहरूका लुटका सामान सलहहरूले झैँ कटनी गरिएको छ; मानिसहरू लुटका सामानमा सलहका बथानझैँ झम्टन्छन्।
[5] याहवेह अति महान् हुनुहुन्छ; किनकि उहाँ उच्च स्थानमा विराजमान हुनुहुन्छ; उहाँले सियोनलाई न्याय र धार्मिकताले भरिदिनुहुनेछ।
[6] उहाँ तिमीहरूका समयमा तिमीहरूका दृढ जग; मुक्ति, बुद्धि र ज्ञानका मूल्यवान् भण्डार हुनुहुनेछ; याहवेहको भय नै यस भण्डारको साँचो हो।
[7] हेर, तिनीहरूका वीर मानिसहरू सडकहरूमा जोडसित रुन्छन्; शान्तिका दूतहरू धुरुधुरु रुन्छन्।
[8] राजमार्गहरू त्यागिएका छन्; बाटोमा कुनै यात्री छैन। सन्धि तोडिएको छ; त्यसका गवाहीहरूलाई घृणा गरिन्छ; कसैको आदर छैन।
[9] देशले विलाप गर्छ र चिन्तामा छ; लेबनान लज्जित भएर ओइलाउँछ; शारोन अराबाझैँ छ, बाशान र कर्मेलले आफ्ना पातहरू झार्छन्।
[10] “अब म उठ्नेछु” याहवेह भन्नुहुन्छ। “अब म उच्च पारिनेछु; अब म उचालिनेछु।
[11] तिमीहरूले भुसलाई गर्भधारण गर्छौ, तिमीहरूले पराल जन्माउँछौ; तिमीहरूका सास तिमीहरूलाई नै भस्म पार्ने आगो हो।
[12] मानिसहरू चून जलेझैँ जल्नेछन्; काटिएका काँडाघारी आगोमा जलाइएझैँ तिनीहरू जलाइनेछन्।”
[13] हे टाढा-टाढाका मानिसहरू हो, मैले के-के गरेको छु, सो कुरा सुन! तिमीहरू नजिक हुनेहरू, मेरो सामर्थ्य स्वीकार गर!
[14] सियोनमा भएका पापीहरू आतङ्कित छन्; भक्तिहीनलाई कम्पनले समातेको छ; “हामीमध्ये को भस्म पार्ने आगोको साथमा बस्न सक्ला? हामीमध्ये को अनन्तको जलनसित बस्न सक्ला?”
[15] त्यही मानिस, जो धार्मिकतामा चल्छ, र जे ठिक छ, त्यही बोल्छ; जसले लुटको लाभलाई इन्कार गर्छ, र आफ्नो हातलाई घूस लिनबाट अलग राख्छ, जसले हत्याको षड्यन्त्रको विरुद्ध आफ्ना कान बन्द गर्छ, र आफ्ना आँखा दुष्टता हेर्नबाट बन्द गर्छ;
[16] यस्तो मानिस उच्च स्थानहरूमा वास गर्नेछ, जसको शरणस्थान पहाडको किल्ला हुनेछ। त्यसलाई रोटी जुटाइनेछ, र त्यसलाई पानीको अभाव हुनेछैन।
[17] तेरा आँखाले राजालाई उहाँको सुन्दरतामा देख्नेछ, र टाढासम्म फैलिएको देशलाई देख्नेछ।
[18] तेरा विचारहरूमा तैँले पहिलेका आतङ्क सोच्नेछस्: “त्यो प्रमुख अधिकृत कहाँ छ? कर असुल गर्ने खोइ? धरहराहरूको जिम्मामा रहेका अधिकृत कहाँ छन्?”
[19] तैँले ती घमण्डी मानिसहरूलाई अब उसो देख्नेछैनस्; ती अस्पष्ट बोली भएका मानिसहरूलाई, जसको बोली बुझिँदैन।
[20] हाम्रा चाडहरूको सहर, सियोनलाई हेर; तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछ; एउटा शान्तिपूर्ण वासस्थान, त्यो पाललाई सारिनेछैन; त्यसका किलाहरू कहिल्यै उखेलिनेछैनन्; न त त्यसका कुनै डोरी चुँडाइनेछ।
[21] त्यहाँ याहवेह हाम्रो पराक्रमी परमेश्वर हुनुहुनेछ। त्यो चौडा नदीहरू र खोलाहरू भएको ठाउँजस्तै हुनेछ। पतवारले चलाइने कुनै युद्ध जहाज त्यहाँ चल्नेछैन; कुनै शक्तिशाली जहाज त्यहाँबाट भएर चल्नेछैन।
[22] किनकि याहवेह हाम्रा न्यायकर्ता हुनुहुन्छ; याहवेह हाम्रो व्यवस्थादाता हुनुहुन्छ; याहवेह हाम्रा राजा हुनुहुन्छ; हामीलाई बचाउनुहुने उहाँ नै हुनुहुन्छ।
[23] तेरा डोरीहरू खुकुला भएका छन्: मस्तुल सुरक्षित राखिएको छैन, पाल फिँजिएको छैन। तब लुटका प्रशस्त माल बाँडिनेछ, र लङ्गडाहरू समेतले लुटको माल लैजानेछन्।
[24] सियोनमा बस्ने कसैले पनि, “म बिरामी छु” भन्नेछैन; अनि त्यहाँ बस्नेहरू सबैका पाप क्षमा गरिनेछन्।