[1] इजिप्टको विरुद्धमा भविष्यवाणी: हेर, याहवेह तेजिलो बादलमा सवार भएर इजिप्टमा आउँदैहुनुहुन्छ। इजिप्टका मूर्तिहरू उहाँको सामु थरथर काँप्छन्; अनि इजिप्टियनहरूका हृदय भित्रभित्रै पग्लन्छन्।
[2] “म इजिप्टियनहरूलाई इजिप्टियनहरूकै विरुद्धमा सुर्याउनेछु— दाजुभाइहरू आपसमा लडाइँ गर्नेछन्— छिमेकीको विरुद्ध छिमेकी, सहरको विरुद्ध सहर, राज्यको विरुद्ध राज्य।
[3] इजिप्टियनहरू निराश हुनेछन्, र म तिनीहरूको योजना विफल गराउनेछु; तिनीहरूले मूर्तिहरू र मरेकाहरूका आत्मासित, तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्लाह लिनेछन्।
[4] म इजिप्टियनहरूलाई निर्दयी मालिकको अधीनमा सुम्पिदिनेछु, र एउटा निर्दयी राजाले तिनीहरूमाथि शासन गर्नेछ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
[5] नदीका पानी सुकेर जानेछन्, र त्यो नदीको सतह घटेर सुक्खा हुनेछ।
[6] नहरहरू गन्हाउनेछन्; इजिप्टका खोलाहरू घटेर सुकिजानेछन्। निगालो र काँस ओइलाउनेछन्।
[7] नील नदीका किनारका र नदीका नजिकै भएका बिरुवाहरू पनि ओइलाउनेछन्। नील नदीका किनारमा लगाएका प्रत्येक बाली सुकेर जानेछ, र ती बतासले उडाएर लैजानेछ।
[8] सबै मछुवाहरू सुस्केरा मार्दै विलाप गर्नेछन्, जो नील नदीमा जाल हान्छन्; पानीमा जाल हान्नेहरू दुःखित हुनेछन्।
[9] कपडा बनाउनेहरू निराश हुनेछन्, मसिनो सनपाट बुन्नेहरूले आशा मार्नेछन्।
[10] कपडा बुन्नेहरू उदास हुनेछन्, र ज्यालामा काम गर्नेहरू सबैको हृदय दुःखित हुनेछ।
[11] सोअनका अधिकृतहरू सबै मूर्ख छन्; फारोका बुद्धिमानी सल्लाहकारहरूले अर्थहीन सल्लाह दिन्छन्। तिमीहरूले फारोलाई, “म बुद्धिमानी मानिसहरूमध्ये एक हुँ, प्राचीन राजाहरूको एक चेला हुँ” भनेर कसरी भन्न सक्छौ?
[12] तेरा बुद्धिमान् मानिसहरू अहिले कहाँ छन्? इजिप्टको विरुद्ध सेनाहरूका याहवेहले कस्तो योजना गर्नुभएको छ भनी तिनीहरूले तँलाई देखाऊन्।
[13] सोअनका अधिकृतहरू मूर्ख भएका छन्; मेम्फिसका अगुवाहरू धोकामा परेका छन्; त्यसका मानिसहरूका कुने-ढुङ्गाहरूले इजिप्टलाई बहकाएका छन्।
[14] याहवेहले तिनीहरूलाई विचलित गराउने आत्मा खन्याइदिनुभएको छ; मतवाला आफ्नो बान्ताको वरिपरि धरमरिएझैँ; तिनीहरूले इजिप्टलाई आफूले गरेका सबै काममा ढलपल गर्ने तुल्याएका छन्।
[15] इजिप्टले गर्न सक्ने केही छैन— चाहे शिर होस् वा पुच्छर, खजूरको हाँगा होस् वा निगालो।
[16] त्यस दिन इजिप्टियनहरू कमजोर स्त्रीहरूझैँ हुनेछन्। तिनीहरू सेनाहरूका याहवेहले तिनीहरूको विरुद्ध उठाउनुभएको हात देखेर डरले काँप्नेछन्।
[17] तिनीहरूको विरुद्ध सेनाहरूका याहवेहले जुन योजना बनाउनुहुँदैछ, त्यसको कारण यहूदाको देशले इजिप्टियनहरूमा आतङ्क ल्याउनेछ, यहूदाको नाम सुनेर हरेक आतङ्कित हुनेछन्।
[18] त्यस दिन इजिप्टका पाँच वटा सहरहरूले कनानको भाषा बोल्नेछन्, र सेनाहरूका याहवेहप्रति आफ्नो भक्तिको शपथ खानेछन्। तीमध्ये एउटालाई सर्वनाशको सहर भनिनेछ।
[19] त्यस दिन इजिप्टको बीचमा याहवेहको निम्ति एउटा वेदी हुनेछ, र त्यसको सिमानामा याहवेहको निम्ति एउटा स्मारक खडा गरिनेछ।
[20] त्यो इजिप्टमा सेनाहरूका याहवेहको निम्ति एउटा चिन्ह र साक्षी हुनेछ। आफ्ना अत्याचारीहरूको कारण तिनीहरूले याहवेहलाई पुकार्दा, उहाँले तिनीहरूलाई एक जना उद्धारकर्ता र रक्षक पठाउनुहुनेछ; अनि उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ।
[21] यसरी याहवेहले आफूलाई इजिप्टियनहरूकहाँ चिनाउनुहुनेछ; अनि त्यस दिन तिनीहरूले याहवेहलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदान र अन्नबलिले पुज्नेछन्; तिनीहरूले याहवेहमा भाकल गर्नेछन् र ती पूरा गर्नेछन्।
[22] याहवेहले इजिप्टमाथि विपत्तिले प्रहार गर्नुहुनेछ; उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ र निको पार्नुहुनेछ। तिनीहरू याहवेहतिर फर्कनेछन्, र उहाँले तिनीहरूका बिन्ती सुनेर तिनीहरूलाई निको पार्नुहुनेछ।
[23] त्यस दिन इजिप्टदेखि अश्शूरसम्म एउटा राजमार्ग हुनेछ। अश्शूरीहरू इजिप्टमा आउनेछन्, र इजिप्टियनहरू अश्शूरमा जानेछन्; अनि इजिप्टियनहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्।
[24] त्यस दिन इजिप्ट र अश्शूरको साथमा इस्राएल पृथ्वीमा एउटा आशिष्को तेस्रो देश बन्नेछ।
[25] सेनाहरूका याहवेहले यसो भनेर तिनीहरूलाई आशिष् दिनुहुनेछ, “इजिप्ट मेरो प्रजा, अश्शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्यका होऊन्।”