Skip to content
Opens in a new window
Listen to this chapter • 4:44

[1] राजा लमूएलका नीतिवचन, जुन तिनका आमाले तिनलाई सिकाएकी थिइन्—एक ईश्‍वरवाणी।

[2] हे मेरा छोरा, सुन्! हे मेरा गर्भका छोरा, सुन्! हे मेरो छोरा, प्रार्थनाहरूका जवाफ सुन्!

[3] तेरो आफ्नो सम्पूर्ण बल स्त्रीहरूलाई दिएर नसक्; तेरो शक्ति तिनीहरूलाई नदे, जसले राजाहरूलाई पतन गराउँछन्।

[4] यो कुरा राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले मद्यपान गर्नुहुन्‍न, शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न,

[5] कतै तिनीहरूले पिएर कानुनलाई बेवास्ता गर्लान्, र थिचोमिचोमा परेकाहरूलाई तिनीहरूका अधिकारबाट वञ्चित गर्लान्।

[6] तिनीहरूलाई मदिरा दे, जो नष्‍ट भइरहेका छन्; तिनीहरूलाई मद्यपान दे, जो वेदनामा परेका छन्।

[7] तिनीहरूले पिऊन् र आफ्नो गरिबी बिर्सून्, अनि आफ्ना वेदना कहिल्यै नसम्झून्।

[8] आफ्ना निम्ति बोल्न नसक्नेहरूका निम्ति, र दुःख पाएकाहरूका अधिकारको निम्ति बोलिदे।

[9] आवाज उठा, र ठिकसित न्याय गर्, गरिब र खाँचोमा परेकाहरूको अधिकारको रक्षा गर्!

[10] असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।

[11] तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्; र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन।

[12] तिनले आफ्नो जीवनकालभरि नै खराब कुरा होइन, तर असल कुरा दिन्छिन्।

[13] तिनले ऊन र सनपाट चुन्छिन्, र इच्छुक हातले काम गर्छिन्।

[14] व्यापारीका जहाजहरूले जस्तै; तिनले टाढाबाट भोजन ल्याउँछिन्।

[15] मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्, आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्, र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्।

[16] तिनले विचार गरेर एउटा जमिन किन्छिन्, र आफ्नो कमाईबाट एउटा दाखबारी लगाउँछिन्।

[17] तिनले आफ्नो काम जोसका साथ गर्छिन्; आफ्नो कामको निम्ति तिनले आफ्ना पाखुराहरू बलियो पार्छिन्।

[18] तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्; र राति तिनको बत्ती निभ्दैन।

[19] तिनले आफ्नो हातले चर्खा चलाउँछिन्, र आफ्नो औँलाले पिउरी समाउँछिन्।

[20] तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्; र खाँचोमा परेकाहरूको निम्ति सहायताको हात बढाउँछिन्।

[21] हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्; किनकि तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्।

[22] तिनी आफैँले ओछ्यान ढाक्ने तन्‍ना बनाउँछिन्; तिनले असल सुती र बैजनी वस्त्र लगाएकी हुन्छिन्।

[23] उनका पतिलाई सहरको मूलढोकामा आदर गरिन्छ, जहाँ उनी देशका अगुवाहरूका बीचमा बस्छन्।

[24] तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्; र व्यापारीलाई पटुकाहरू उपलब्ध गराउँछिन्।

[25] तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्; भविष्यको निम्ति तिनी मुस्कुराउन सक्छिन्।

[26] तिनी बुद्धिसित बोल्छिन्; अनि तिनको जिब्रोमा विश्‍वासयोग्य अर्ती पाइन्छ।

[27] तिनले आफ्नो घरानाको कामधन्धाको हेरविचार गर्छिन्, र आलस्यपनको रोटी खाँदिनन्।

[28] तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्, तिनका पतिले पनि यस्तो भन्दै तिनको प्रशंसा गर्छन्:

[29] “धेरै स्त्रीहरूले असल काम गर्छन्; तर तिनीहरू सबैलाई तिमीले जितेकी छौ।”

[30] सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ; तर याहवेहको डर मान्‍ने स्त्रीको नै प्रशंसा हुनुपर्छ।

[31] तिनले कमाएको इनाम तिनलाई नै देऊ; र तिनका कामले सहरको ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।

हितोपदेश — Chapters