[1] छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ, तर ठिक ढकदेखि उहाँ प्रसन्न हुनुहुन्छ।
[2] जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ; तर नम्रतासँग बुद्धि आउँछ।
[3] धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ; तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।
[4] क्रोधको दिनमा धनसम्पत्ति कुनै काम लाग्दैन; तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
[5] निर्दोषहरूका धार्मिकताले तिनीहरूका मार्ग सोझो बनाउँछ, तर दुष्टहरूचाहिँ तिनीहरूका आफ्नै दुष्टताले तल खसालिन्छन्।
[6] सत्यनिष्ठहरूका धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर विश्वासघातीहरू दुष्ट इच्छाहरूद्वारा पासोमा पर्छन्।
[7] जब दुष्ट मानिस मर्छ, तब त्यसको आशा पनि नष्ट हुन्छ; त्यसले आफ्नो शक्तिबाट राखेको आशा शून्यमा विलीन भइहाल्छ।
[8] धार्मिक व्यक्ति सङ्कष्टबाट बचाइन्छ, र त्यो दुष्टमाथि आइपर्छ।
[9] ईश्वरविहीन मानिसको कुराले आफ्नै मुखले आफ्नो छिमेकीलाई नष्ट पार्छ, तर धर्मीचाहिँ ज्ञानद्वारा उम्कनेछ।
[10] धर्मीहरूको उन्नति हुँदा सहर रमाउँदछ; तर दुष्टहरूको नाश हुँदा हर्षको ध्वनि सुनिन्छ।
[11] धर्मीका आशिष्द्वारा सहर उच्च हुन्छ; तर दुष्टको मुखबाट त्यो नष्ट हुन्छ।
[12] विवेकहीनले आफ्नो छिमेकीको खिसी गर्छ; तर विवेकीले आफ्नो जिब्रोलाई लगाम लगाउँछ।
[13] कुराउटेले गोप्य भरोसामा आघात पुर्याउँछ; तर विश्वासयोग्य मानिसले कुरा गोप्य राख्छ।
[14] मार्गदर्शनको अभावमा देशको पतन हुन्छ; तर धेरै सल्लाहकारको कारण विजय हुन्छ।
[15] अरूको जमानी बस्नेले निश्चय नै दुःख भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ।
[16] दयालु हृदय भएकी स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन मात्र कमाउँछन्।
[17] दयालु मानिसले आफैँलाई लाभ पुर्याउँछ, तर निर्दयी मानिसले आफूमाथि सङ्कष्ट निम्त्याउँछ।
[18] दुष्ट मानिसले छलको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, त्यसले निश्चय नै प्रतिफलको कटनी गर्छ।
[19] धर्मी मानिसले निश्चय नै जीवन प्राप्त गर्छ, तर दुष्टताको पछि लाग्ने मानिस आफ्नै मृत्युमा पुग्छ।
[20] याहवेहले भ्रष्ट हृदय भएकालाई घृणा गर्नुहुन्छ; तर निर्दोष मार्गमा चल्नेहरूसित उहाँ प्रसन्न हुनुहुन्छ।
[21] यो निश्चय जान: दुष्टले आवश्य दण्ड पाउनेछ, तर धर्मीका सन्ततिले छुटकारा पाउनेछन्।
[22] विवेकहीन सुन्दरीचाहिँ सुँगुरको थुतुनोमा सुनको बुलाकी भएजस्तै हो।
[23] धर्मीहरूका इच्छाहरूको अन्त्य असल नै हुन्छ; तर दुष्टहरूका आशाको अन्त्य केवल क्रोधमा हुन्छ।
[24] कसैले उदार चित्तले दिएर पनि अझ बढी लाभ गर्छन्; तर कसैले चाहिँ कञ्जुसी गर्छ, र पनि त्यसमाथि दरिद्रता आउँछ।
[25] उदार मानिसको उन्नति हुनेछ; जसले अरूलाई उत्साह दिन्छ, ऊ आफैँ पनि उत्साहित हुनेछ।
[26] अन्न लुकाएर थुपारी राख्नेलाई मानिसहरूले सराप्छन्, तर ती खुशीसाथ बेच्नेलाई आशिष् दिन्छन्।
[27] जसले असल खोज्छ, त्यसले निगाह पाउँछ, तर दुष्टताको खोजी गर्नेहरूमा दुष्टता नै आउँछ।
[28] जसले आफ्नो धनमाथि भरोसा राख्छ, त्यसको पतन हुन्छ; तर धर्मी जनहरूचाहिँ हरियो पालुवाजस्तै लहलह मौलाउनेछन्।
[29] जसले आफ्नो परिवारमा विपत्ति ल्याउँछ, त्यसले पैतृक सम्पत्तिको रूपमा बतास मात्र प्राप्त गर्नेछ; र मूर्खचाहिँ बुद्धिमान्को सेवक हुनेछ।
[30] धर्मी जनको फल जीवनको रूख हो; अनि बुद्धिमान्ले साथी पाउँदछ।
[31] यदि धर्मी जनले आफ्नो प्रतिफल यस संसारमा पाउँछ भने, झन् अधर्मी र पापीहरूले त कति बढ्ता पाउनेछन्!