Skip to content
Opens in a new window
Listen to this chapter • 5:28

[1] हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स; तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख;

[2] किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ, र तिम्रा लागि शान्ति र उन्‍नति ल्याउनेछ।

[3] प्रेम र विश्‍वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्, ती तिमीले आफ्नो गलामा बाँधिराख, ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख।

[4] तब तिमीले परमेश्‍वर र मानिसहरूको दृष्‍टिमा निगाह र असल नाम कमाउनेछौ।

[5] तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!

[6] आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प, र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।

[7] आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन; याहवेहको डर मान, र दुष्कर्मलाई त्याग!

[8] यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ।

[9] आफ्ना धनसम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले याहवेहलाई आदर गर।

[10] तब तिम्रा ढुकुटीहरू भरिएर पोखिनेछन्, र तिम्रा घ्याम्पाहरू नयाँ दाखमद्यले भरिपूर्ण हुनेछन्।

[11] हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान, र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ;

[12] किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ, जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्।

[13] त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्‍त गर्छ, र जसले समझशक्ति प्राप्‍त गर्छ,

[14] किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ, र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ।

[15] बुद्धि माणिकहरूभन्दा पनि मूल्यवान् हुन्छ, तिमीले इच्छा गरेका कुनै पनि थोक यससँग तुलना गर्न सकिँदैन।

[16] यसको दाहिने हातमा दीर्घायु छ, र यसको देब्रे हातमा धनसम्पत्ति र सम्मान छन्।

[17] यसका मार्गहरू आनन्ददायक हुन्छन्, र यसका सबै बाटाहरू शान्तिका हुन्छन्।

[18] यसलाई पक्रिरहनेहरूका निम्ति यो जीवनको रूख हो, यसलाई अपनाउनेहरूका लागि आशिष् हो।

[19] बुद्धिद्वारा नै याहवेहले पृथ्वीको जग बसाल्नुभयो, समझशक्तिद्वारा उहाँले स्वर्गहरूलाई ठिक ठाउँमा राख्नुभयो,

[20] उहाँको ज्ञानद्वारा सागरका गहिराइहरू भाग-भाग भए, र बादलहरूले शीत वृष्‍टि गरे।

[21] हे मेरो छोरोछोरी, बुद्धि र समझशक्तिलाई तिम्रो दृष्‍टिबाट जान नदेऊ, उचित न्याय र विवेकलाई जोगाइराख,

[22] ती तिम्रा निम्ति जीवन, र तिम्रा गलामा शोभायमान गहनाजस्तै हुनेछन्।

[23] तब तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछौँ, तब तिम्रा खुट्टाले ठेस खानेछैन।

[24] जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन, जब तिमी ढल्किनेछौ, तिमीलाई मिठो निद्रा लाग्नेछ।

[25] तिमीलाई अचानक आउने विपत्तिको अथवा दुष्‍टमाथि आइपर्ने विनाशको डर हुनेछैन।

[26] किनकि याहवेह तिम्रो भरोसा हुनुहुनेछ, र उहाँले तिम्रो खुट्टाहरूलाई पासोमा फस्‍नदेखि बचाउनुहुनेछ।

[27] जसलाई भलाइ गर्नुपर्ने हो, तिम्रो बल होउन्जेल त्यसलाई नरोक।

[28] तिमीसित दिनलाई केही कुरा छ भने, आफ्नो छिमेकीलाई “पछि आऊ, म तिमीलाई भोलि दिनेछु” भनी नभन!

[29] आफ्नो नजिकमा भरपर्दो गरी बस्‍ने छिमेकीको विरुद्धमा षड्यन्त्र नरच।

[30] कारणविना कुनै मानिसलाई दोष नलगाऊ, जसले तिम्रो कुनै हानि गरेको छैन।

[31] हिंसात्मक मानिसप्रति डाही नबन, अथवा त्यसको कुनै पनि बाटो नरोज।

[32] किनकि याहवेहले दुष्‍ट मानिसलाई घृणा गर्नुहुन्छ, तर धर्मीहरूलाई आफ्नो विश्‍वासपात्र बनाउनुहुन्छ।

[33] दुष्‍टको घरमा याहवेहको श्राप रहन्छ; तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ।

[34] गिल्‍ला गर्ने घमण्डीहरूलाई उहाँले गिल्‍ला गर्नुहुन्छ, तर नम्र र पीडितहरूलाई उहाँले अनुग्रह दिनुहुन्छ।

[35] बुद्धिमान्‌हरूले सम्मान प्राप्‍त गर्दछन्; तर मूर्खहरूलाई उहाँले लाजमा पार्नुहुनेछ।

हितोपदेश — Chapters