[1] दाखमद्य उपहास हो, र कडा मद्यपान हल्ला हो; यी कुराहरूका लतमा लागेकाहरू बुद्धिमान् हुँदैनन्।
[2] राजाको भय सिंहको गर्जनजस्तो हुन्छ; तिनलाई रिस उठाउनेहरूले आफ्नो प्राण गुमाउँछन्।
[3] झगडाबाट अलग्गै रहनु मानिसका निम्ति सम्मानको कुरा हो; तर हरेक मूर्खचाहिँ झगडा मच्चाउनमा छिटो हुन्छ।
[4] अल्छेले समयमै हलो जोत्दैन; यसकारण कटनीको बेला त्यसले खोज्छ, तर केही पाउँदैन।
[5] मानिसको हृदयका उद्देश्यहरू गहिरो पानीजस्तै हुन्छन्; तर समझदार मानिसले त्यसलाई बाहिर निकाल्छ।
[6] धेरै मानिसहरू आफूमा अचुक प्रेम भएको दाबी गर्छन्; तर विश्वासयोग्य मानिस कसले पाउन सक्छ र?
[7] धर्मी मानिसले निष्कलङ्क जीवन जिउँछ; त्यसका पछि आउने सन्तानहरू धन्यका हुन्छन्।
[8] जब राजा सिंहासनमा न्याय गर्न बस्छन्, तब तिनले आफ्नै आँखाले सबै खराबीलाई केलाउँछन्।
[9] कसले भन्न सक्छ, “मैले आफ्नो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु?”
[10] असमान ढक र असमान नापहरू— याहवेहले यी दुवैलाई घृणा गर्नुहुन्छ।
[11] बालकको चरित्र शुद्ध र ठिक छ कि छैन भनी उसको चालचलनबाट नै थाहा पाइन्छ।
[12] सुन्ने कान र देख्ने आँखा— यी दुवै याहवेहले नै बनाउनुभएको हो।
[13] निद्रालाई प्रेम नगर, नत्रता यसले तिमीलाई गरिब बनाउनेछ; जागा बस, र तिमीसित खानलाई प्रशस्त अन्न हुनेछ।
[14] ग्राहकले भन्छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब फर्कँदा आफ्नो किनाइमा त्यसले घमण्ड गर्छ।
[15] सुन छ, र माणिकहरू प्रशस्त छन्; तर ज्ञानका कुरा बोल्ने जिब्रो अमूल्य रत्नजस्तै हुन्छ।
[16] परदेशीको जमानी बस्नेको लुगा लिइराख; परदेशीको जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख।
[17] छलसित प्राप्त गरेको भोजन मानिसको लागि स्वादिष्ठ हुन्छ, तर अन्त्यमा त्यो मुखमा रोडाजस्तै हुन्छ।
[18] सरसल्लाहद्वारा योजनाहरू सफल हुन्छन्; सल्लाह नलिई युद्ध गर्न नजाओ।
[19] कुरौटेले गुप्त कुरा प्रकट गरिदिन्छ; त्यसकारण धेरै बोल्ने मानिसदेखि अलग बस।
[20] यदि कसैले आफ्ना बुबा वा आमालाई सराप्छ भने, त्यसको बत्ती घोर अन्धकारमा निभाइनेछ।
[21] सुरुमै हतारमा प्राप्त गरेको पैतृक सम्पत्ति अन्त्यमा आशिषित हुँदैन।
[22] यसो नभन, “म तिम्रो खराबीको बदला लिनेछु!” याहवेहको प्रतीक्षा गर, र उहाँले तिम्रो प्रतिशोध लिनुहुनेछ।
[23] असमान ढकहरू याहवेहले घृणा गर्नुहुन्छ; र छलको तराजुले उहाँलाई प्रसन्न पार्दैन।
[24] मानिसका पाइलाहरू याहवेहबाट नै निर्देशन गरिएका हुन्छन्; यसकारण कसले आफ्नै मार्ग जान्न सक्छ र?
[25] असावधानीपूर्वक केही कुरो अर्पण गरिसकेपछि मात्रै आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ।
[26] बुद्धिमान् राजाले दुष्टहरूलाई पन्साउँछन्; तिनले उनीहरूमाथि दाइँ गर्ने चक्का चलाउँछन्।
[27] याहवेहको ज्योतिले मानिसको आत्मा खोजी गर्दछ, जसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ।
[28] प्रेम र विश्वासयोग्यताले राजालाई सुरक्षित राख्छन्; प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्छ।
[29] जवान मानिसहरूको गौरव तिनीहरूको बल हो; वृद्धहरूको शोभा फुलेको केश हो।
[30] मुक्का र चोटहरूले दुष्टता पखालिन्छ, र पिटाइले भित्री मनुष्यत्व खारिन्छ।