[1] इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू:
[2] बुद्धि र अनुशासन प्राप्त गर्नका निम्ति, अन्तर्दृष्टिका वचनको समझ प्राप्त गर्नका निम्ति,
[3] विवेकी आचरणको अनुशासन प्राप्त गर्नको निम्ति जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति,
[4] सोझाहरूलाई समझदार, जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति—
[5] बुद्धिमान्ले सुनोस् र तिनीहरूका ज्ञान बढाऊन्; र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्—
[6] हितोपदेश र दृष्टान्तहरू, बुद्धिमान्का भनाइ र गहिरा-गहिरा वचनहरू बुझ्नका निम्ति।
[7] याहवेहको भय ज्ञानको सुरुवात हो, तर मूर्खले चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।
[8] हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन र आफ्नी आमाको शिक्षालाई नत्याग।
[9] ती तिम्रा शिरका निम्ति शोभायमान मुकुट र तिम्रा गलामा सम्मानको हार हुन्।
[10] हे मेरा छोराछोरी, यदि पापीहरूले तिमीहरूलाई उक्साए भने, तिनीहरूसँग नलाग!
[11] तिनीहरूले यसो भन्लान्, “हामीसित आऊ, हामी निर्दोषको रक्तपात गर्न ढुकेर बसौँ,” हामी कुनै निर्दोषलाई आक्रमण गरौँ;
[12] हामी तिनीहरूलाई चिहानले जस्तै जिउँदै निलौँ; र सबै पातालमा जानेहरूलाई जस्तै पूरै निलौँ,
[13] हामी सबै किसिमका मूल्यवान् कुराहरू पाउनेछौँ; र हाम्रा घरहरूलाई लुटका सामानहरूले भर्नेछौँ;
[14] तिमी हाम्रो साझेदार बन, यो धन हामी सबैको हुनेछ।
[15] हे मेरो छोराछोरी, तिनीहरूसित नजाओ; तिनीहरूका मार्गमा खुट्टै नटेक!
[16] किनकि तिनीहरूका खुट्टा दुष्ट काम गर्न हतारिन्छन्, तिनीहरू रक्तपात गर्न अग्रसर हुन्छन्।
[17] चराहरूले देख्ने गरी जाल बिछ्यानु कति निरर्थक हुन्छ!
[18] यी मानिसहरू आफ्नै रगतको निम्ति ढुक्दछन्, तिनीहरूले आफैँलाई पासो थाप्दछन्!
[19] बेइमानीसित नाफा कमाउने सबैका मार्गहरू यस्तै हुन्छन्, जसले यो लिन्छ, यसले तिनीहरू सबैको जीवन लिन्छ।
[20] बुद्धि बाहिर खुल्ला सडकमा चर्को सोरले कराउँछे; त्यसले सार्वजनिक चोकहरूमा आफ्नो आवाज उचाल्छे;
[21] व्यस्त सडकका अग्ला स्थानमा त्यसले पुकार्दछे; सहरका मूलढोकाहरूमा त्यसले आफ्नो भाषण गर्छे।
[22] तिमी सोझाहरूले कहिलेसम्म आफ्ना मूर्खतालाई प्रेम गरिरहन्छौ? कहिलेसम्म गिल्ला गर्नेहरू गिल्ला गर्नमै रमाउँछौ? र मूर्खहरूले ज्ञानलाई घृणा गरिरहन्छौ?
[23] मेरो हप्काइ सुनेर पश्चात्ताप गर, म आफ्ना विचारहरू तिमीहरूलाई खन्याउनेछु; मेरा शिक्षाहरू तिमीहरूलाई बुझाउनेछु।
[24] तर मैले बोलाउँदा तिमीहरूले मलाई सुन्न नचाहेकाले, र मैले आफ्ना हातहरू फैलाउँदा कसैले ध्यान नदिएकाले,
[25] तिमीहरूले मेरा सबै सल्लाहलाई तुच्छ ठानेका हुनाले र मेरो हप्काइलाई स्वीकार नगरेका हुनाले,
[26] यसको बदलामा तिमीहरूमाथि प्रकोप आउँदा म हाँस्नेछु; विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्ली उडाउनेछु;
[27] विपत्तिले आँधीजस्तै तिमीहरूलाई उडाउँदा, जब भुमरीजस्तै आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ; जब सङ्कष्ट र दुःखले तिमीहरूलाई डुबाउँछन्।
[28] “तब तिनीहरूले मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैनँ; तिनीहरूले मलाई खोज्नेछन्, तर मलाई भेट्टाउनेछैनन्।”
[29] तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र याहवेहप्रति भय मान्न नचाहेका हुनाले;
[30] तिनीहरूले मेरो सल्लाह ग्रहण नगरेका, र मेरो हप्काइलाई तिरस्कार गरेका हुनाले,
[31] तिनीहरूले आफ्ना कामको फलबाट खानेछन् र आफ्ना कपटकै योजनाहरूका फलले तिनीहरू भरिनेछन्।
[32] आफ्नै पथभ्रष्टताले गर्दा सोझाहरू मर्नेछन्, र मूर्खहरूको आफ्नै लापर्बाहीले तिनीहरूलाई नाश गर्नेछ।
[33] तर जजसले मेरो कुरामा ध्यान दिन्छन्, उनीहरू सुरक्षित रहनेछन्, र विपत्तिको डरबाट ढुक्क भई रहनेछन्।