Skip to content
Opens in a new window
Listen to this chapter • 4:40

[1] कसैले नखेदे तापनि दुष्‍ट मानिस भाग्छ; तर धर्मीचाहिँ सिंहजस्तै साहसी हुन्छ।

[2] कुनै देश बागी भयो भने त्यसका धेरै शासकहरू हुन्छन्; तर समझशक्ति र ज्ञान भएका शासकले सुख-शान्ति कायम राख्छ।

[3] गरिबमाथि शोषण गर्ने शासक अन्‍न नाश गर्ने मुसलधारे वृष्‍टिजस्तै हो।

[4] व्यवस्था त्याग्नेहरूले दुष्‍टहरूका प्रशंसा गर्छन्; तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्।

[5] दुष्‍ट मानिसहरूले न्याय बुझ्दैनन्, तर याहवेहलाई खोज्नेहरूले यसलाई सम्पूर्ण रूपले बुझ्दछन्।

[6] धनी भएर भ्रष्‍ट जीवन जिउनुभन्दा बरु गरिब भएर निर्दोष जीवन जिउनु असल हो।

[7] विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्; तर घिचुवाहरूको सङ्गत गर्नेले आमाबुबालाई अपमान तुल्याउँछन्।

[8] ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढाउँछ, त्यसले कुम्ल्याएको धन गरिबमाथि दया राख्नेको हुनेछ।

[9] यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्‍नदेखि बन्द गर्छ भने, त्यसका प्रार्थनाहरू पनि घृणित हुन्छन्।

[10] जसले धर्मी जीवन जिउनेलाई खराब बाटोतिर लैजान्छ, त्यो आफ्नै पासोमा फस्‍नेछ; तर निर्दोषले प्रशस्त अंश पाउनेछ।

[11] धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ; तर समझशक्ति भएका गरिब मानिसले त्यसलाई ठिकसँग मूल्याङ्कन गर्छ।

[12] धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ; तर दुष्‍टहरू उच्‍च पदमा पुग्दा मानिसहरू लुक्न थाल्छन्।

[13] आफ्ना पापहरू लुकाउनेले उन्‍नति गर्दैन; तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।

[14] धन्य हो त्यो मानिस, जसले सधैँभरि याहवेहप्रति श्रद्धा राख्छ; तर आफ्नो हृदय कठोर गर्ने व्यक्ति जोखिममा पर्छ।

[15] असहाय मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक गर्जने सिंह र आक्रमक भालुजस्तै हुन्छ।

[16] अत्याचारी शासकको विवेक हुँदैन; तर जसले दुष्‍ट कमाइद्वारा पाएको लाभलाई घृणा गर्छ, उसले लामो शासनको आनन्द पाउनेछ।

[17] हत्याको दोषले सताएको मानिस चिहानमा शरण लिनेछ; कसैले पनि त्यसलाई सहायता नगरोस्।

[18] निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ; तर जसका मार्गहरू भ्रष्‍ट छन्, तिनीहरू अचानक पतन हुनेछन्।

[19] आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू गरिबीले घेरिएका हुन्छन्।

[20] विश्‍वासयोग्य मानिसले धेरै आशिष् पाउनेछ; तर धनी हुने इच्छुक व्यक्ति दण्ड नपाई उम्कनेछैन।

[21] पक्षपात गर्नु उचित होइन; तापनि मानिसले एक टुक्रा रोटीको निम्ति पनि खराब काम गर्छ।

[22] लोभी मानिस धनी हुने लालसा गर्छ; र त्यसलाई दरिद्रताले पर्खिरहेको छ भन्‍ने त्यसलाई थाहै हुँदैन।

[23] कुनै मानिसलाई हप्काउनेले अन्त्यमा चापलुसी जिब्रो भएकोभन्दा बढी निगाह प्राप्‍त गर्नेछ।

[24] आफ्नो बुबा वा आमालाई लुटेर “यो त भूल होइन” भन्‍ने व्यक्ति विनाशकारीको साझेदारजस्तै हो।

[25] लोभी मानिसले फाटो ल्याउँछ; तर याहवेहमा भरोसा राख्ने मानिसले उन्‍नति गर्छ।

[26] आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो; तर बुद्धिको चालमा चल्ने सुरक्षित रहन्छ।

[27] जसले गरिबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन; तर तिनीहरूप्रति वास्ता नदेखाउनेले धेरै श्राप पाउँछ।

[28] दुष्‍टको हातमा शासनको जिम्मा आयो भने मानिसहरू लुक्छन्; तर जब दुष्‍टको सर्वनाश हुन्छ, धर्मी फस्टाउँछन्।

हितोपदेश — Chapters