[1] हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान देऊ, अन्तर्दृष्टिका मेरा वचनहरू ध्यानपूर्वक सुन,
[2] ताकि तिमीले विवेकलाई कायम राख्न सक, र तिम्रो ओठले ज्ञानको रक्षा गरोस्।
[3] किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ,
[4] तापनि आखिरमा त्यो पित्तजस्तै तितो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ।
[5] त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्, त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्।
[6] त्यसले जीवनको मार्गतिर वास्तै गर्दिन; त्यसका मार्गहरू अस्थिर छन्, तापनि यो कुरा त्यसले थाहै गर्दिन।
[7] अब, हे मेरा छोराहरू, मेरो कुरा सुन, म जे भन्छु, त्यसबाट तर्किएर नजाओ!
[8] त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस, त्यसको घरको ढोका नजिक जाँदै नजाओ!
[9] नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ, र तिमीहरूको प्रतिष्ठा निर्दयीको हातमा पर्नेछ,
[10] अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका परिश्रमले अर्काको घरलाई समृद्ध तुल्याउनेछ।
[11] जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरू गलेर हाड र छाला हुनेछौ।
[12] तब तिमीहरूले भन्नेछौ, “हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ, र कसरी मेरो हृदयले सुधारलाई लत्यायो!
[13] मैले मेरा शिक्षकहरूको आज्ञापालन गरिनँ, र मलाई सिकाउनेहरूको कुरामा ध्यानै दिइनँ।
[14] परमेश्वरका मानिसहरूको सभामा, म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु।”
[15] आफ्नै भाँडाको पानी पिऊ, र आफ्नै कुवाबाट बगेको पानी पिऊ!
[16] के तिम्रा मुहानहरू सडकतिर, र तिम्रा मुहानका पानी चोकहरूतिर बगेर जाऊन्?
[17] त्यो तिम्रै निम्ति मात्र होस्, त्यसको साझेदार पराईहरू हुन नपाऊन्।
[18] तिम्रो मुहान धन्यको होस्; र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ!
[19] मायालु मृग, राम्री हरिणीजस्तै, त्यसकै स्तनहरूले तिमीलाई सधैँ सन्तुष्ट राखून्, तिमी सधैँ त्यसकै प्रेममा मोहित भइबस।
[20] हे मेरो छोरा, तिमी किन अर्काकी पत्नीको मोहमा फस्छौ? तिमी किन स्वेच्छाचारी स्त्रीलाई अँगालो हाल्छौ?
[21] किनकि मानिसका चालहरू याहवेहमा छर्लङ्ग छन्; र उहाँले त्यसका सबै मार्गहरूको जाँच गर्नुहुन्छ।
[22] दुष्ट मानिसका अधर्मले त्यसलाई पासोमा फसाउँछ, र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ।
[23] अनुशासनको अभावमा तिनीहरू मर्नेछन्; आफ्नै घोर मूर्खताले बहकिनेछन्।