Skip to content
Opens in a new window
Listen to this chapter • 4:28

[1] राजाको हृदय याहवेहको हातमा हुन्छ; उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्‍याएजस्तै, त्यसलाई डोर्‍याउनुहुन्छ।

[2] मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला, तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ।

[3] ठिक र न्यायोचित काम गर्नुचाहिँ याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ।

[4] अहङ्कारी आँखा र अभिमानी हृदय तथा दुष्‍टका नजोतिएका जमिनले पाप उब्जाउँछ।

[5] परिश्रमीको योजनाले लाभ दिन्छ; हतारले अवश्य नै गरिबीमा पुर्‍याउँछ।

[6] झूटो जिब्रोद्वारा कमाएको धन उडिजाने वाफ र घातक पासो हो।

[7] दुष्‍टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ; किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्।

[8] दोषीको चाल बाङ्गो हुन्छ; तर निर्दोषको चालचलन ठिक हुन्छ।

[9] कचकचे पत्नीसित एउटै घरमा बस्‍नुभन्दा, घरको कौसीको एउटा कुनामा बस्‍नु असल हो।

[10] दुष्‍ट मानिसले दुष्‍टताको चाहना गर्छ; त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन।

[11] गिल्‍ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्‍त गर्छ; बुद्धिमान्‌लाई अर्ती दिँदा त्यसले ज्ञान प्राप्‍त गर्छ।

[12] धर्मी जनले दुष्‍टको घरलाई चिनिराख्छ; तर परमेश्‍वरले दुष्‍टहरूलाई पतन गराउनुहुन्छ।

[13] जसले गरिबको चीत्कार सुन्दैन, त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन।

[14] गुप्‍तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ; लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ।

[15] उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ; तर कुकर्मीहरू भने त्रसित हुन्छन्।

[16] समझशक्तिदेखि कुमार्गतिर लाग्ने मानिस मृतकहरूको साथमा विश्राम गर्न पुग्छ।

[17] सुख-विलास मन पराउने गरिब हुनेछ; दाखमद्य र विलासिता मन पराउने कहिल्यै धनी हुनेछैन।

[18] दुष्‍टहरू धर्मीहरूको उद्धारको मोल, र विश्‍वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्।

[19] झगडालु र गनगने पत्नीसित बस्‍नुभन्दा त बरु मरुभूमिमा बस्‍नु असल हुन्छ।

[20] बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ; तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ।

[21] धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, उन्‍नति र सम्मान पाउँछ।

[22] बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको किल्‍ला भत्काइदिन्छ।

[23] आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई विपत्तिबाट जोगाउँछ।

[24] अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्‍ला गर्ने” हो, त्यसले अभिमानसाथ व्यवहार गर्दछ।

[25] अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ; किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्।

[26] दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ, तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।

[27] दुष्‍टको बलिदान घिनलाग्दो हुन्छ; त्यसले दुष्‍ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ!

[28] झूटो गवाही दिने नष्‍ट हुनेछ; तर साँचो साक्षीलाई सधैँ सुनिनेछ।

[29] दुष्‍ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ; तर धर्मी जीवन जिउनेहरूले आफ्ना चालहरूमा विचार पुर्‍याउँछन्।

[30] कुनै पनि बुद्धि, अन्तर्दृष्‍टि र योजना, याहवेहको विरुद्ध सफल हुन सक्दैन।

[31] घोडा युद्धको निम्ति तयार राखिन्छ; तर विजयचाहिँ याहवेहकै हातमा हुन्छ।

हितोपदेश — Chapters