Skip to content
Opens in a new window
Listen to this chapter • 4:48

[1] सोलोमनका हितोपदेश: बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्, तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्।

[2] अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।

[3] याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्‍न; तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्छ।

[4] अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।

[5] ग्रीष्म ऋतुमा अन्‍नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्; तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्।

[6] धर्मीको शिरमाथि आशिष्‌हरूका मुकुट रहन्छन्, तर दुष्‍ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ।

[7] धर्मीको नाम आशिष्‌मा प्रयोग गरिन्छ, तर दुष्‍टको नामचाहिँ कुहिएर जानेछ।

[8] हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्, तर बकबके मूर्खको विनाश हुन्छ।

[9] इमानदार मानिस निर्धक्‍क भई जिउँछ; तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ।

[10] कपटपूर्ण आँखा झिम्काउनेले शोक ल्याउँछ; अनि बकबक गर्ने मूर्ख सर्वनाशमा पुग्छ।

[11] धर्मीको मुख जीवनको फोहोरा हो, तर दुष्‍टको मुखमा हिंसा लुकेको हुन्छ।

[12] घृणाले फाटो उब्जाउँछ; तर प्रेमले सबै अपराधहरू ढाक्दछ।

[13] समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ; तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ।

[14] बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्; तर मूर्खको मुखले विनाश निम्त्याउँछ।

[15] धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो, तर दरिद्रता गरिबहरूको विनाश हो।

[16] धर्मीको ज्याला तिनीहरूको जीवन हो, तर दुष्‍टको कमाइ पाप र मृत्यु हो।

[17] अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ, तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्‍ट पार्छ।

[18] जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो।

[19] जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ; तर बुद्धिमान्‌ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।

[20] धर्मीको जिब्रो निखुर चाँदी हो; तर दुष्‍टको हृदय भने केही मूल्यको हुँदैन।

[21] धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ, तर मूर्खहरू विवेकको अभावले मर्छन्।

[22] याहवेहको आशिष्‌ले धनसम्पत्ति ल्याउँछ; अनि उहाँले यसमा दुःख थप्नुहुन्‍न।

[23] मूर्खहरू दुष्‍ट चालमा आनन्दित हुन्छन्, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्छ।

[24] तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्‍टमाथि आइपर्नेछ; धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ।

[25] आँधीबेहरी आएपछि दुष्‍टहरू सोहोरिएर गइहाल्छन्; तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्।

[26] दाँतलाई सिर्का र आँखालाई धुवाँजस्तै, अल्छे पनि त्यसलाई पठाउनेको निम्ति त्यस्तै हुन्।

[27] याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ; तर दुष्‍टका आयुचाहिँ घटाइन्छ,

[28] धर्मीका आशा आनन्दमय हुन्छ; तर दुष्‍टहरूको आशा पूरा हुनेछैन।

[29] याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो; तर दुष्‍ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो।

[30] धर्मी कहिल्यै उखेलिनेछैन; तर दुष्‍ट पृथ्वीमा स्थिर रहनेछैन।

[31] धर्मीको मुखबाट बुद्धिका कुरा निस्किन्छ, तर भड्काउने जिब्रो काटिनेछ।

[32] धर्मीका ओठले उचित कुरा जान्दछन्; तर दुष्‍टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।

हितोपदेश — Chapters