[1] याकेका छोरा आगूरका वचन—एक ईश्वरवाणी: यस मानिसले इतीएल र युकाललाई घोषणा गरेका हुन्:
[2] निःसंदेह म एक जनावर हुँ, मानिस होइनँ; मसँग मानवीय समझशक्ति छैन।
[3] मैले बुद्धि सिकिनँ, न त मसित पवित्र परमेश्वरको ज्ञान नै छ।
[4] स्वर्गसम्म को उक्लेको छ, र तल ओर्लेर को आएको छ? कसका हातले बतासलाई समातेको छ? कसले पानीलाई वस्त्रमा बाँधेको छ? कसले पृथ्वीका सबै छेउलाई स्थापित गरेको छ? उहाँको नाम के हो, र उहाँको पुत्रको नाम के हो? यदि तिमीलाई थाहा छ भने मलाई भन!
[5] “परमेश्वरका प्रत्येक वचन खोटरहित छ; उहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ।
[6] उहाँका वचनहरूमा केही नथप; नत्रता उहाँले तिमीलाई हप्काउनुहुनेछ, र झूटो प्रमाणित गर्नुहुनेछ।
[7] “हे याहवेह, तपाईंबाट म दुई कुराहरू माग्दछु; म मर्नुभन्दा अगि ती मबाट इन्कार नगर्नुहोस्:
[8] असत्य र झूटो कुरा मबाट टाढा राखिदिनुहोस्; न मलाई गरिबी, न त धनसम्पत्ति नै दिनुहोस्; तर मलाई केवल दैनिक भोजन दिनुहोस्।
[9] नत्रता मसित प्रशस्त भएर मैले तपाईंलाई इन्कार गरुँला, र भनुँला ‘याहवेह को हुनुहुन्छ र?’ अथवा म गरिब भएर चोरी गरुँला, र मेरा परमेश्वरको नामको अनादर गरुँला।
[10] “कर्मचारीलाई त्यसको मालिकको सामु अपमान नगर्नू; नत्रता त्यसले तिमीलाई सराप्ला र तिमीले नोक्सानी उठाउनुपर्नेछ।
[11] “यस्ताहरू पनि हुन्छन्, जसले आफ्ना बुबाहरूलाई सराप्छन्; र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्।
[12] तिनीहरू, जो आफ्नै दृष्टिमा शुद्ध छन्, र पनि आफ्ना अपवित्रताबाट चोख्याइएका छैनन्।
[13] तिनीहरू, जसका आँखाहरू अति अहङ्कारी छन्! जसका आँखीभौँ घमण्डले उठेका छन्,
[14] तिनीहरू, जसका दाँतहरू तरवारहरू हुन्, र जसका बङ्गाराहरू छुरीजस्तै छन्, जसले गरिबलाई पृथ्वीबाट र खाँचोमा परेकाहरूलाई मानव-जातिका माझमा निल्छन्।
[15] “जुकाका दुई छोरीहरू छन्। तिनीहरू ‘देऊ! देऊ!’ भनी कराउँछन्। “तीन वटा कुराहरू छन्, जो कहिल्यै तृप्त हुँदैनन्; चार वटा कुराहरू छन्, जो कहिल्यै पुग्यो भन्दैनन्!
[16] चिहान, बाँझो गर्भ; जमिन, जो कहिल्यै पानीदेखि तृप्त हुँदैन, र आगो, जसले कहिल्यै ‘पुग्यो!’ भनी भन्दैन।
[17] “त्यो आँखा, जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई तुच्छ ठान्छ, त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धहरूले खानेछन्।
[18] “तीन वटा कुराहरू छन्, जो मेरा निम्ति धेरै अचम्मका छन्; चार वटा, जो म बुझ्दिनँ:
[19] आकाशमा गरुडको चाल; चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल; र स्त्रीसँग पुरुषको चाल।
[20] “व्यभिचारिणी स्त्रीको चाल यस्तो हुन्छ: त्यसले खान्छे र आफ्नो मुख पुछ्छे, अनि त्यसपछि भन्छे, ‘मैले केही कुकर्म गरेकी छैनँ।’
[21] “तीन वटा कुराहरूमा पृथ्वी काम्छ; चार वटा कुराहरू, जो त्यसले सहन सक्दैन:
[22] नोकर, जब राजा बन्छ, मूर्खले पेटभरि भोजन खाएको,
[23] माया नपाएकी स्त्रीले विवाह गरेकी, र नोकर्नी, जो आफ्नी मालिक्नीलाई पन्छाएर तिनको स्थानमा बस्छे।
[24] “पृथ्वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अति बुद्धिमान् छन्:
[25] कमिलाहरू, जो थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले ग्रीष्म ऋतुमा नै आफ्नो भोजनको सञ्चय गर्छन्,
[26] भिर खरायोहरू थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले आफ्ना घर पहराहरूमा नै बनाउँछन्,
[27] सलहहरूका राजा हुँदैनन्, तापनि तिनीहरू लहरै हुल बाँधेर अगि बढ्छन्।
[28] माउसुली, जसलाई हातले समात्न सक्छौँ, तापनि त्यो राजाको महलहरूमा पाइन्छ।
[29] “तीन वटा कुरा छन्, जसका हिँडाइ रवाफिला छन्; चार वटा कुरा छन्, जो शानसँग यताउता हिँड्छन्:
[30] सिंह, जो पशुहरूमध्ये बलवान् हुन्छ, जो कसैदेखि पछि हट्दैन,
[31] रवाफसित हिँड्ने भाले, बोको; अनि आफ्नो वरिपरि सेना राखेर हिँड्ने राजा।
[32] “तिमी मूर्ख भएर आफूलाई उच्च पार्यौ भने, अथवा तिमीले दुष्ट युक्ति रच्यौ भने, तिम्रो मुखमाथि हात राख!
[33] किनकि दूध मन्थन गरेर घिउ निस्केजस्तै, र नाक बटार्दा रगत निस्केजस्तै, रिसलाई चलाउँदा झगडा उत्पन्न हुन्छ।”