[1] के बुद्धिले आह्वान गर्दैन? के समझशक्तिले त्यसको आवाज उच्च पार्दैन?
[2] गल्लीका उचाइहरूमा, जहाँ बाटाहरूका मिलन हुन्छ, त्यसले त्यहाँ आफ्नो अडान लिन्छ,
[3] सहरमा पुर्याउने मूलढोकाहरूको छेउमा, प्रवेश द्वारहरूमा त्यो चर्को सोरले यसरी कराउँछ:
[4] “हे मानिसहरू हो, म तिमीहरूलाई कराएर भन्छु; म सारा मानव-जातिलाई आफ्नो आवाज सुनाउँछु।
[5] तिमीहरू जो सोझा छौ, सक्षम होऊ। तिमीहरू जो मूर्ख छौ, समझशक्ति प्राप्त गर्ने होऊ।
[6] सुन, किनकि मसँग भन्नलाई काम लाग्ने कुराहरू छन्, जे ठिक छ, त्यो भन्न म मेरो ओठ खोल्छु।
[7] मेरो मुखले साँचो कुरा बोल्दछ; किनकि मेरो ओठले दुष्टतालाई घृणा गर्छ।
[8] मेरो मुखका सबै वचन न्यायसङ्गत छन्; तीमध्ये एउटै पनि बाङ्गा-टिङ्गा अथवा भ्रष्ट छैन।
[9] विवेकशील व्यक्तिका लागि मेरा वचन ठिक छन्, ज्ञान हुने मानिसको निम्ति ती धार्मिक छन्।
[10] मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन;
[11] किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ, र तिमीले इच्छा गरेको कुनै पनि कुरा त्यसको दाँजोमा आउँदैन।
[12] “म, बुद्धि, विवेकसँग बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्।”
[13] याहवेहप्रतिको भय दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु।
[14] परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्; मसित समझशक्ति छ, र मसित सामर्थ्य छ।
[15] मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायसङ्गत उर्दी जारी गर्छन्।
[16] मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्— र पृथ्वीमा शासन गर्ने सबै शासकहरू।
[17] मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु; मेरो खोजी गर्नेहरूले मलाई भेट्टाउँछन्।
[18] मसित धन र आदर, रहिरहने सम्पत्ति र समृद्धि छन्।
[19] मेरो फल असल सुनभन्दा राम्रो छ; म जे पाउँछु, त्यो चुनिएको चाँदीभन्दा असल हुन्छ।
[20] म धार्मिकताका बाटो हिँड्छु, र न्यायको मार्गमा हिँड्छु,
[21] मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु।
[22] याहवेहले आफ्नो सृष्टिको सुरुमा नै, उहाँका पुरातनका सबै कामहरूभन्दा पहिले नै मलाई सृजनुभयो,
[23] परापूर्वकाल अगि नै, अर्थात् संसारको सुरु हुनुभन्दा पहिलेदेखि नै मेरो सृष्टि भएको थियो।
[24] सागरहरू हुनुभन्दा पहिले, पानीले भरिएका मुहानहरू हुनुभन्दा अगि नै मेरो जन्म भएको थियो,
[25] पर्वतहरू आ-आफ्ना स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाडहरूभन्दा पहिल्यै मेरो जन्म भएको थियो।
[26] उहाँले पृथ्वी र त्यसका जमिनहरू, वा पृथ्वीका धुलो बनाउनुभन्दा अगि नै म सृजिएको थिएँ।
[27] जब उहाँले आकाशलाई स्थापित गर्नुभयो, म अस्तित्वमा थिएँ; उहाँले महासागरमाथि क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ।
[28] जब उहाँले माथिका बादलहरू स्थापित गर्नुभयो; जब पानीको मूललाई स्थिर गर्नुभयो;
[29] जब पानीलाई उहाँको आज्ञा नाघेर बाहिर नजाओस् भनेर उहाँले समुद्रको सिमाना तोकिदिनुभयो; जब उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो;
[30] त्यस समय म एक कारिगरजस्तै उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थेँ; उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थेँ।
[31] उहाँको सम्पूर्ण संसारमा म आनन्द मनाउँथे, र मानव जातिमा प्रसन्न रहन्थेँ।
[32] अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन; तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू पछ्याउँछन्।
[33] मेरा अर्तीहरू सुन र बुद्धिमान् होओ, त्यसलाई बेवास्ता नगर,
[34] त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ, जो दिनदिनै मेरा ढोकाहरूमा नियालेर हेर्दै, मेरो ढोकाको छेउमा पर्खिरहन्छ।
[35] किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र याहवेहबाट निगाह प्राप्त गर्छ।
[36] “तर जसले मलाई भेट्टाउन असफल हुन्छ, त्यसले आफूलाई नोक्सानी गर्छ, मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छन्।”