Skip to content
Opens in a new window
Listen to this chapter • 3:35

[1] मित्रभाव नभएको मानिस स्वार्थको पछि लाग्छ; त्यसले सबै उचित न्यायलाई चुनौती दिँदछ।

[2] मूर्खले समझदारी मन पराउँदैन, तर आफ्नै विचारमा धाक लगाउन प्रसन्‍न हुन्छ।

[3] दुष्‍टता आउँदा घृणा पनि आउँछ; र शर्मको साथमा अपमान आउँछ।

[4] मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्छन्; तर बुद्धिको मुहानचाहिँ बग्दै गरेको खोलाजस्तै सफा हुन्छ।

[5] दुष्‍टको पक्ष लिनु राम्रो होइन अथवा निर्दोषलाई न्याय नदिनु उचित होइन।

[6] मूर्खको ओठले त्यसलाई झगडामा पार्छ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ।

[7] मूर्खको मुख नै त्यसको विनाश हो, अनि त्यसको ओठचाहिँ आफ्नै जीवनका लागि पासो हुन्छ।

[8] कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्।

[9] आफ्नो काममा अल्छी गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ हो।

[10] याहवेहको नाम किल्‍ला भएको सहरमा हो; धर्मीहरू त्यहाँ दगुर्दै जान्छन्, र सुरक्षित रहन्छन्।

[11] धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो; तिनीहरूले त्यसलाई नाप्‍न नसकिने पर्खाल सम्झन्छन्।

[12] आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ, तर सम्मानको अगि नम्रता आउँछ।

[13] जसले सुन्‍न अगि नै जवाफ दिन्छ, त्यो त्यसका निम्ति मूर्खता र शर्म हो।

[14] मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सम्हाल्छ, तर टुटेको आत्मालाई कसले सहन सक्छ र?

[15] विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, बुद्धिमान्‌को कानले त्यो खोजी निकाल्छ।

[16] उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ, र त्यसलाई महान् व्यक्तिहरूको उपस्थितिमा लैजान्छ।

[17] दोस्रो व्यक्ति आएर प्रश्नहरू नगरुन्जेल, मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठिक देखा पर्छ।

[18] चिट्ठा हालेर झगडा मिलाइन्छ, र बलिया प्रतिद्वन्दीहरूलाई अलग राखिन्छ।

[19] चित्त दुःखाएको भाइलाई मनाउनु किल्‍ला भएको सहर जित्नुभन्दा गाह्रो हुन्छ; अनि विवादचाहिँ किल्‍लामा आग्ला लगाइएका ढोकाहरूजस्तै हुन्छन्।

[20] मानिसको पेट त्यसको मुखको फलले भरिन्छ; त्यसको ओठको कटनीद्वारा त्यो तृप्‍त हुन्छ।

[21] जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ; त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानेछन्।

[22] पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले याहवेहबाट निगाह प्राप्‍त गर्छ।

[23] गरिब मानिसले दयाको बिन्ती चढाउँछ, तर धनी मानिसले रुखो जवाफ दिन्छ।

[24] जसका साथीहरू अविश्‍वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्‍याउन सक्छन्, तर कुनै मित्रचाहिँ दाजुभाइभन्दा पनि नजिक हुन्छ।

हितोपदेश — Chapters