[1] अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति मूर्ख हो।
[2] असल मानिसहरूले याहवेहबाट निगाह प्राप्त गर्छन्, तर धूर्त मानिसहरूलाई याहवेहले दोषी ठहराउनुहुन्छ।
[3] दुष्टताले कुनै मानिस स्थापित हुन सक्दैन, तर धर्मी जनलाई उखेल्न सकिनेछैन।
[4] चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डीको क्यान्सरजस्तै हो।
[5] धर्मी जनका योजनाहरू न्यायसङ्गत हुन्छन्; तर दुष्टका सल्लाह कपटपूर्ण हुन्छन्।
[6] दुष्टका वचनहरूले रक्तपातको निम्ति ढुकिबस्छन्, तर धर्मीको बोलीले तिनीहरूलाई उद्धार गर्छ।
[7] दुष्टहरू पराजित हुन्छन् र लोप हुन्छन्; तर धर्मी जनको घर दृढतासाथ खडा रहन्छ।
[8] मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर बाङ्गाटेढा हृदय भएका मानिसहरू अपहेलित हुन्छन्।
[9] खानको निम्ति भोजन नभए तापनि आफ्नै बढाइचढाइ गर्ने मानिसभन्दा बरु साधारण मानिस भएर एक जना मालिकको मात्र सेवक हुनु उत्तम हो।
[10] धर्मी मानिसले आफ्नो पशुहरूको वास्ता गर्छ; तर दुष्ट मानिसको अति दयापूर्ण काम पनि निर्दयी हुन्छ।
[11] आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू मूर्ख हुन्छन्।
[12] दुष्टले खराब मानिसहरूको लुटको अभिलाषा गर्छ, तर धर्मी जनको जरा रहिरहन्छ।
[13] दुष्ट मानिस आफ्नै पापपूर्ण बोलीले पासोमा पर्छ; तर धर्मी मानिस विपत्तिबाट उम्कन्छ।
[14] आफ्ना ओठका फलबाट नै मानिस असल थोकहरूले भरिन्छ; र आफ्नो हातका कामको प्रतिफल त्यसले निश्चय नै पाउँछ।
[15] मूर्खको चाल त्यसकै लागि ठिक देखिन्छ, तर बुद्धिमान् मानिसले अरूको सल्लाह सुन्छ।
[16] मूर्खले आफ्नो रिस झट्टै देखाउँछ; तर विवेकशील मानिसले अपमानको वास्तै गर्दैन।
[17] साँचो साक्षीले सत्य बोल्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ।
[18] विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ, तर बुद्धिमान्को जिब्रोले निको पार्छ।
[19] सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ; तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ।
[20] खराब योजना रच्नेहरूका हृदयमा छलकपट हुन्छ; तर शान्तिलाई प्रोत्साहन दिनेहरूको निम्ति आनन्द हुन्छ।
[21] धर्मीमाथि हानिको कुनै प्रभाव हुँदैन, तर दुष्टहरू सङ्कष्टले भरिएका हुन्छन्।
[22] याहवेहले झूटो बोल्ने ओठलाई घृणा गर्नुहुन्छ; तर भरोसायोग्य मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ।
[23] विवेकशील मानिसले आफ्नो ज्ञान आफूसितै राख्छ; तर मूर्खहरूको हृदयबाट मूर्खता निस्किरहन्छ।
[24] परिश्रमी हातले शासन गर्नेछ; तर अल्छेपनाले दासत्वमा पुर्याउँछ।
[25] चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।
[26] धर्मी मानिस आफ्नो मित्रतामा सतर्क रहन्छ; तर दुष्टको मार्गले तिनीहरूलाई बरालिदिन्छ।
[27] अल्छे मानिसले आफ्नो शिकार पनि पकाउँदैन, तर लगनशील मानिस आफ्नो शिकारको प्रशस्तताबाट खान्छ।
[28] धार्मिकताको मार्गमा जीवन हुन्छ; त्यही मार्गमा अमरत्व हुन्छ।