[1] हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान दिएर समझशक्ति प्राप्त गर।
[2] म तिमीहरूलाई उचित कुरा सिकाउँछु, यसकारण मेरो शिक्षालाई नत्याग!
[3] किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ, मेरी आमाको कोमल र प्यारो छोरो थिएँ।
[4] मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो, “तिम्रो पूरा हृदयले मेरो वचनहरू पक्रिराख, मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ।
[5] बुद्धि प्राप्त गर, समझशक्ति प्राप्त गर; मेरा वचनहरू नबिर्स, र तिनीहरूदेखि तर्किएर नजाऊ।
[6] बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ; यसलाई प्रेम गर, र यसले तिमीलाई पहरा दिनेछ।
[7] बुद्धि सर्वोच्च हो, यसकारण बुद्धि प्राप्त गर। समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्त गर।
[8] बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्च पार्नेछ, यसलाई ग्रहण गर, र यसले तिम्रो आदर गर्नेछ।
[9] यसले तिम्रो शिरमा शोभायमान माला पहिर्याइदिनेछ, र महिमामय मुकुट प्रदान गर्नेछ।”
[10] हे मेरो छोराछोरी, सुन; मैले भनेको कुरा स्वीकार गर, र तिम्रो जीवन दीर्घायु हुनेछ।
[11] म तिमीलाई बुद्धिको मार्ग सिकाउँछु, र तिमीलाई सीधा बाटोमा डोर्याउँछु।
[12] तिमी हिँड्दा कुनै पनि कुराले तिम्रा पाइलाहरूलाई छेक्नेछैनन्, अनि तिमी दगुर्दा तिमीलाई ठेस लाग्नेछैन।
[13] अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ; यसलाई जोगाइराख; किनकि यो तिम्रो जीवन हो।
[14] दुष्टको मार्गमा पाइला नटेक अथवा खराब मानिसहरूको चालमा नहिँड।
[15] त्योदेखि टाढै बस, त्यस बाटोमा नहिँड, त्यसबाट फर्क र आफ्नै बाटो लाग।
[16] किनकि दुष्टहरू खराब काम नगरी सुत्नै सक्दैनन्; कसैको खराबी नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन।
[17] तिनीहरूले दुष्टताको रोटी खान्छन् र हिंसाको मद्य पिउँछन्।
[18] धर्मीको चाल बिहानको पहिलो ज्योतिजस्तै हो, त्यो मध्यदिन नहुन्जेल झन्-झन् चहकिलो हुँदैजान्छ।
[19] तर दुष्टको चाल घोर अन्धकारजस्तै हो; तिनीहरू कुन कुराले आफ्नो पतन हुँदैछ, सो जान्दैनन्।
[20] हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ; मेरा वचनहरू ध्यानसित सुन।
[21] ती तिम्रो दृष्टिदेखि अलग हुन नदेऊ; ती तिम्रो हृदयभित्र राख,
[22] किनकि तिनलाई पाउनेहरूका लागि ती जीवन हुन्, र सारा शरीरको निम्ति स्वास्थ्य हो।
[23] यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख; किनकि यो नै सारा जीवनको मूल हो।
[24] तिम्रो मुखबाट भ्रष्टता टाढै रहोस्, भ्रष्ट कुराकानी तिम्रो ओठदेखि टाढै रहोस्।
[25] तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्, तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्।
[26] तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ, र आफ्ना सबै मार्गहरूमा दृढ होऊ!
[27] दाहिने अथवा देब्रेतिर नलाग; सबै दुष्ट कुराबाट आफ्ना खुट्टाहरू अलग राख!