[1] दुष्ट मानिसहरूप्रति ईर्ष्या नगर, तिनीहरूका सङ्गतको चाहना नगर;
[2] किनकि तिनीहरूका हृदयले हिंसा रच्दछ, र तिनीहरूका ओठले समस्या ल्याउने कुरा गर्दछ।
[3] बुद्धिद्वारा घर बनाइन्छ, र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ;
[4] ज्ञानद्वारा त्यसका कोठाहरू मूल्यवान् र सुन्दर सामग्रीले भरिन्छन्।
[5] बुद्धिमान् योद्धा शक्तिशाली हुन्छ; र ज्ञानी मानिसले सामर्थ्य बढाउँछ।
[6] निश्चय नै युद्ध गर्नलाई तिमीलाई मार्गदर्शन चाहिन्छ; र विजय पाउनलाई धेरै सल्लाहकारहरू चाहिन्छ।
[7] मूर्खको लागि बुद्धि धेरै उच्च हुन्छ; मूलढोकामा भएको सभामा त्यसले आफ्नो मुख खोल्दैन।
[8] जसले खराबी रच्दछ, त्यो षड्यन्त्रकारीको नामद्वारा चिनिनेछ।
[9] मूर्खताका षड्यन्त्रहरू पाप हुन्; र मानिसहरूले गिल्ला गर्नेलाई घृणा गर्छन्।
[10] यदि विपत्तिको समयमा तिमीले हरेस खायौ भने, तिम्रो बल कति थोरै रहेछ!
[11] अन्यायपूर्ण मृत्युदण्डको लागि लगिएकाहरूलाई उद्धार गर; मारिन लगिएकाहरू, जो लरबराउँदै गइरहेका छन्, तिनीहरूलाई रोक।
[12] यदि तिमी भन्छौ, “तर हामीलाई त यसबारे केही थाहै पाएनौँ”, तब हृदयका कुरा नाप्नुहुनेले के त्यो कुरा जान्नुहुन्न र? तिम्रो जीवन सुरक्षित राख्नुहुनेले त्यो जान्नुहुन्न र? के उहाँले हरेकलाई त्यसको कामअनुसार बदला लिनुहुनेछैन र?
[13] हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ; चाकाबाट निकालिएको मह स्वादिष्ठ हुन्छ।
[14] यो पनि जान, बुद्धि तिम्रो प्राणको लागि महजस्तै गुलियो हुन्छ; तिमीले त्यो पायौ भने तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन।
[15] चोरझैँ धर्मी मानिसको घरको विरुद्धमा ढुकेर नबस; तिनको वासस्थान नलुट,
[16] किनकि धर्मी मानिस सातपल्ट लड्यो भने तापनि फेरि उठ्छ; तर दुष्टहरूचाहिँ विपत्तिले नष्ट हुनेछन्।
[17] तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर, तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्;
[18] नत्रता याहवेहले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ; र उहाँको क्रोध तिनीहरूदेखि हटाउनुहुनेछ।
[19] दुष्ट मानिसहरूका कारण चिन्ता नमान, न त दुष्टहरूप्रति डाही बन।
[20] किनकि दुष्ट मानिसको भविष्यको आशा हुँदैन, र दुष्टको बत्ती निभाइनेछ।
[21] हे मेरा छोराछोरी, याहवेहको र राजाको डर मान; र विद्रोहीहरूसित नमिल;
[22] किनकि तिनीहरूमाथि अचानक सर्वनाश आउनेछ; दुवैले कस्ता विपत्तिहरू ल्याउनुहुने हो भनी कसलाई थाहा हुन्छ र?
[23] यी पनि बुद्धिमान्का भनाइहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन।
[24] जसले दोषीलाई “तिमी निर्दोष छौ” भनी भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन्, र राष्ट्रहरूले त्यसलाई घृणा गर्नेछन्।
[25] तर दोषीलाई अपराधी ठहराउनेहरूलाई सबै असल नै हुनेछ, र तिनीहरूले प्रशस्त आशिष्हरू प्राप्त गर्नेछन्।
[26] इमानदार जवाफचाहिँ ओठमाथि परेको चुम्बनजस्तै हो।
[27] तिम्रो बाहिरको काम पूरा गर, र तिम्रो खेतबारी तयार पार; त्यसपछि आफ्नो घर बनाऊ।
[28] तिम्रो छिमेकीका विरुद्धमा कारणविना साक्षी नदेऊ, उसको विषयमा झूटो नबोल।
[29] “मलाई त्यसले जस्तो व्यवहार गरेको छ, म पनि त्यसलाई त्यस्तै गर्नेछु, म त्यसलाई बदला लिनेछु”, भनी नभन।
[30] म एउटा अल्छेको खेतबाट भएर गएँ; म एउटा विवेकहीन मानिसको दाखबारीबाट भएर गएँ;
[31] चारैतिर काँडाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकेको थियो, अनि ढुङ्गाको पर्खाल भत्किएको थियो।
[32] मैले देखेका कुरा हृदयमा विचार गरेँ; र मैले देखेका ती कुराहरूबाट एउटा शिक्षा पाएँ:
[33] एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले,
[34] तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।