Skip to content
Opens in a new window
Listen to this chapter • 5:05

[1] हृदयका योजनाहरू मानिसका हुन्; तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ।

[2] हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ; तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्।

[3] तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ, र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।

[4] याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ; उहाँले दुष्‍टलाई समेत विनाशको दिनको निम्ति राख्नुभएको छ।

[5] हृदयमा अहङ्कार भएका सबैलाई याहवेहले घृणा गर्नुहुन्छ; यो निश्‍चित छ, तिनीहरू दण्ड नपाई छोडिनेछैनन्।

[6] प्रेम र सत्यताद्वारा पापको प्रायश्‍चित हुन्छ; याहवेहप्रतिको श्रद्धाद्वारा मानिस खराबीदेखि अलग रहन्छ।

[7] जब कुनै मानिसको जीवन याहवेहको दृष्‍टिमा मनपर्दो हुन्छ, उहाँले त्यसका शत्रुलाई पनि त्यससित मिलापमा ल्याउनुहुन्छ।

[8] बेइमानी गरेर कमाएको प्रशस्त कमाइभन्दा, धार्मिकताको साथमा थोरै भएको असल हुन्छ।

[9] मानिसले हृदयमा आफ्नो योजना बनाउँछ; तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ।

[10] राजाको ओठले ईश्‍वरवाणी बोल्दछ; र तिनको मुखले न्यायलाई चोट पुर्‍याउनुहुँदैन।

[11] ठिक तराजु र तौल याहवेहकै हुन्, थैलोभित्रका सबै ढकहरू उहाँद्वारा नै बनिएका हुन्।

[12] राजाहरूले कुकर्मलाई घृणा गर्दछन्, किनकि धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ।

[13] राजाहरूले इमानदार ओठलाई मन पराउँछन्; सत्य बोल्ने मानिसलाई तिनीहरूले मन पराउँछन्।

[14] राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले त्यसलाई शान्त गराउँछ।

[15] जब राजाको अनुहार उज्यालो हुन्छ, तब त्यसको अर्थ जीवन हुन्छ; अनि तिनको निगाह बसन्त ऋतुका झरीको बादलजस्तै हो।

[16] सुनभन्दा बुद्धि प्राप्‍त गर्नु, र चाँदीभन्दा समझदारी रोज्नु कत्ति असल हो!

[17] धर्मीको राजमार्ग खराबीदेखि अलग रहन्छ; आफ्नो चालको रक्षा गर्नेहरूले आफ्नो जीवनको रक्षा गर्छन्।

[18] विनाशको अगि अहङ्कार आउँछ, र पतनको अगि घमण्डी आत्मा आउँछ।

[19] अहङ्कारीहरूसित लुटको मालमा सहभागी हुनुभन्दा आत्मामा नम्र भई थिचोमिचोमा परेकाहरूका बीचमा रहनु असल हो।

[20] जसले निर्देशनलाई ध्यान दिन्छ, उसको उन्‍नति हुन्छ, धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ।

[21] हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छन्, र मिठा वचनहरूले अर्तीलाई उत्साहित पार्छन्।

[22] समझशक्ति भएकाहरूका निम्ति त्यो जीवनको मूल हो, तर मूर्खताले मूर्खहरूमाथि दण्ड ल्याउँछ।

[23] बुद्धिमान् मानिसको हृदयले बुद्धि ल्याउँछ, र त्यसका ओठले अर्तीलाई बढाउँछ।

[24] मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्, जो प्राणको निम्ति मिठो र हड्डीलाई निको पार्ने हुन्छ।

[25] कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ।

[26] परिश्रमीको पेटले त्यसलाई काम गर्न लगाउँछ; त्यसको भोकले त्यसलाई काम गर्न लगाउँछ।

[27] बदमासले दुष्‍ट युक्ति रच्दछ; र त्यसका बोलीवचन भतभती पोल्ने आगोजस्तै हुन्छ।

[28] भ्रष्‍ट मानिसले विवाद उत्पन्‍न गराउँछ, र कुराउटेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।

[29] उपद्रवी मानिसले आफ्नो छिमेकीलाई लोभ्याउँछ, र त्यसले उसलाई खराब मार्गतिर लैजान्छ।

[30] आफ्नो आँखा झिम्काउनेले षड्यन्त्र रचेको हुन्छ; आफ्ना ओठ लेब्र्याउनेले षड्यन्त्र रचेको हुन्छ।

[31] फूलेको केश शोभाको मुकुट हो, यो धर्मी जीवनबाट प्राप्‍त हुँदछ।

[32] धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो।

[33] चिट्ठा त हालिन्छ, तर त्यसको हरेक निर्णय याहवेहबाट नै हुन्छ।

हितोपदेश — Chapters