Skip to content
Opens in a new window
Listen to this chapter • 4:48

[1] धेरै धनसम्पत्तिभन्दा असल नामको इच्छा गर्नु उत्तम हो; सम्मान प्राप्‍त गर्नु चाँदी र सुनभन्दा असल हो।

[2] धनी र गरिबमा एउटा कुरा समान छ: याहवेहले नै तिनीहरू सबैलाई बनाउनुभएको हो।

[3] विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ, र परिणाम भोग्छ।

[4] धन, सम्मान र दीर्घायु; नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्।

[5] दुष्‍टको बाटोमा काँडा र पासाहरू हुन्छन्; तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढै रहन्छ।

[6] बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ; र त्यो वृद्ध भएपछि पनि त्यसबाट तर्केर जानेछैन।

[7] धनीले गरिबमाथि शासन जमाउँछ; र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।

[8] अन्याय छर्नेले विपत्ति कटनी गर्छ; र त्यसका रिसको लहुरो भाँचिनेछ।

[9] दयालु मानिस आफू पनि आशिषित हुनेछ; किनकि त्यसले आफ्नो भोजन गरिबहरूसित बाँड्छ।

[10] गिल्‍ला गर्नेलाई बाहिर निकालिदेऊ, तब झगडा हराउँछ; कलह र अपमानको पनि अन्त्य हुनेछ।

[11] जसले शुद्ध हृदय मन पराउँछ, र जसका बोलीवचन मिठो हुन्छ, उसका लागि राजा पनि मित्र हुनेछ।

[12] याहवेहको दृष्‍टिले ज्ञानको रक्षा गर्छ, तर विश्‍वासघातीका वचनहरूलाई उहाँले विफल तुल्याउनुहुन्छ।

[13] अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ! सडकमा गएँ भने त्यहीँ मेरो हत्या हुनेछ।”

[14] व्यभिचारिणी स्त्रीको मुख एक गहिरो खाडल हो; याहवेहको क्रोधमा पर्नेहरू त्यसमा खस्‍नेछन्।

[15] बालकको हृदयमा मूर्खता हुन्छ, तर अनुशासनको छडीले उसलाई त्यसबाट टाढो भगाइदिनेछ।

[16] आफ्नो धन बढाउन गरिबमाथि अत्याचार गर्ने र धनीलाई उपहारहरू दिने, दुवैमाथि दरिद्रता आउँछ।

[17] बुद्धिमान्‌का कुराहरू सुन, र त्यसमा ध्यान देऊ; म जे सिकाउँछु, त्यसमा तिम्रो हृदय लगाऊ!

[18] किनकि ती तिम्रा हृदयमा राख्यौ भने, र आफ्ना ओठमा तयार राख्यौ भने त्यसले तिमीलाई आनन्द दिनेछ।

[19] तिम्रो भरोसा याहवेहमाथि होस् भनेर यो कुरा आज म तिमीलाई सिकाउँछु, हो, तिमीलाई।

[20] के मैले तिम्रा लागि तीस वटा भनाइहरू साथमा सल्‍लाह र ज्ञानका वचनहरू लेखिदिएको छैनँ र?

[21] आफूलाई पठाउनेलाई तिमीले ठिक जवाफ दिन सक भनेर मैले तिमीलाई सत्य विश्‍वसनीय वचनहरू सिकाएको होइनँ र?

[22] असहाय छन् भन्दैमा तिनीहरूलाई शोषण नगर, न त खाँचोमा परेकाहरूलाई न्यायालयमा पेल;

[23] किनकि तिनीहरूको मुद्दा याहवेहले नै लिनुहुनेछ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले पनि लुट्नुहुनेछ।

[24] रिसाहा मानिसलाई मित्र नबनाऊ; झट्टै रिसाउनेहरूसित सङ्गत नगर,

[25] नत्रता त्यसको बानी तिमीले सिक्छौ र आफूलाई पासोमा पार्छौ।

[26] बन्धकमा आफ्नो हात नहाल, अथवा अर्काको ऋणको जमानी नबस;

[27] यदि तिमीसित तिर्ने साधन छैन भने, तिमी सुतेको तिम्रो आफ्नै ओछ्यानसमेत खोसिनेछ।

[28] प्राचीन साँधसिमानाको ढुङ्गो नहटाऊ, जो तिम्रा पुर्खाहरूले खडा गरेका हुन्।

[29] के तिमीले आफ्नो काममा निपूर्ण मानिस देखेका छौ? तिनीहरूले राजाहरूका सामु सेवा गर्नेछन्, तिनीहरूले तल्‍लो तहका अधिकारीहरूको सेवा गर्नेछैनन्।

हितोपदेश — Chapters