[1] बारम्बार हप्की पाएर पनि अटेरी भई बस्ने मानिस, अचानक नाश हुनेछ—उपाय नै नरहने गरी।
[2] धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्; दुष्टले शासन गर्दा मानिसहरू सुस्केरा हाल्छन्।
[3] बुद्धि मन पराउने मानिसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ; तर वेश्याहरूसँग सङ्गत गर्नेले आफ्नो धनसम्पत्ति बेकाममा उडाउँछ।
[4] राजाले न्यायद्वारा देशलाई स्थिर राख्छन्; तर घूसको लोभ गर्नेले देशलाई सर्वनाश पार्छ।
[5] जसले आफ्नो छिमेकीलाई फुर्काउँछ, त्यसले त्यसका खुट्टामुनि जाल बिछ्याउँछ।
[6] दुष्ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ; तर धर्मी आनन्दले चिच्याउँछ र खुशी हुन्छ।
[7] धर्मीले गरिबको न्यायको वास्ता गर्छ; तर दुष्टलाई चाहिँ त्यसबारे वास्तै हुँदैन।
[8] गिल्ला गर्नेले सहरभरि हल्ला मच्चाउँछ; तर बुद्धिमान् मानिसले रिस शान्त गराउँछ।
[9] यदि बुद्धिमान् मानिस मूर्खसित अदालतमा गयो भने, मूर्खको रिस र उपहासले त्यहाँ शान्ति हुँदैन।
[10] रक्तपात गर्ने मानिसहरूले इमानदार मानिसलाई घृणा गर्छन्; र धर्मीलाई मार्न खोज्छन्।
[11] मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ, तर बुद्धिमान्ले यसलाई नियन्त्रणमा राख्छ।
[12] यदि कुनै शासकले झूटो कुरा सुन्यो भने, त्यसका सबै अधिकारीहरू दुष्ट हुनेछन्।
[13] गरिब र अत्याचारीमा यो कुरा समान हुन्छ: याहवेहले तिनीहरू दुवैका आँखालाई उज्यालो पार्नुहुन्छ।
[14] यदि राजाले गरिबहरूको ठिक न्याय गर्छन् भने, तिनको सिंहासन सदाको निम्ति स्थापित रहनेछ।
[15] सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ, तर अनुशासनहीन छोराछोरीले आफ्नी आमाको बेइज्जत गर्छन्।
[16] जब दुष्टको फलिफाप हुन्छ, तब पापको पनि फलिफाप हुन्छ; तर धर्मीले तिनीहरूको पतन देख्नेछ।
[17] आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्; तिमीले चाहेको खुशी तिनीहरूले ल्याउनेछन्।
[18] जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू आफूखुशी गर्छन्; तर त्यो मानिस धन्यको हो, जसले व्यवस्थालाई पालन गर्दछ।
[19] दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन; तिनीहरूले बुझे तापनि प्रतिउत्तर दिँदैनन्।
[20] के हतारसित बोल्ने मानिसलाई देखेका छौ? त्यसका निम्ति भन्दा त बरु एउटा मूर्खका निम्ति धेरै आशा हुन्छ।
[21] मानिसले आफ्नो दासलाई बाल्यकालदेखि नै पुलपुलायो भने, अन्त्यमा त्यो समस्या बन्नेछ।
[22] क्रोधी मानिसले झगडा मच्चाउँछ, अनि गरम मिजास भएका मानिसले धेरै पाप गर्छ।
[23] मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ; तर कोमल आत्मा भएको मानिसले सम्मान पाउँछ।
[24] चोरको साझेदार हुने त्यसको आफैँ शत्रु हुन्छ; त्यसले शपथ खाएर पनि साक्षी दिन आँटै गर्दैन।
[25] मानिसको डर पासोमा प्रमाणित हुन्छ; तर जसले याहवेहमाथि भरोसा राख्छ, ऊ सुरक्षित रहन्छ।
[26] धेरैले शासकको निगाह प्राप्त गर्न चाहन्छन्; तर मानिसले याहवेहबाट मात्र न्याय पाउँछ।
[27] भ्रष्ट मानिसले धर्मीलाई घृणा गर्छ; र दुष्टले धर्मी जीवन जिउनेलाई घृणा गर्छ।