Skip to content
Opens in a new window
Listen to this chapter • 3:53

[1] हे मेरो छोरा, मेरा वचनहरू पालन गर, र मेरा आज्ञाहरूलाई आफूभित्र साँचिराख।

[2] मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ, मेरा अर्तीहरूलाई आफ्नो आँखाको नानीजस्तै जोगाइराख।

[3] तिनलाई तिम्रा औँलाहरूमा बाँधिराख, तिनलाई आफ्नो हृदयको पाटीमा लेखिराख।

[4] बुद्धिलाई भन, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ “तिमी मेरो आफन्त हौ।”

[5] तिनले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीको चिप्ले कुराबाट बचाउनेछन्।

[6] आफ्नो घरको झ्यालमा त्यसको आँखीझ्यालबाट मैले बाहिर हेरेँ।

[7] मैले सोझाहरूको बीचमा, मैले जवान मानिसहरूमध्ये विवेक नभएको एउटा जवानलाई देखेँ।

[8] त्यो तल सडक छेउको त्यस स्त्रीको घरको कुनामा जाँदैथियो; त्यो त्यसकै घरको कुनातिर हिँड्दैथियो।

[9] दिन ढल्दै गरेको साँझको समय थियो, रातको अन्धकार बढ्दै थियो।

[10] तब एउटी स्त्री त्यसलाई भेट्न आई, चरित्रहीन स्त्रीको जस्तै वस्त्र पहिरेकी र धूर्त नियत भएकी,

[11] (त्यो चञ्चल र अभिमानी छे; त्यसका पाउहरू कहिल्यै घरमा बास बस्दैनन्,

[12] त्यो कहिले सडकमा त कहिले चोकहरूमा हुन्छे; त्यो प्रत्येक कुनाकाप्चामा ढुकिबस्छे।)

[13] तब त्यसले त्यसलाई समाती र चुम्बन गरी, अनि लाजै नमानी त्यसले भनी:

[14] “मैले घरमा मेलबलि चढाउनु परेको छ; आज मैले आफ्नो भाकल पूरा गरेकी छु।

[15] त्यसैले म तपाईंलाई भेट्न बाहिर आएकी हुँ, मैले तपाईंलाई खोजेँ, र अहिले भेट्टाएकी छु!

[16] मैले मेरो ओछ्यानमा इजिप्टबाट ल्याएको मलमलको रङ्गीन तन्‍ना बिछ्याएकी छु।

[17] मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनीको सुघन्धित अत्तर छर्केकी छु।

[18] आउनुहोस्, हामी बिहानसम्मै प्रेमले तृप्‍त बनौँ, हामी प्रेममा मस्त होऔँ!

[19] मेरा पति घरमा हुनुहुन्‍न, उहाँ लामो यात्रामा जानुभएको छ।

[20] उहाँले आफ्नो थैलीभरि रकम लानुभएको छ, र उहाँ पूर्णिमाको अगि घर फर्कनुहुन्‍न।”

[21] लोभ्याउने वचनहरूले उसले त्यसलाई बहकाई; उसले त्यसलाई मोहित कुराले फसाई।

[22] मारिनका निम्ति लगिएको गोरुझैँ, पासोमा फस्‍न लागेको मृगझैँ, त्यो तुरुन्तै त्यस स्त्रीको पछि लाग्यो,

[23] काँडले त्यसको कलेजो नरोपिएसम्म, एउटा चरा पासोमा पर्नलाई वेगसित उडिआए जस्तै, त्यसलाई आफ्नो प्राण गुमाउनुपर्छ भन्‍ने थाहा हुँदैन।

[24] अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, म जे भन्छु, त्यसमा ध्यान देओ।

[25] त्यस्ता स्त्रीतर्फ आफ्ना हृदय नफर्काओ, न त त्यसका मार्गहरूतिर हिँड।

[26] त्यसले धेरैलाई शिकार बनाएकी छे; त्यसद्वारा नष्‍ट पारिएकाहरू असंख्य छन्।

[27] त्यसको घर चिहानको राजमार्ग हो, जसले मृत्युका कोठाहरूतिर पुर्‍याउँछ।

हितोपदेश — Chapters