Skip to content
Opens in a new window
Listen to this chapter • 5:19

[1] हे मेरो छोराछोरी, यदि तिमी आफ्नो छिमेकीका जमानी बसेका छौ भने, वा पराईसँग वाचा बाँधेका छौ भने,

[2] यदि आफूले बोलेको कुरामा तिमी फसेको छौ भने, र आफ्नै मुखको वचनले पासोमा फस्यौ भने,

[3] हे मेरो छोराछोरी, तिमी आफ्नो छिमेकीको पन्जामा परेको हुनाले; आफूलाई मुक्त पार्न यसो गर: जाऊ र आफूलाई नम्र पार, र छिमेकीसँग खुरन्धार बिन्ती गर।

[4] तिम्रा आँखाहरूलाई सुत्न नदेऊ, र तिम्रा आँखाको पलकलाई निदाउन नदेऊ।

[5] शिकारीको हातबाट हरिण उम्केजस्तै, व्याधाको हातबाट चरा फुत्केजस्तै तिमीले आफूलाई मुक्त गर।

[6] ए अल्छे, कमिलाकहाँ गएर त्यसको चालढङ्ग हेर्, र बुद्धिमानी बन्!

[7] त्यसको कोही सेनापति हुँदैन, न त रेखदेख गर्ने शासक नै हुन्छ,

[8] तरै पनि त्यसले ग्रीष्म ऋतुमा अन्‍नको भण्डार तयार गर्छ, र कटनीको समयमा आफ्नो खानेकुरा जम्मा गर्छ।

[9] ए अल्छे, कहिलेसम्म तँ त्यहाँ ढल्किरहन्छस्? तँ आफ्नो निद्राबाट कहिले जाग्छस्?

[10] एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले,

[11] तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।

[12] दुष्‍ट र उपद्रवी मानिस, जो भ्रष्‍ट मुख लिएर यताउति गर्दै हिँड्छ,

[13] जसले आँखा झिम्काउँछ, आफ्ना खुट्टाले इसारा गर्छ; र औँलाले चलाउँछ,

[14] आफ्नो छली हृदयमा त्यसले दुष्‍ट कुरा रच्दछ। त्यसले सधैँ विवाद उत्पन्‍न गराउँछ।

[15] यसकारण विपत्ति त्यसमाथि अचानक आइलाग्नेछ; त्यो अचानक उपायविना नै नष्‍ट हुनेछ।

[16] यी छ वटा कुराहरू याहवेहले घृणा गर्नुहुन्छ, सात वटा कुराहरू उहाँमा तुच्छ छन्:

[17] अहङ्कारी आँखा, झूटो बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात,

[18] दुष्‍ट युक्ति रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाउहरू,

[19] असत्य थुपार्ने झूटो साक्षी र समुदायको बीचमा कलह उठाउने मानिस।

[20] हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर; र आफ्नी आमाको शिक्षालाई नत्याग।

[21] त्यसलाई तिम्रो हृदयमा सधैँको लागि टाँसी राख, त्यसलाई तिम्रो गलामा बाँधिराख।

[22] जब तिमी हिँड्छौ, त्यसले तिमीलाई अगुवाइ गर्नेछ; जब तिमी निदाउँछौ, त्यसले तिम्रो सुरक्षा गर्नेछ; जब तिमी जाग्नेछौ, त्यसले तिमीलाई सल्‍लाह दिनेछ।

[23] किनकि यो आज्ञा एउटा बत्ती हो, र शिक्षाचाहिँ ज्योति हो; अनि अनुशासनको सुधार जीवनका मार्ग हुन्,

[24] जसले तिमीलाई चरित्रहीन स्त्रीबाट, स्वेच्छाचारी पत्नीको चिप्ले कुराबाट बचाउँछ।

[25] तिम्रो हृदयमा त्यसको सुन्दरताको चाहना नगर; त्यसका आँखाले तिमीलाई वशमा नपारोस्।

[26] किनकि वेश्याले तिमीलाई रोटी समान बनाउँछे, तर अर्काकी पत्नीले झन् तिम्रो जीवनलाई नै शिकार बनाउँछे।

[27] के मानिसले आफ्नो काखमा आगो राख्यो भने उसको लुगा डढ्दैन र?

[28] के मानिस भुङ्ग्रोमाथि हिँड्यो भने त्यसका पाउहरू जल्दैन र?

[29] त्यसरी नै जो मानिस अर्काकी पत्नीसित सुत्छ, त्यसलाई छुने कोही पनि दण्ड नपाई उम्कनेछैन।

[30] भोकले मर्न लागेको चोरले आफ्नो भोक मेटाउनलाई चोरी गरेकोमा कसैले त्यसलाई तुच्छ ठान्दैन।

[31] तर यदि त्यो पक्राउ पर्‍यो भने त्यसले सात गुणा बढी तिर्नुपर्छ; चाहे त्यो उसको घरको सम्पूर्ण धन नै किन नहोस्।

[32] तर व्यभिचार गर्ने व्यक्तिसित विवेक हुँदैन; यसो गर्ने सबैले आफूलाई नष्‍ट गर्छन्।

[33] मुक्‍का र अपमान त्यसको भाग हुनेछ; र त्यसको अपमान कहिल्यै मेटिनेछैन।

[34] किनकि डाहले पतिको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्यसले बदला लिनेछ।

[35] त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन; त्यसले जतिसुकै ठूलो घूसलाई पनि अस्वीकार गर्नेछ।

हितोपदेश — Chapters