[1] नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोर वचनले रिस उठाउँछ।
[2] बुद्धिमान्को जिब्रोले ज्ञानको कुरा गर्छ; तर मूर्खको मुखले मूर्खताकै कुरा पोख्छ।
[3] याहवेहको नजर सर्वत्र रहन्छ; उहाँले दुष्ट र सज्जन दुवैमाथि नजर राखिरहनुहुन्छ।
[4] निको पार्ने जिब्रो जीवनको रूख हो; तर छली जिब्रोले आत्मालाई चोट पुर्याउँछ।
[5] मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ; तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ।
[6] धर्मी जनको घरमा प्रशस्त धन हुन्छ; तर दुष्टको कमाइले तिनीहरूमाथि विपत्ति ल्याउँछ।
[7] बुद्धिमान्का ओठले ज्ञान फैलाउँछ; तर मूर्खका हृदयले भने त्यस्तो गर्दैन।
[8] दुष्टका बलिदानलाई याहवेहले घृणा गर्नुहुन्छ; तर धर्मीका प्रार्थनाले उहाँलाई प्रसन्न तुल्याउँछ।
[9] याहवेहले दुष्टको मार्गलाई घृणा गर्नुहुन्छ; तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ।
[10] आफ्नो अनुशासनको मार्ग त्याग्नेले कठोर ताडना भोग्नुपर्छ; जसले सुधारलाई घृणा गर्छ, त्यो मर्नेछ।
[11] मृत्यु र विनाश दुवै याहवेहको सामु खुलस्त रहन्छन्; मानिसको हृदय झन् कति खुलस्त होला!
[12] गिल्ला गर्नेले सुधारलाई मन पराउँदैन; त्यसैले तिनीहरू बुद्धिमान्लाई तिरस्कार गर्छन्।
[13] हर्षित हृदयले अनुहार प्रसन्न पारिदिन्छ; तर दुःखित हृदयले आत्मालाई चोट पुर्याउँछ।
[14] विवेकशील हृदयले ज्ञानको खोजी गर्छ; तर मूर्खको भोजन मूर्खता हो।
[15] थिचोमिचोमा परेकाहरूका सबै दिन अति दुःखमय हुन्छ; तर प्रसन्न हृदय सधैँ सुखी हुन्छ।
[16] धेरै सम्पत्ति भएर चिन्तित हुनुभन्दा याहवेहको भयको साथमा थोरै धन हुनु नै असल हो।
[17] घृणाले भरिएको घरमा पोसाएको बहरको मासु खानुभन्दा बरु प्रेमसित सागसब्जी खानु नै बेस हो।
[18] तातो रिस भएको मानिसले झगडा उत्पन्न गराउँछ; तर धैर्यवान् मानिसले कलह शान्त गराउँछ।
[19] अल्छेको मार्ग काँडाले छेकेको हुन्छ; तर धर्मीको मार्गचाहिँ राजमार्ग हो।
[20] बुद्धिमान् छोराछोरीले आफ्नो बुबालाई हर्षित तुल्याउँछ, तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ।
[21] विवेकहीन मानिसलाई मूर्खताले आनन्द दिन्छ; तर समझशक्ति भएको मानिस सीधा बाटोमा हिँड्छ।
[22] सल्लाहको अभावमा योजनाहरू असफल हुन्छन्; तर धेरै सल्लाहकार छन् भने ती सफल हुन्छन्।
[23] उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ; र ठिक समयमा भनिएको वचन कति असल हुन्छ!
[24] समझदार मानिसलाई जीवनको बाटोले माथितिर डोर्याउँछ; त्यसले उसलाई तल पातालतिर जानदेखि जोगाउँछ।
[25] याहवेहले अहङ्कारी मानिसको घर भताभुङ्ग पारिदिनुहुन्छ, तर उहाँले विधवाको सिमाना स्थिर राख्नुहुन्छ।
[26] याहवेह दुष्टका विचारहरूलाई घृणा गर्नुहुन्छ; तर शुद्ध वचन उहाँलाई मन पर्छ।
[27] लोभीले आफ्नो परिवारमा विनाश ल्याउँछ; तर जसले घूसलाई घृणा गर्छ, त्यो बाँच्नेछ।
[28] धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ; तर दुष्टको मुखले खराबी कुराहरू पोखिहाल्छ।
[29] याहवेह दुष्टदेखि टाढै रहनुहुन्छ; तर उहाँले धर्मीको प्रार्थना सुन्नुहुन्छ।
[30] हँसिलो अनुहारले हृदयमा आनन्द ल्याउँछ; र असल समाचारले हड्डीलाई हर्षित तुल्याउँछ।
[31] जसले जीवन दिने हप्कीलाई सुन्छ, त्यो बुद्धिमान्हरूका साथमा रहनेछ।
[32] अनुशासनको वास्ता नगर्नेले आफूलाई घृणा गर्छ; तर सुधारमा ध्यान दिनेले समझशक्ति प्राप्त गर्छ।
[33] याहवेहप्रतिको श्रद्धाले नै मानिसलाई बुद्धि सिकाउँछ; अनि सम्मान पाउनुभन्दा अगि नम्रता आउँछ।