Skip to content
Opens in a new window
Listen to this chapter • 5:19

[1] बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे; तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।

[2] याहवेहको डर मान्‍नेहरू सत्यतामा जिउँछन्, तर उहाँलाई तुच्छ ठान्‍नेहरू कुमार्गमा हिँड्छन्।

[3] मूर्खको बोलीले आफ्नै पिठिउँमा छडी निम्त्याउँछ; तर बुद्धिमान्‌को ओठले तिनीहरूलाई बचाउँछ।

[4] जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ; तर गोरुको बलबाट प्रशस्त फसल कटनी हुन्छ।

[5] साँचो साक्षीले धोका दिँदैन; तर झूटो साक्षीले असत्य कुराहरू पोख्छ।

[6] गिल्‍ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन; तर विवेकशील व्यक्तिले सजिलैसित ज्ञान प्राप्‍त गर्छ।

[7] मूर्ख मानिसबाट टाढै बस, किनकि उसको ओठमा ज्ञानको कुरा पाइँदैन।

[8] विवेकशील मानिसको बुद्धिले त्यसलाई सही मार्ग दिन्छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।

[9] दोष मूर्खहरूका निम्ति ठट्ठाको विषय हो; तर धर्मीहरूमा भने सद्भावना पाइन्छ।

[10] प्रत्येक मनको तितोपनाले नै जान्दछ; र कोही त्यसको आनन्दको सहभागी हुन सक्दैन।

[11] दुष्‍टको घर भत्काइनेछ; तर धर्मीको पालमा फलिफाप हुनेछ।

[12] कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ।

[13] मुखमा हाँसो भए तापनि हृदयमा वेदना हुन सक्छ; र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ।

[14] विश्‍वासहीनहरूलाई तिनीहरूको चाल अनुसारको प्रतिफल दिइनेछ; र असल मानिसले आफ्नो कामको प्रतिफल पाउनेछ।

[15] सोझो मानिसले हरेक कुरामा विश्‍वास गर्छ; तर विवेकशील मानिसले आफ्ना पाइलाहरूबारे विचार गर्छ।

[16] बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्‍टतादेखि परै बस्छ; तर मूर्खचाहिँ अहङ्कारी हुन्छ, विस्वस्त हुन्छ।

[17] झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ; र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ।

[18] रिसाहाले मूर्खता कमाउँछन्, तर विवेकशीलहरूले ज्ञानको मुकुट लगाउँछन्।

[19] खराब मानिसहरू असल मानिसहरूका सामु, र दुष्‍टहरू धर्मीहरूका मूलढोकाको सामु झुक्नेछन्।

[20] गरिबहरू आफ्नै छिमेकीद्वारा त्यागिन्छन्; तर धनीको धेरै मित्रहरू हुन्छन्।

[21] आफ्नो छिमेकीलाई तुच्छ ठान्‍नेले पाप गर्छ; तर त्यो मानिस धन्य हो, जसले अभावमा परेकाहरूमाथि दया देखाउँछ।

[22] के दुष्‍ट योजना रच्नेहरू बरालिँदैनन् र? तर असल योजना बनाउनेहरूले प्रेम र विश्‍वासयोग्यता प्राप्‍त गर्छन्।

[23] सबै कठोर परिश्रमले लाभ ल्याउँछ; तर कुरा मात्र गर्ने मानिसचाहिँ गरिबीमा पुग्छ।

[24] बुद्धिमान्‌को धन तिनीहरूको मुकुट हो; तर मूर्खहरूको मूर्खपनाले मूर्खता मात्र उत्पन्‍न गराउँछ।

[25] साँचो साक्षीले जीवन बचाउँछ; तर झूटो साक्षी छलपूर्ण हुन्छ।

[26] याहवेहको डर मान्‍नेको किल्‍ला सुरक्षित रहन्छ; र त्यसका छोराछोरीको लागि त्यो एक शरणस्थान हुनेछ।

[27] याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।

[28] ठूलो जनसंख्या राजाको महिमा हो; तर प्रजाविनाको शासक नष्‍ट हुन्छ।

[29] धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ।

[30] शान्त हृदयले शरीरलाई जीवन दिन्छ; तर ईष्‍र्याचाहिँ हड्डीहरूका निम्ति क्यान्सरजस्तै हुन्छ।

[31] गरिबलाई थिचोमिचो गर्नेले आफ्ना सृष्‍टिकर्ताप्रति अपमान दर्शाउँछ; तर खाँचोमा परेकाहरूप्रति दयालु हुनेले परमेश्‍वरलाई सम्मान दिन्छ।

[32] जब विपत्ति आउँछ, दुष्‍टहरूको पतन हुन्छ; तर धर्मीले चाहिँ मृत्युमा पनि परमेश्‍वरको आश्रय पाउँछ।

[33] बुद्धिमान्‌को हृदयमा बुद्धिले बास गर्छ, र मूर्खहरूको बीचमा पनि त्यसले आफूलाई प्रकट गराउँछ।

[34] धार्मिकताले राष्ट्रलाई उच्‍च तुल्याउँछ; तर पाप गर्नुचाहिँ कुनै पनि जातिको निम्ति कलङ्क हुन्छ।

[35] बुद्धिमान् सेवकसँग राजा प्रसन्‍न रहन्छन्; तर शर्मलाग्दो सेवकले तिनको रिस जगाउँछ।

हितोपदेश — Chapters