Skip to content
Opens in a new window
Listen to this chapter • 4:31

[1] भ्रष्‍ट ओठ भएको मानिसभन्दा त निर्दोष जीवन भएको गरिब असल हो।

[2] ज्ञानविनाको उत्साह असल हुँदैन; हतार गर्नेले बाटो बिराउँछ।

[3] मानिसको आफ्नै मूर्खताले त्यसको जीवन बरबादीमा पुर्‍याउँछ; तरै पनि त्यसको हृदयले याहवेहको विरुद्धमा रिस प्रकट गर्छ।

[4] धनले धेरै मित्रहरू बनाउँछ; तर गरिबको सबैभन्दा नजिकको साथीले पनि तिनीहरूलाई त्यागिदिन्छ।

[5] झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन, र झूटो कुरा गर्ने मानिस स्वतन्त्र हुँदैन।

[6] धेरैले शासकदेखि निगाह प्राप्‍त गर्न चाहन्छन्; र सबै मानिसहरू उपहार दिनेको मित्र हुन्छन्।

[7] गरिब मानिस आफ्नै नातेदारहरूद्वारा घृणा गरिन्छ, त्यसका मित्रहरू झन् त्यसबाट कति टाढा रहलान्! त्यसले बिन्तीभाउ गरी तिनीहरूका पछि लागे तापनि तिनीहरू केही प्रतिक्रिया दिँदैनन्।

[8] बुद्धि पाउनेले आफ्नै जीवनलाई प्रेम गर्छ; समझशक्तिको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ।

[9] झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन; र झूटो कुरा गर्ने नष्‍ट हुनेछ।

[10] मूर्खलाई विलासी भएर बस्‍न सुहाउँदैन; दासलाई राजकुमारहरूमाथि शासन गर्न झन् पटक्‍कै सुहाउँदैन!

[11] बुद्धिले मानिसलाई धैर्यता दिन्छ; अपराध बेवास्ता गर्नुचाहिँ उसको लागि महिमा हुन्छ।

[12] राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ; तर तिनको निगाहचाहिँ घाँसमाथि परेको शीतजस्तै हुन्छ।

[13] मूर्ख छोराछोरी आफ्ना बुबाको लागि पतन हो; र कचकचे पत्नीचाहिँ तपतप चुहिरहने छानाजस्तै हो।

[14] घर र सम्पत्ति आमाबुबाबाट आएका हुन्छन्, तर विवेकी पत्नीचाहिँ याहवेहले मात्र दिन सक्नुहुन्छ।

[15] अल्छेपनले घोर निद्रा ल्याउँछ, र काम नगर्ने मानिस भोकै रहन्छ।

[16] आज्ञापालन गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर तिनलाई तिरस्कार गर्नेहरू मर्नेछन्।

[17] गरिबहरूप्रति दयालु हुनेले याहवेहलाई सापट दिन्छ, र उहाँले तिनीहरूको कामको प्रतिफल फिर्ता दिनुहुनेछ।

[18] आफ्नो छोराछोरीलाई अनुशासनमा राख; किनकि त्यसमा आशा हुन्छ, तिनीहरूको मृत्युमा सहभागी नहोऊ।

[19] रिसाहा मानिसले परिणाम भोग्नैपर्छ; त्यसलाई उम्कन दियौ भने फेरि पनि तिमीले त्यसै गर्नुपर्नेछ।

[20] सल्‍लाह सुन, र अनुशासनलाई ग्रहण गर, र तिम्रो जीवनभरि तिमी बुद्धिमान् हुनेछौ।

[21] मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्, तर अन्ततः याहवेहकै उद्देश्य पूरा हुन्छ।

[22] मानिसले अचुक प्रेमको इच्छा राख्छ; झूटो बोल्ने हुनुभन्दा बरु गरिब हुनु नै बेस हो।

[23] याहवेहप्रतिको श्रद्धाले जीवनमा पुर्‍याउँछ, तब मानिस ढुक्‍कसँग रहन्छ; दुःखले त्यसलाई छुँदैन।

[24] अल्छेले आफ्नो हात थालमा हाल्छ, र त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि ल्याउन चाहँदैन!

[25] गिल्‍ला गर्नेलाई कोर्रा लगाऊ, यो देखेर सोझो मानिस चनाखो बन्‍नेछ; विवेकशील मानिसहरूलाई हप्काऊ, र तिनीहरूले ज्ञान बढाउनेछन्।

[26] आफ्ना बुबालाई लुट्ने र आफ्नी आमालाई बाहिर निकाल्ने छोराछोरीले शर्म र कलङ्क ल्याउँदछन्।

[27] हे मेरा छोराछोरी, अर्तीलाई सुन्‍न छोड्यौ भने, तिमीहरू ज्ञानका वचनहरूदेखि बहकिनेछौ।

[28] भ्रष्‍ट गवाहीले न्यायलाई खिसी गर्छ, र दुष्‍टको मुखले दुष्‍टतालाई निल्छ।

[29] खिसी गर्नेहरूका निम्ति दण्ड, र मूर्खहरूका पिठिउँका निम्ति पिटाइ तयार पारिएका हुन्छन्।

हितोपदेश — Chapters