Skip to content
Opens in a new window
Listen to this chapter • 4:00

[1] ग्रीष्मकालमा हिउँ र कटनीको समयमा पानी परेजस्तै, मूर्खलाई सम्मान सुहाउँदैन।

[2] भुर्र उड्ने भँगेरा र बेगले उड्ने गौँथलीजस्तै, कारणविनाको श्राप पनि लाग्दैन।

[3] घोडाको लागि कोर्रा, गधाको लागि लगाम, र मूर्खहरूका पिठिउँमा छडी लगाउनुपर्छ!

[4] मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ, नत्रता तिमी आफू पनि त्योजस्तै हुनेछौ।

[5] मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ देऊ, नत्रता त्यो आफ्नै दृष्‍टिमा बुद्धिमान् हुनेछ।

[6] मूर्खको हातमा समाचार पठाउनु भनेको आफ्नो खुट्टा काट्नु वा विष पिउनुजस्तै हो।

[7] मूर्खको मुखमा हितोपदेश अपाङ्ग मानिसको झुण्डिएको खुट्टाजस्तै हो।

[8] मूर्खलाई सम्मान दिनु घुयेँत्रोमा ढुङ्गा बाँधेजस्तै हो।

[9] मूर्खको मुखमा हितोपदेश मतवालाको हातमा भएको काँडे झारजस्तै हो।

[10] मूर्ख वा कुनै बटुवालाई ज्यालामा लगाउनु धनुर्धारीले जथाभाबी काँड हानेर चोट लगाएजस्तै हो।

[11] कुकुर आफ्नै बान्तामा फर्किआएजस्तै, मूर्खले आफ्नो मूर्खता दोहोर्‍याउँछ।

[12] के तिमी कुनै मानिसलाई आफ्नै दृष्‍टिमा बुद्धिमानी देख्छौ? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ।

[13] अल्छेले भन्छ, “बाटोमा सिंह छ, एउटा डरलाग्दो सिंह गल्‍लीहरूमा डुलिरहेको छ।”

[14] ढोका कब्जामा यताउता फर्केजस्तै, अल्छे आफ्नो ओछ्यानमा यताउता पल्टिन्छ।

[15] अल्छेले आफ्नो हात थालमा राख्छ, तर त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि पुर्‍याउन अल्छी मान्छ।

[16] सात जना मानिसले बुद्धिपूर्वक जवाफ दिएकोभन्दा, एक जना अल्छे आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ।

[17] बाटो हिँड्ने मानिसले अर्काको झगडामा हस्तक्षेप गर्नु, कुकुरलाई कानमा समात्नुजस्तै हो।

[18] आफ्नो छिमेकीलाई छल गरिसकेपछि, “मैले त ठट्टा मात्र गरेको हो!” भन्‍ने व्यक्ति अगुल्टो वा घातक काँड हान्‍ने बौलाहाजस्तो हो।

[20] दाउराविना आगो निभ्छ; कुरौटेविना झगडा शान्त हुन्छ।

[21] भुङ्ग्राको लागि कोइला, र आगोको लागि दाउराजस्तै, झगडा मच्च्याउनको लागि झगडालु मानिस हुन्छ।

[22] कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्।

[23] माटोको भाँडोमा चाँदीको जलप लगाएजस्तै, दुष्‍ट हृदयका जोशिला ओठ हुन्छन्।

[24] शत्रुले अरूप्रति आफ्नो घृणा मधुर शब्दहरूले लुकाउँछ, तर त्यसको हृदयमा चाहिँ छल भरिएको हुन्छ।

[25] त्यसको बोली मनमोहक भए तापनि त्यसमा विश्‍वास नगर; किनकि त्यसको हृदय सात वटा घिनलाग्दा कुराले भरिएको हुन्छ।

[26] त्यसको घृणा छलद्वारा ढाकिएको हुन्छ, तर त्यसको दुष्‍टता सभामा प्रकट गरिनेछ।

[27] कुनै मानिसले खाडल खन्यो भने त्यो आफैँ त्यसमा पर्नेछ; कुनै मानिसले ढुङ्गा गुडायो भने त्यो गुडेर त्यसतर्फ फर्कनेछ।

[28] झूटो बोल्ने जिब्रोले जसलाई चोट पार्छ, त्यसैलाई घृणा गर्छ, र चापलुसी घस्‍ने मुखले विनाश ल्याउँछ।

हितोपदेश — Chapters