[1] सोलोमनका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका मानिसहरूले नक्कल गरे:
[2] कुनै कुरा गोप्य राख्दा परमेश्वरको महिमा हुन्छ; कुनै कुरा खोजी निकाल्दा राजाहरूको महिमा हुन्छ,
[3] जसरी आकाशहरू उच्च छन् र पृथ्वी गहिरो, त्यसरी नै राजाहरूका हृदय बुझ्न सकिँदैन।
[4] चाँदीबाट अशुद्धता निकालिदेऊ, ताकि त्यसबाट शिल्पकारले कुनै सामान बनाओस्।
[5] राजाको उपस्थितिबाट दुष्ट अधिकारीहरूलाई निकालिदेऊ, र तिनको सिंहासन धार्मिकतामाथि स्थापित हुनेछ।
[6] राजाको उपस्थितिमा तिमीले आफूलाई उच्च नपार, र महान् व्यक्तिहरूको बीचमा आफ्नो स्थानको दाबी नगर।
[7] तिनले तिमीलाई भारदारहरूका सामु अनादर गर्नुभन्दा, तिमीलाई “यहाँ माथितिर आऊ” भनिनुचाहिँ असल हुन्छ। तिमीले आफ्नो आँखाले देखेका कुरा
[8] झट्टै अदालतमा नलैजाऊ; किनकि अन्त्यमा तिम्रो छिमेकीले तिमीलाई शर्ममा पार्यो भने तिमी के गर्छौ?
[9] आफ्नो छिमेकीसित बहस गर्दा, अर्को मानिसको गोपनीयतामा विश्वासघात नगर,
[10] नत्रता त्यो सुन्नेले तिमीलाई शर्ममा पार्नेछ, र तिम्रो बदनाम कहिल्यै मेटिनेछैन।
[11] ठिकसित बोलिएको वचन चाँदीको डालोमा सुनका स्याउहरूजस्तै हुन्छन्।
[12] सुन्ने कानलाई बुद्धिमान् मानिसको हप्की सुनका लुर्का अथवा निखुर सुनका गहनाजस्तै हो।
[13] कटनीको समयमा हिउँको चिसोजस्तै, विश्वासयोग्य दूत उसलाई पठाउनेको निम्ति हुन्छ; उसले आफ्ना मालिकको आत्मालाई उत्साहित तुल्याउँछ।
[14] झरीविनाका बादल र बतासजस्तै, आफूले नदिएको दानमा धाक लगाउने मानिस हुन्छ।
[15] धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ; र मिठो वचनले हड्डी तोडिदिन सक्छ।
[16] मह भेट्टायो भने चाहिने जति मात्र खाऊ; धेरै खायौ भने तिमीले बान्ता गर्नेछौ।
[17] तिम्रो छिमेकीको घरमा कहिलेकाहीँ मात्र जाने गर; घरी-घरी देख्दा त्यसले तिमीलाई घृणा गर्नेछ।
[18] आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी दिने मानिस मुङ्ग्रो र तरवार वा तीखो काँडजस्तै हो।
[19] विपत्तिको समयमा विश्वासघाती मानिसमाथि भरोसा गर्नु, भाँचिएको दाँत अथवा भाँचिएको खुट्टाजस्तै हो।
[20] दुःखी हृदय भएकालाई गीत सुनाइदिने मानिस, जाडोको दिनमा लुगा खोस्ने मानिसजस्तै अथवा घाउमा चूक हालेजस्तै हो।
[21] यदि तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई भोजन खान देऊ; यदि त्यो तिर्खाएको छ भने त्यसलाई पानी पिउन देऊ।
[22] यसो गर्नाले तिमीले त्यसको टाउकोमाथि बलिरहेका कोइलाहरू खन्याउनेछौ; र याहवेहले तिमीलाई पुरस्कार दिनुहुनेछ।
[23] उत्तरी बतासले अचानक पानी ल्याएजस्तै धूर्त जिब्रोले रिसाएको अनुहारलाई ल्याउँछ।
[24] कचकचे पत्नीसित एउटै घरमा बस्नुभन्दा घरको कौसीको एउटा कुनामा बस्नु असल हो।
[25] टाढा देशबाट आएको शुभ समाचार, थाकेको प्राणको लागि चिसो पानीजस्तै हो।
[26] दुष्ट मानिसको अगि झुक्ने धर्मी मानिस, हिलो पानीको मूल अथवा दूषित कुवाजस्तै हो।
[27] धेरै मह खानु असल होइन, न त आफ्नै मान खोज्नु सम्मानजनक हो।
[28] आत्मसंयम नभएका मानिस, पर्खाल भत्काइएको सहरजस्तै हो।