[1] दावीदका पुत्र, यरूशलेमका राजा, उपदेशकका वचनहरू:
[2] “अर्थहीन नै अर्थहीन!” उपदेशकले भन्दछन्, “पूर्ण रूपमा अर्थहीन! सबै थोक अर्थहीन हुन्।”
[3] मानिसहरूले सूर्यमुनि गरेका सबै परिश्रमबाट तिनीहरूलाई के नै लाभ हुन्छ र?
[4] पुस्ताहरू आउँछन्, र पुस्ताहरू जान्छन्; तर पृथ्वी सदासर्वदा रहिरहन्छ।
[5] सूर्य उदाउँछ, र सूर्य अस्ताउँछ; अनि जुन ठाउँबाट उदाएको थियो फेरि हतारिँदै आफ्नै ठाउँतिर फर्किजान्छ।
[6] बतास दक्षिणतिर बहन्छ, र फेरि उत्तरतिर फर्कन्छ; त्यो फन्को मार्दै, फेरि फन्को मार्दै फर्केर आउँछ।
[7] सबै नदीनालाहरू बगेर समुद्रमै जान्छन्, र पनि समुद्र कहिल्यै भरिँदैन; जुन स्थानबाट ती नदीनालाहरू आउँछन्, ती फेरि त्यतैतिर फर्केर जान्छन्।
[8] सबै थोक विरक्तलाग्दा छन्, कसैले ती वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्ट हुँदैन; न त सुनेर कान तृप्त हुन्छ।
[9] जे भएको थियो, त्यही फेरि हुनेछ; जे गरिएको थियो, फेरि त्यही गरिनेछ; सूर्यमुनि कुनै कुरा नयाँ छैन।
[10] के कुनै कुरो यस्तो छ, जसबारे कसैले भन्न सक्छ, “हेर! योचाहिँ नयाँ कुरा हो?” त्यो धेरै पहिलेदेखि नै यहाँ थियो, हाम्रो समयभन्दा पनि धेरै पहिलेदेखि।
[11] विगतका पुस्ताहरूलाई कसैले सम्झनेछैन, र आउनेवालाहरूलाई पनि कसैले सम्झनेछैन; त्यसपछि आउनेहरूले पनि सम्झना गर्नेछैनन्।
[12] म उपदेशक, यरूशलेममा इस्राएलको राजा थिएँ।
[13] आकाशमुनि जे जति गरिन्छन्, ती सबै बुद्धिद्वारा अध्ययन र अनुसन्धान गर्न भनेर मैले मेरो मनलाई लगाएँ। परमेश्वरले मानिस जातिलाई कति कठिन बोझ दिनुभएको छ, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्।
[14] सूर्यमुनि गरिने सबै काम मैले देखेको छु; ती सबै अर्थहीन हुन्, बतासलाई खेदेको जस्तो मात्र हो।
[15] जे बाङ्गो छ, त्यसलाई सीधा पार्न सकिँदैन; अनि जे कुरा छँदैछैन, त्यसको गन्ती हुँदैन।
[16] मैले मनमनै भनेँ, “हेर, मभन्दा अगि यरूशलेममा राज्य गर्ने सबैले भन्दा धेरै बुद्धि मैले प्राप्त गरेको छु; धेरै बुद्धि र ज्ञान मैले अनुभव गरेको छु।”
[17] तब बुद्धि के रहेछ भनी बुझ्नलाई आफ्नो मन लगाएँ; यसै गरी पागलपन र मूर्खतामा पनि; अनि यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भनी मैले जानेँ।
[18] किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ; र धेरै ज्ञानले त्यससँगै धेरै कष्ट पनि बढाउँछ।