Skip to content
Opens in a new window
Listen to this chapter • 4:20

[1] भोलिको घमण्ड नगर; किनकि त्यो कस्तो दिन हुनेछ, सो तिमी जान्दैनौ।

[2] तिम्रो प्रशंसा आफ्नै मुखले होइन, तर अरू कसैबाट होस्; कुनै अपरिचितबाट, तर तिम्रो ओठबाट होइन।

[3] ढुङ्गा गह्रौँ र बालुवा ओजनदार हुन्छ, तर मूर्खको क्रोध यी दुवैभन्दा गह्रौँ हुन्छ।

[4] रिस निर्दयी र क्रोध बाढीझैँ हुन्छ; तर डाहको अगि को खडा हुन सक्छ र?

[5] गुप्‍तको प्रेमभन्दा खुल्‍लमखुल्‍ला हप्की असल हुन्छ।

[6] मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ; तर शत्रुले चुम्बनको वर्षा गर्छ।

[7] अघाएको पेटले मह रुचाउँदैन, तर भोकाएकाहरूलाई तितो पनि मिठो हुन्छ।

[8] घरदेखि टाढा बरालिएको मानिस, आफ्नो गुँडदेखि टाढा भड्किरहेको चरोजस्तै हो।

[9] अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ; र मित्रको आनन्द त्यसको आन्तरिक सल्‍लाहबाट आउँछ।

[10] आफ्नो मित्र वा आफ्नो परिवारका मित्रलाई नत्याग, तिमीलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ; किनकि टाढा बस्‍ने आफन्तभन्दा नजिक बस्‍ने छिमेकी असल हुन्छ।

[11] हे मेरा छोराछोरी, बुद्धिमान् होऊ, र मेरो हृदयलाई आनन्दित बनाइदेऊ; तब मलाई हेला गर्नेहरूलाई म जवाफ दिन सक्नेछु।

[12] विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ र परिणाम भोग्छ।

[13] परदेशीको जमानी बस्‍नेको लुगा लिइराख; परदेशीको जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख।

[14] कुनै मानिसले एकाबिहानै आफ्नो छिमेकीलाई चर्को सोरमा आशिष् दिन्छ भने, त्यो त त्यसका निम्ति श्राप दिएजस्तो हुनेछ।

[15] झगडालु पत्नी मुसलधारे पानी परेको दिन तपतप चुहिरहने छानोजस्तै हो,

[16] त्यसलाई वशमा राख्नु बतासलाई वशमा राख्नुजस्तो हो, अथवा हातले तेललाई च्याप्प पक्रनुजस्तै हो।

[17] फलामले फलामलाई धारिलो बनाएजस्तै, एउटा मानिसले अर्को मानिसलाई तिखार्छ।

[18] अञ्जीरको बोट स्याहार्नेले त्यसको फल खानेछ; र आफ्ना मालिकको रेखदेख गर्ने व्यक्ति सम्मानित हुनेछ।

[19] पानीमा अनुहार प्रतिविम्बित भएजस्तै, मानिसको हृदयले व्यक्तित्वलाई प्रतिविम्बित पार्छ।

[20] मृत्यु र विनाश कहिल्यै सन्तुष्‍ट हुँदैनन्, न त मानिसका आँखा नै सन्तुष्‍ट हुन्छ।

[21] चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ, तर मानिसलाई चाहिँ त्यसले पाएको प्रशंसाद्वारा जाँचिएको हुन्छ।

[22] मूर्खलाई ओखलीमा पिँधे तापनि वा त्यसलाई जाँतोमा राखेर अन्‍नझैँ पिँधे तापनि तिमीले त्यसको मूर्खता निकाल्न सक्नेछैनौ।

[23] तिम्रा भेडाबाख्राहरूको अवस्था राम्ररी थाहा गर, आफ्ना बगालप्रति सावधानीपूर्वक ध्यान देऊ;

[24] किनकि धनसम्पत्ति सधैँ रहिरहँदैन; र मुकुट पुस्ता-पुस्तासम्म सुरक्षित रहँदैन।

[25] जब पराल हटाइन्छ, र नयाँ पालुवा देखा पर्छ, अनि डाँडा-पाखाहरूबाट घाँस बटुलिन्छ,

[26] तब भेडाहरूले तिमीलाई वस्त्रको प्रबन्ध गरिदिन्छन्; र बाख्राहरूले जमिनको निम्ति पैसाको प्रबन्ध गरिदिन्छन्।

[27] तिमीसित बाख्रीका दूध प्रशस्त हुनेछ, जसबाट तिमी र तिम्रो परिवारलाई खान पुग्नेछ, र तिम्रा नोकर्नीहरूलाई पोषण हुनेछ।

हितोपदेश — Chapters