Skip to content
Opens in a new window
Listen to this chapter • 3:18

[1] विश्रामदिनपछि, अर्थात् हप्‍ताको पहिलो दिन एकाबिहानै मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए।

[2] अचानक ठूलो भुइँचालो गयो; किनकि प्रभुका एकजना दूतले स्वर्गबाट ओर्लिआएर चिहानमा गई त्यस ढुङ्गालाई हटाए, अनि तिनी त्यसमाथि बसे।

[3] तिनको मुहार बिजुली चम्केजस्तो र लुगा हिँउजस्तो सेतो थियो।

[4] ती पहरादारहरू यति साह्रो डराए कि तिनीहरू काँपेर मरेतुल्य भए।

[5] ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु।

[6] उहाँ यहाँ हुनुहुन्‍न: उहाँले भन्‍नुभएझैं उहाँ जीवित हुनुभएको छ। आओ र उहाँलाई राखिएको ठाउँ हेर।

[7] तब झट्टै गई उहाँका चेलाहरूलाई यसो भनिदेओ: ‘उहाँ मरेकोबाट जीवित भई उठ्नुभएको छ अनि तिमीहरूभन्दा अगाडि नै गालीलमा जाँदैहुनुहुन्छ। त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ हेर मैले तिमीहरूलाई भनिदिएको छु।”

[8] त्यसकारण ती स्त्रीहरू डराएका भए तापनि आनन्दसाथ चिहानबाट हतार-हतार उहाँका चेलाहरूलाई भन्‍नलाई दगुरे।

[9] अचानक येशूले तिनीहरूलाई भेट्नुभयो, अनि भन्‍नुभयो, “अभिवादन।” तिनीहरू उहाँकहाँ गए, अनि उहाँको पाउ पक्रेर उहाँलाई दण्डवत् गरे।

[10] तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”

[11] ती स्त्रीहरू बाटोमा छँदै, पहरादारहरूमध्ये कतिले शहरमा गएर जे भएको थियो, प्रत्येक कुरा मुख्य पूजाहारीहरूलाई भनिदिए।

[12] जब मुख्य पूजाहारीहरूले प्रधानहरूलाई भेटे, तब एउटा योजना बनाए। तिनीहरूले सिपाहीहरूलाई धेरै घूस दिए,

[13] अनि भने, “तिमीहरूले ‘उहाँका चेलाहरूले राती हामी सुतेको बेला आएर उहाँलाई चोरेर लगे’ भन्‍नू।

[14] यदि यो खबर हाकिमकहाँ पुग्यो भने हामी तिनलाई सन्तुष्‍ट पार्नेछौं, र तिमीहरूलाई विपत्तिमा पर्न दिनेछैनौं।”

[15] यसकारण ती सिपाहीहरूले घूस लगे, अनि तिनीहरूलाई अह्राएबमोजिम गरे। अनि यो कथा यहूदीहरूबीच आजसम्म पनि फैलिएको छ।

[16] तब ती एघारजना चेलाहरू गालीलको त्यो पहाडमा गए, जहाँ येशूले तिनीहरूलाई जानू भन्‍नुभएको थियो।

[17] अनि तिनीहरूले उहाँलाई देखे, अनि दण्डवत् गरे: तर कतिले त शङ्का गरे।

[18] तब येशू तिनीहरूकहाँ आउनुभयो अनि भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ।

[19] यसकारण जाओ र सबै संसारमा गएर चेला बनाओ, अनि तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्‍तिस्मा देओ,

[20] मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। अनि निश्‍चय म सधैं, यस युगको अन्त्यसम्मै तिमीहरूसित छु।”

मत्ती — Chapters